एउटै गाउँमा अलैँची बेचेर सवा करोड आम्दानी

bimbonline बिम्ब अनलाइन
२०८२ पुष १४ १५:१३ बजे

काठमाडौँ। ‘कालो सुन’ भनिने अलैँची खेतीबाट किसानले कमाएको रकमसम्बन्धी संखुवासभाको एक खबरले चर्चा कमाएको छ ।

सिलिङचोङ गाउँपालिका-१ सिसुवाखोला गोगनेका किसानले बेचेको अलैँचीको पैसा टेबलमा राखेर बाँडफाँट गरेको तस्बिरसँगै उनीहरूको मेहनत र परिश्रमको चर्चा भइरहेको छ । गोगनेबासीले सात वर्षदेखि सामूहिक रूपमा आलैची खेती गर्दै आएका छन् ।अलैँची खेतीबाट उनीहरूले यस वर्ष १ करोड १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहांगले सञ्जालमा भाइरल भएका तस्बिर आफ्नै पालिकाको भएको बताए ।

उनले केही दिनअघि ठेकेदारहरू आएर किनेको अलैँचीको पैसा किसानहरूले बाँड्दै गरेको बेला उक्त तस्बिर खिचेको बताए । यो वर्षमात्र त्यहाँ सामूहिक रूपमा १ सय १९ मन अलैँची फलेको छ । अहिले प्रतिमन ९० हजारदेखि १ लाख रुपैयाँसम्म किनबेच भइरहेको छ ।

साबिकको सिसुवा खोला गाउँपालिका रहेको सिलिङचोङ-१ गोगनेमा कुलुङ जातिको बाहुल्य छ । यहाँ ५५ घर परिवार बस्ने गर्छन् । पछिल्लो समय अलैँचीबाट उनीहरूले आर्थिक अवस्थासँगै जीवीकोपार्जनमा सुधार गरेका छन् । स्थानीय भुकुरचोङ्ग सामुदायिक वन क्षेत्रको बाँझो जग्गामा उनीहरूले समूह बनाएर ७ वर्षदेखि सामूहिक खेती थालेका हुन् ।

गोगने सामूहिक अलैँची समूहका सदस्य अशोक कुलुङले समूहमा ४७ परिवार सदस्य रहेको बताए । यस वर्ष प्रतिपरिवार २ लाख ३६ हजार रुपैयाँका दरले आम्दानी बाँडेको अशोकले बताए ।



२०८२ पुष १४ १५:१३ बजे

प्रतिक्रिया