आज भुवा पर्वको रौनक

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ४ १४:४५ बजे

डडेल्धुरा।  सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छ । पुसे औँसीको अघिल्लो रातदेखि मुढा बालेर शुरू गरिने भुवा पर्वमा हातमा तरबार समातेर भुवा खेल्न थालेपछि भुवा भस्सोको रौनक बढेको हो ।

मौलिक एवम् ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा रहेको भुवा पर्व विशेषगरी बाजुरा, बझाङ र अछाममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई क्षेत्रमा बसाइँसराइ गर्ने क्रम बढेसँगै यो पर्व कैलाली र कञ्चनपुरमा पनि मनाउने क्रम बढेको छ ।

 द्वापरयुगसँग जोडिएको यो पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रूपमा लिने गरिन्छ । पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जीतको खुशीयाली मनाएको दिनमा भुवा पर्व मनाउने गरेको किंवदन्ती छ ।

पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि शुरू हुने पर्व तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाउने चलन छ । स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।


२०८२ पुष ४ १४:४५ बजे

प्रतिक्रिया