सुचना संचार प्रविधिको विकास संगै नेपाल जस्ता मुलुकहरूमा बैचारिक स्खलनको समस्या बढेर गएको छ । संचार माध्यममा आएका स्तरहीन र तथ्यहीन सामाग्रीहरुले मानसिकतामा नकारात्मक प्रभाव पारेको देखिन्छ । उपभोक्ताहरुलाई सत्य पत्ता लगाउन कठिन मात्रै भएको छैन , बैचारिक कुराहरू सुन्नै नसक्ने बनाएको छ । संचार माध्यममा लगानी गरेर जनताको मानसिकता कब्जा गर्नु ठुलो भ्रष्टाचार हो । भ्रष्टाचारको विरुद्ध संघर्ष गर्दै सुचना संचार प्रविधिको सही सदुपयोगमा जोड दिनुपर्दछ ।
भनिन्छ - असत्य र गलत कुराहरूलाई हजारौं पटक भनियो वा सुनियो भने सत्य जस्तो लाग्न थाल्दछ । यो तरिकाबाट राजनीतिक नेतृत्व तैयार पार्ने प्रयत्न भइरहेको छ । राजनीतिक तथा देशको नेतृत्वको धेरै भाइरल छ ? त्यसको अधारमा निर्धारण गर्नु सही हुदैन । अहिले नितिको कुरा युवा पुस्ताले गर्न र सुन्नै चाहन्न । विचार शून्य निर्णयले देशलाई सही दिशानिर्देश गर्न सक्दैन ।
टिकटको प्रयोगले धैर्यता तोडेको छ । पूरा लेख पढ्न नसक्ने , पूरा समाचार हेर्न र सुन्न नसक्ने , समाचारका शिर्षक हेरेर धारणा बनाउने । बिषयको गहिराइमा पुग्न नसक्ने बनाएको छ । यसरी विकास भएको मानसिकताले मैले मात्रै जानेको छु , मैले मात्रै बुझेको छु भन्ने घमण्ड जन्माउने गर्दछ र सत्य तथ्यमा पुग्न अवरोध पुर्याउछ । प्रर्पोकाण्डाका पछाडि दौडिन लगाउछ ।
अहिले संचार माध्यममा सबै पार्टी ठिक छन् नेता गलत हुन् भन्ने भाष्य बनाएको देखिन्छ । उक्त भाष्य तथ्यसंग मेल खादैन । राजनीति भनेको राज्य संचालनको निति हो । राज्य कसरी संचालन गर्ने ? राजनीतिक पार्टीले निर्धारण गरेका हुन्छन् । राजनीतिको मुख्य आधार आर्थिक हो । पुजीवादी अर्थतन्त्र स्विकार गर्ने पार्टीले व्यक्तिगत सम्पत्ति र निजीकरणलाई प्राथमिकता दिएका हुन्छन् । समाजवादी अर्थतन्त्र स्विकार गर्ने पार्टीले व्यक्तिगत सम्पत्ति र निजीकरणको विरोध गरेर सार्वजनिक सम्पत्तिमा जोड दिएका हुन्छ । पुँजीवादी अर्थनीति र समाजवादी अर्थनीति एक आपसमा विरोधी अर्थनीति हुन् , दुइटै ठिक कसरी हुन्छ ? विचार शुन्य भएकाहरुले मात्रै दुइटै ठिक भन्न सक्दछ । कुनै पार्टीले राजतन्त्र सहितको निति कार्यक्रम बनाएको छ , कुनै पार्टीले गणतन्त्रात्मक निति कार्यक्रम बनाएको छ । कुनै पार्टीले संघात्मक निति कार्यक्रम बनाएको छ , कुनै पार्टीले एकात्मक निति कार्यक्रम निर्धारण गरेको छ । यसरी पार्टी सबै राम्रा छन् , नेता मात्रै छान्नु पर्दछ भन्नु बैचारिक स्खलन नै हो ।
रास्वपा अघिल्लो निर्वाचनमा संघीयताको विपक्षमा रहेको हुनाले प्रदेशमा उम्मेदवार नउठाएको बताउने गर्दथ्यो । वालेन पनि संघीयताको विपक्षमा रहेको आइरहन्थ्यो । अहिले वालेन र रास्वपा घोर संघीयतावादी बनेका छन् । त्यो पार्टीका नेता कार्यकर्तामा कुनै असर परेको देखिन्न । संघीयताको विरुद्धमा रहँदा पनि वा वालेन , वा रवि , संघीयताको पक्षमा रहँदा पनि वा वालेन वा रवि ? बैचारिक स्खलनको ताजा प्रमाण यसलाई लिन सकिन्छ ।
पुराना भनिने पार्टीका नेतृत्व शुरुमा राम्रै थिए । सरकारमा गएपछि जीवन शैलीमा परिवर्तन आएको थियो । विवादित पात्रहरु नेतृत्वमा थिएनन् । क्रमशः विवादित बन्दै गएका छुन् । प्रचण्डको जुत्ता , पलङ्ग , छोरीको व्याग , छोराको दोस्रो विवाह जस्ता विषयमा चर्चा गर्ने युवा पुस्ता तथा नेपाली समाज , एमालेलाई आर्थिक सहयोग गर्ने भाटभटेनी मालिकका स्टोरहरु जलाउने युवा पुस्ता , शेरवहादुर , ओलीलाई भ्रष्टाचारीको संरक्षण र भ्रष्टाचारमा संलग्नता रहेको आरोप लगाउने युवा पुस्ताले सहकारी ठगीको मुद्दामा बिगो बुझाउने , धरौटी तिर्दै हिड्ने , अनेकौं विवाह गर्दै हिड्ने , नागरिकता , राहधानी दुरुपयोग सम्बन्धि विवादमा परेका रवि लामिछाने र आठ करोडको गाडी उपहार लिएर ढल्कदै हिडने वालेनको विषयमा किन मौन देखिन्छ बिषय गम्भीर छ ।
सामाजिक सञ्जाल मार्फत नयाँ सामन्तहरु जन्माउने प्रयत्न भएको देखिन्छ । सामाजिक सञ्जाल जसले खरिद गर्न सक्छ , त्यो रातारात नायक बन्छ । कथित नायक बनेकाहरुलाई प्रश्न गर्दा , आलोचना गर्दा , विरोध गर्दा आक्रमण गर्ने अरिङ्गल तैयार पारिएको छ । कथामा शंकर भगवान नाङ्गै भएपनि राम्रो मानिन्थ्यो । अहिले पनि व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृत्ति बढेर गएको छ ।
अन्त्यमा - सुचना संचार प्रविधिको सदुपयोग गरौं । आलोचनात्मक चेतको विकास गरौं । निति कार्यक्रममा छलफल चलाऔ । पात्र परिवर्तन होइन , व्यवस्था परिवर्तन गर्न लागौं । वैचारिक समाज निर्माण गरौं ।
प्रतिक्रिया