त्रिपालमा वसेका शुक्लाफाँटा आरक्षपीडितहरु चिसोको समस्यामा

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ५ ११:२४ बजे

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित भएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्रिँदै पालमुनि बस्दै आएका छन्।

भीमदत्त नगरपालिका–४ स्थित जडीबुटीको जमिनमा पालमुनि बस्दै आएका उनले चिसोका कारण पालमुनि बस्न समस्या भइरहेको बताए। जाडो सुरु भएसँगै रातिको समयमा शीत चुहिँदा रातभर चिसोले कठ्याङ्ग्रिँदै गुजारा गर्नु परेको आरक्ष विस्थापितले पीडा पोखे। सरकारले २०५८ वन्यजन्तु आरक्षको नाममा खोसेको गाँस, बास फिर्ता गर्नुपर्ने आरक्षपीडित भट्टले माग गरे। 

खान, लगाउनका लागि कतैबाट पनि सहयोग नहुँदा आरक्षपीडितहरू विपत्तिमा दैनिकी काट्नु परेको गुनासो गर्छन्। हिरापुरबाट विस्थापित भएका ४० वर्षीय शेरबहादुर चुनारा वृद्ध आमाबुवासँगै महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पालमा बस्दै आएका छन। न्यानो कपडाका अभावमा रात काट्न समस्या भएको भन्दै उनले खानेपानी, शौचालयको पनि व्यवस्था नहुँदा झनै समस्या भएको गुनासो गरे। 

जिल्लास्थित ढक्का, हिरापुरलगायत ११ शिविरका तीन सय परिवार अहिले महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पाल टाँगेर बसेका छन्। आरक्षपीडितले १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।  विभिन्न स्थानमा शिविरमा झन्डै चार हजार आरक्ष विस्थापित बस्दै आएका छन्। आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका अध्यक्ष रति सुनारले यहाँको भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरूलाई भेटेर आरक्षपीडित परिवारलाई खानेपानी, खाद्यान्न, लत्ताकपडा, शौचालयको व्यवस्था गरिदिन आग्रह गरे पनि वास्ता नगरेको गुनासो गरेका छन। 



२०८२ पुष ५ ११:२४ बजे

प्रतिक्रिया