तराइमा दिउँसो सम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २ १७:०२ बजे

कञ्चनपुर। कैलाली कञ्चनपुरको तराइमा बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो। बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन्। चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको भनाइ छ।

हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ। बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता (भिजिबिलिटी) अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ। “ बस चलाउदा अगाडि देख्न गाह्रो हुन्छ, त्यसैले गति कम गरेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ”, उनले भने।

चिसोका कारण बिहानै विद्यालय जाने बालबालिका कठ्याङ्ग्रिने गरेका छन्। बाक्लो कुहिरो र चिसो हावाले विद्यार्थीलाई विद्यालय जान समस्या भएको अभिभावकको गुनासो छ। हुस्सु र कुहिरोले किसानलाई पनि असर गरेको छ । खेतबारीमा लगाइएका तरकारी बालीमा डढुवाको प्रकोप देखिन थालेको किसानले बताएका छन्। लालझाडीका किसान रामप्यारा चौधरीका अनुसार आलु र गोलभेडाखेतीमा डढुवाको समस्या देखिन थालेको छ। “लगातार हुस्सु र चिस्यानका कारण बालीमा रोग फैलिन थालेको छ”, उनले भने।





२०८२ पुष २ १७:०२ बजे

प्रतिक्रिया