चितवन । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो ।
वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् ।
जम्मा दुई ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ । गणनामा एक हजार १०० अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिए ।
निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब तीन करोड खर्च लाग्ने बताइएको छ । त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको हो । जुन प्रतिक्यामेराको मूल्य करिब ३५ हजार रहेको छ ।
नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए । त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो ।
प्रतिक्रिया