कागजी सिमाना र डिजिटल तुवाँलो : नदेखिने आक्रमणको छायामा राष्ट्र

भौतिक सिमानाहरू सुरक्षित देखिए तापनि डिजिटल सिमानाहरू भने तुवाँलोले ढाकिएझैँ अस्पष्ट, धमिलो र जोखिमपूर्ण बनेका छन् ।डिजिटल रूपमा निरिह हुनु भनेको आधुनिक युगको सबैभन्दा ठूलो र अदृश्य गुलामी हो

bimbonline बिम्ब अनलाइन
२०८२ माघ १३ १३:२९ बजे
डा. लक्ष्मीप्रशाद खतिवडा

मानव सभ्यता यतिखेर डिजिटल युगको देदिप्यमान उत्कर्षमा उभिएको छ । यो एउटा यस्तो समय हो, जसले भूगोलका विशाल दूरीहरूलाई खुम्च्याएर विश्वलाई एउटा सानो गाउँमा परिणत गरिदियो । सँगसँगै शक्तिको परम्परागत परिभाषालाई पनि आमूल परिवर्तन गरिदियो । कुनै समय राष्ट्रको सामर्थ्य त्यसको माटोको सिमाना, भौगोलिक फैलावट र सेनाको सङ्ख्यामा मापन गरिन्थ्यो । तर आज राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ता केवल माटोको रेखामा सीमित छैन । यो माटोको सिमानाबाट सरेर डिजिटल सार्वभौमसत्ता, डाटा नियन्त्रण र प्राविधिक पूर्वाधारको अदृश्य किल्लाभित्र पुगिसकेको छ । नेपाल जस्तो भू-परिवेष्ठित र विकासोन्मुख राष्ट्रका लागि यो बदलिँदो परिवेश एउटा भीषण चुनौती बनेर उभिएको छ । हाम्रा भौतिक सिमानाहरू सुरक्षित देखिए तापनि डिजिटल सिमानाहरू भने  तुवाँलो ले ढाकिएझैँ अस्पष्ट, धमिलो र जोखिमपूर्ण बनेका छन् ।

पूर्वाधारको बदलिँदो रूप र डिजिटल खाडलको पासो-नेपाल डिजिटल खाडलको पासोमा फस्न लागेको छ । विगतको कालखण्डमा पूर्वाधार भन्नाले ढुङ्गा माटोले बनेका सडक, कङ्क्रिटका पुल र गगनचुम्बी भवन मात्र बुझियो । उत्पादन र उद्योगलाई पूर्वाधार मै गनिएन । आजको आधुनिक युगमा यी भौतिक संरचनासँगै उच्च गतिको इन्टरनेट र  क्लाउड कम्प्युटिङ  राष्ट्रका अपरिहार्य जीवनरेखा बनेका छन् । हिजोका दिनमा सामान र मानिसको सुलभ आवतजावतका लागि सडकको सञ्जाल चाहिन्थ्यो भने आज ज्ञान, डाटा र सेवाको अनवरत प्रवाहका लागि  डिजिटल सडक  अनिवार्य भइसकेको छ । एउटा दुर्गम गाउँमा सडकको कालोपत्रे पुगेर मात्र आजको विकास पूर्ण हुँदैन यदि त्यहाँ इन्टरनेटको पहुँच छैन भने त्यो भूगोल आधुनिक विश्वले सिर्जना गरेका अवसरका अनन्त आकाशबाट बञ्चित हुन पुग्छ।

यस्तो विषम परिस्थितिमा, जुन राष्ट्रले आफ्नै डिजिटल पूर्वाधार निर्माण गर्न सक्दैन, ऊ बिस्तारै डिजिटल औपनिवेशिकताको नयाँ जालोमा फस्दै जान्छ । इतिहासका उपनिवेशहरूमा विदेशी शक्तिले जमिन र प्राकृतिक स्रोतमाथि तरबारको भरमा कब्जा गर्थे भने आज उनीहरूले सुक्ष्म ढङ्गले हाम्रो  डाटा  र  बजार  माथि अधिकार जमाइरहेका छन् । नेपालसँग आफ्नै सुरक्षित क्लाउड सर्भर र शक्तिशाली डाटा सेन्टर नहुनुको अर्थ हो- हाम्रा सरकारी गोपनीयता, वित्तीय विवरण र नागरिकका व्यक्तिगत तथ्याङ्कहरू विदेशी कम्पनीका अदृश्य गोदाममा थन्किएका छन् । यसले एउटा यस्तो भयानक दुष्चक्र पैदा गर्दछ, जहाँ स्वदेशी प्रविधिले टाउको उठाउनै पाउँदैन । हाम्रा दक्ष मस्तिष्कहरू विदेश पलायन हुन्छन् र समग्र राष्ट्र सधैँभरि प्राविधिक परनिर्भरताको साङ्लोमा बाँधिइरहन्छ ।

सूचना युद्ध र भ्रमको डिजिटल तुवाँलो-नेपाल भ्रमको डिजिटल तुवाँलो युगमा जाकिँदैछ । सबैभन्दा डरलाग्दो र घातक पाटो सूचना युद्ध (Information Warfare)   हो । नेपाल जस्तो डिजिटल साक्षरताको धरातल कमजोर भएको मुलुकमा विदेशी एजेन्सीहरूले सामाजिक सञ्जाललाई अस्थिरता भड्काउने एउटा सूक्ष्म हतियारका रूपमा प्रयोग गरिरहेका छन् । कृत्रिम बौद्धिकता (AI) र हजारौँ नक्कली प्रोफाइल(Bots)को फौज खडा गरेर नक्कली जनमतको खेती गरिन्छ । जब एउटै भ्रामक समाचार वा कपोलकल्पित न्यारेटिभलाई हजारौँ पटक दोहोर्‍याइन्छ, तब सत्यको खोजीमा नलागेका साधारण जनताले त्यसैलाई अकाट्य सत्य मान्न थाल्छन् । यसलाई मनोवैज्ञानिक भाषामा सामाजिक वैधता मानिन्छ, जहाँ सत्यको गला रेटिन्छ र भ्रमको साम्राज्य खडा गरिन्छ सूचना युद्ध र डिजिटल तुवाँलोको यो विषय आधुनिक राष्ट्रिय सुरक्षाको सबैभन्दा जटिल र रहस्यमयी पाटो हो ।

जनमतको कारखाना विचार होइन, भ्रम उत्पादन-कुनै पनि जीवन्त लोकतन्त्रको प्राण भनेको त्यस देशका नागरिकहरूको स्वतन्त्र र मौलिक विचार हो । परम्परागत रूपमा जनमत भन्नाले चिया पसलका बहस, गाउँका चौतारीका छलफल र पत्रपत्रिकाका विचारहरूबाट खारिएर बनेको एउटा साझा धारणालाई बुझिन्थ्यो । तर, आजको डिजिटल युगमा यो प्रक्रिया पूरै उल्टिएको छ । अब जनमत नागरिकको मस्तिष्कबाट निस्कँदैन, बरु विदेशी  डिजिटल कारखाना  हरूमा विशेष स्वार्थका साथ उत्पादन गरिन्छ।डिजिटल भीडको मनोविज्ञान र एल्गोरिदमको दासतामा जकडिएको मानव स्वभाव नै यस्तो भयो कि ऊ आफूलाई सधैँ  बहुमतको पक्षमा उभ्याउन चाहन्छ । विदेशी एजेन्सीहरूले यही मानवीय कमजोरीको फाइदा उठाउँछन् । उनीहरूले  बोट्स (Bots)   अर्थात् कम्प्युटर प्रोग्रामद्वारा सञ्चालित हजारौँ नक्कली प्रोफाइलहरूलाई एउटै मुद्दामा परिचालन गर्छन् ।

एल्गोरिदमको चक्रव्यूह र इको च्याम्बर-सामाजिक सञ्जालका एल्गोरिदमहरू यसरी बुनिएका हुन्छन् कि जसले धेरै चर्चा पाउँछ, त्यसैलाई मानिसको आँखाको अगाडि पुर्‍याइन्छ । जब तपाईं एउटा भ्रामक समाचारको लिङ्क खोल्नुहुन्छ, एआईले तपाईंलाई त्यस्तै खाले सयौँ भ्रमका खेतीहरू पस्कन थाल्छ । बिस्तारै तपाईं एउटा यस्तो वैचारिक घेराभित्र कैद हुनुहुन्छ, जहाँ सत्यको उज्यालो छिर्नै पाउँदैन । यसैलाई भनिन्छ- डिजिटल तुवाँलो, जसले नागरिकको आलोचनात्मक चेतलाई अन्धो बनाउँछ ।

जब तपाईं आफ्नो मोबाइल खोल्नुहुन्छ र कुनै खास एजेन्डाको पक्षमा वा विपक्षमा हजारौँ  कमेन्ट,  लाइक  र  शेयर  देख्नुहुन्छ, तब तपाईंको अवचेतन मनले भन्छ- यदि यति धेरै मानिसले यो कुरा भनिरहेका छन् भने, यो पक्कै सही हुनुपर्छ । यहाँ तपाईंको व्यक्तिगत विवेक डिजिटल भीडको आवाजले थिचिन पुग्छ । ती हजारौँ प्रोफाइलहरू मानिस होइनन्, केवल एउटा सफ्टवेयरले चलाएका नक्कली मुकुन्डाहरू हुन् भन्ने कुरा साधारण प्रयोगकर्ताले पत्तै पाउँदैनन् ।

नेपाल जस्तो भू-राजनीतिक रूपमा संवेदनशील देशमा विदेशी शक्तिहरूले आफ्ना रणनीतिक स्वार्थ सिद्ध गर्न यसलाई अचूक अस्त्र बनाउँछन् । उदाहरणका लागि, यदि कुनै विशेष वैदेशिक सहयोग वा सम्झौता पारित गर्नु छ (वा रोक्नु छ) भने, उनीहरूले सामाजिक सञ्जालमा त्यसको पक्ष वा विपक्षमा कृत्रिम सुनामी नै ल्याइदिन्छन् । यस्तो बेला वास्तविक नागरिकका तर्कपूर्ण विचारहरू ती हजारौँ नक्कली बोट्सका  कमेन्ट  हरूको भीडमा कतै हराउँछन् । सरकार र नीति-निर्माताहरू समेत यही नक्कली दबाबलाई वास्तविक जनमत ठानेर गलत निर्णय लिन बाध्य हुन्छन् ।

स्वविवेकको अन्त्य र  डिजिटल दासता-यस प्रक्रियाको सबैभन्दा दुखद पक्ष भनेको नागरिकको आलोचनात्मक चेतको अन्त्य हुनु हो । जब सूचनाको स्रोत केवल फेसबुकका  फिड  र टिकटकका  भिडियो  मात्र बन्छन्, तब मानिसले प्रश्न गर्न छाडिदिन्छ । ऊ विदेशी कारखानाले पस्किएको भ्रमको कचौरालाई नै सत्यको प्रसाद ठानेर ग्रहण गर्न थाल्छ । यो एक प्रकारको  डिजिटल दासता  हो, जहाँ हाम्रो औँलाले मोबाइलको स्क्रिन त छोइरहेको हुन्छ, तर त्यसको  रिमोट कन्ट्रोल  भने सात समुद्र पारी बसेका एजेन्सीहरूको हातमा हुन्छ ।

आजको सूचना युद्धमा केवल अक्षरको जाल मात्र बुनिँदैन, डीपफेक(Deepfake)  प्रविधिमार्फत कुनै पनि ओजस्वी नेता वा प्रभावशाली व्यक्तित्वको नक्कली भिडियो वा अडियो तयार पारिन्छ । दृश्यमा देखिएको कुरालाई शतप्रतिशत विश्वास गर्ने हाम्रो समाजमा यस्ता नक्कली दृश्यहरूले एकै रातमा दङ्गाको झिल्को सल्काउन वा स्थापित सरकारको जग हल्लाउन सक्ने सामर्थ्य राख्छन् ।

सूचना युद्धको मुख्य ध्येय माटो कब्जा गर्नु भन्दा पनि मानिसको मानसपटल कब्जा गर्नु र समाजलाई मानसिक रूपमा विभाजित गर्नु हो । नेपालको बहुजातीय र बहुधार्मिक संवेदनशीलतालाई बाह्य शक्तिहरूले एउटा  सफ्ट टारगेट  बनाउँछन् । उनीहरूले एउटा समुदाय विरुद्ध अर्कोलाई उचाल्ने गरी  एडेड  भिडियोहरू भाइरल बनाउँछन् । जब समाज भित्रभित्रै विभाजित र खोक्रो हुन्छ, तब बाह्य शक्तिलाई आफ्नो स्वार्थ अनुकूलको निर्णय लाद्न सहज हुन्छ । यस्तो  न्यारेटिभ सेटिङ ले राष्ट्रिय एकताको बाटोलाई सदैव धमिलो बनाइदिन्छ ।

नदेखिने आक्रमण र  ‘साइबर-कू’को त्रास-परम्परागत युद्धमा बम र गोला बारूदको कानै खाने आवाज सुनिन्छ, तर  साइबर-कू (Cyber-coup)  निकै मौन, शान्त र घातक हुन्छ । यो डिजिटल युद्धकलाको एउटा यस्तो अस्त्र हो, जसले शत्रु-राष्ट्रको सेनालाई ब्यारेकबाट निस्कनै नदिई घुँडा टेकाउन सक्छ । भौतिक रूपमा सिंहदरबार कब्जा नगरीकनै देश चलाउने  डिजिटल मेरुदण्डमाथि कब्जा जमाउनु नै ‘साइबर-कू’ हो ।

यो केवल कम्प्युटरका  कोडमार्फत गरिने प्रहार हो । एउटा टाढाको भूगोलमा बसेको ह्याकरले एक क्लिकको भरमा हाम्रो देशको महत्वपूर्ण प्रणालीमा सन्नाटा छाउने बनाइदिन सक्छ । यसलाई हाइब्रिड वारफेयर भनिन्छ, जसको लक्ष्य भौतिक संरचना भन्दा पनि राष्ट्रको  इच्छाशक्ति  र  व्यवस्थालाई ध्वस्त पार्नु हो । जब सेना र प्रहरीको सञ्चार प्रणाली टुट्छ, जब सरकारले जनतासँग बोल्न सक्दैन, र जब अर्थतन्त्र ठप्प हुन्छ, तब सरकारले विदेशी शक्तिको हरेक सर्त मान्न बाध्य हुनुपर्छ ।

नेपाल जस्ता देशहरू जहाँ धेरैजसो सरकारी सफ्टवेयर र सुरक्षा प्रणाली विदेशी कम्पनीको दयामा आधारित छन्, त्यहाँ यस्तो जोखिम झन् उच्च रहन्छ । राज्य-प्रायोजित ह्याकिङले कुनै पनि बेला हाम्रो बैंकिङ प्रणाली वा चुनावी नतिजालाई उथलपुथल पारिदिन सक्छ । एउटा सानो कोडको माध्यमबाट देशको जनमत र वित्तीय प्रणालीमाथि प्रहार गर्नु भनेको राष्ट्रलाई डिजिटल कोमा मा पुर्‍याउनु हो । यस्तो प्रहारको घाउ बाहिरबाट देखिँदैन, तर यसले राष्ट्रको मेरुदण्ड नै भाँचेर निरिह बनाइदिन्छ ।

नेपाल हाल  प्राविधिक दासताको एउटा अँध्यारो सुरुङभित्र छ । हाम्रा सफ्टवेयरदेखि हार्डवेयरसम्म ९९ प्रतिशत विदेशी उत्पादमा आधारित छन् । यदि कुनै भू-राजनीतिक स्वार्थका कारण विदेशी कम्पनीले आफ्नो  डिजिटल किल स्विच थिचिदिए भने नेपालको सञ्चार, यातायात र आर्थिक कारोबार क्षणभरमै मृतप्रायः बन्न सक्छ । आफ्नै भुक्तानी स्वीच, आफ्नै भू-उपग्रह र सुरक्षित इन्ट्रानेट गेटवे नहुँदा सङ्कटको घडीमा सरकार केवल मूकदर्शक बन्न पुग्छ । भौतिक नाकाबन्दीमा त लुकीछिपी सामान ल्याएर जीवन धान्न सकिएला, तर डिजिटल नाकाबन्दी यति सूक्ष्म र बिजुलीको गतिमा हुन्छ कि सरकारले सोच्ने समय समेत पाउँदैन ।

नेपालले अब आफ्नो  डिजिटल किल्ला  निर्माण गर्न पलभर पनि ढिला गर्नु हुँदैन । यसका लागि डाटा स्थानीयकरण (Data Localization) स्वदेशी प्रविधिको मौलिक विकास, कडा साइबर सुरक्षा नीति र नागरिक तहमा व्यापक डिजिटल साक्षरता अभियान चलाउनु जीवन-मरणको सवाल भइसकेको छ ।

अन्ततः, यो डिजिटल युगको कठोर सत्य भनेको डाटा नै शक्ति हो । यदि हामीले समयमै आफ्नो डिजिटल सिमाना रक्षा गर्न सकेनौँ भने हाम्रा भौतिक सिमानाहरू केवल कागजी नक्सामा मात्र सुरक्षित देखिनेछन् । डिजिटल रूपमा निरिह हुनु भनेको आधुनिक युगको सबैभन्दा ठूलो र अदृश्य गुलामी हो । त्यसैले, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तालाई जीवित राख्नका लागि यो  डिजिटल तुवाँलो  चिर्दै आत्मनिर्भरताको उज्यालो बाटोमा हिँड्नु नै आजको युगको एक मात्र विकल्प र अनिवार्य आवश्यकता हो ।




२०८२ माघ १३ १३:२९ बजे

प्रतिक्रिया