काठमाण्डौ। देशका केही स्थानमा भोलिबाट वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि दिउँसो सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।“भोलि दिउँसोबाट सुदूरपश्चिमबाट वर्षा भित्रिनेछ,” मौसमविद् डेबिड ढकाल वताएका छन, “यो सुदूरपश्चिम हुँदै गण्डकीसम्म आइपुग्नेछ ।”
यो प्रणालीले काठमाडौंमा भने वर्षा गराउने सम्भावना निकै कम रहेको उनको भनाइ छ । काठमाडौंमा यसको प्रभाव देखियो भने भने छिटपुट वर्षा मात्रै हुने उनी बताउँछन् । तर, यसको प्रभाव पनि निकै न्यून छ । भोलि राति लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा वाग्मती प्रदेशको एकदुई स्थानमा मध्यम हिमपात हुनेछ । वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।यो प्रणालीको असर शनिबारसम्म मात्रै रहनेछ । यो प्रणालीको असर शुक्रबार र शनिबार मात्रै देखिनेछ । त्यसपछि पुनः कमजोर हुनेछ ।
“यो प्रणाली कमजोर भएको केही दिनपछि पुनः अर्को प्रणाली विकास हुनेछ । अर्को हप्ताको मध्यबाट अर्को प्रणाली विकास हुनेछ,” मौसमविद् ढकालले भने, “त्यसको प्रभाव कस्तो पर्नेछ हामी अध्ययन गरिरहेका छौँ ।”
पानी पर्ने भएपछि चिसो भने बढ्नेछ । “चिसो पुनः बढ्ने देखिन्छ । तर, यसअघिको न्यूनतमभन्दा कम हुन्छ अथवा त्यति पनि पुग्दैन त्यो पनि केही दिनमा थाहा हुनेछ,” उनले भने । यसैबीच, आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रतिक्रिया