चुरोट भन्दा खतरनाक छ भेप

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ४ १४:२९ बजे

पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउने गरेका छन् । तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ ।

क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ । उनले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए ।उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ ।’

उनले थपे,‘भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात केमिकलहरु हेभी मेटल्स हुन्छ । बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरु पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।’

त्यस्तै उनले भेपको धुँवा लिदा श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सो भित्रसम्मको मांसपेशीलाई बिगार्ने जोखिम रहेको पनि जानकारी दिए । त्यति मात्र होइन, भेपले डीएनए इकाईमा परिवर्तनसम्म ल्याउने उनको भनाई छ ।

उनले भने,‘भेपको धुँवा लिंदा तपाईंको श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सोभित्रसम्मको मांसपेशीलाई ड्यामेज गर्छ । डीएनए भन्ने जुन सानो इकाई हुन्छ, त्यसमा पनि परिवर्तनहरु ल्याइदिन्छ । त्यसैले भेप लिने मान्छेहरुको फोक्सोमा पपकर्न लिसन देखा पर्न सक्छ । जस्तो छातीको एक्सरे लियो भने त्यसमा सेतो सेतो दागहरु दुईटै फोक्सोमा देखापर्न सक्छ ।’


२०८२ पुष ४ १४:२९ बजे

प्रतिक्रिया