धनगढी। धनगढी उपमहानगरपालिकाले विकेन्द्रीकरणको अभ्यास थालेको छ।उपमहानगरले वडामै आर्थिक अधिकार प्रत्यायोजन गरेको छ। धनगढीमा आर्थिक वर्ष २०८० र ८१ बाट वडाको बजेट वडाबाटै खर्च गर्न थालिएको हो।
वडामै आर्थिक अधिकार प्रत्यायोजन गरेपछि वडाको बजेट वडाबाटै खर्च हुने थालेको उपमहानगरपालिकाले जनाएको छ। धनगढीका १९ वटै वडामा वडा सचिवमा अधिकृत स्तरको कर्मचारी खटाइएको छ। यस्तै खाता सञ्चालन गर्न र भुक्तानी दिन सबै वडामा लेखापाल पठाइएको छ।
वडालाई नै खाता सञ्चालनको अधिकार दिएपछि वडाबाट सञ्चालित हुने योजनाको सम्झौता गर्न र भुक्तानी लिन नगरपालिका आउनुपर्ने बाध्यता हटेको छ। थोरै रकमको कामको सम्झौता गर्न र भुक्तानीका लागि नगरपालिका आउने बाध्यता हट्दा नगरवासीलाई सहज भएको नगर प्रमुख गोपाल हमालले बताए।
हामीले वडाबाटै खाता सञ्चालन गर्न थालेको तीन आर्थिक वर्ष भयो। वडाबाटै खाता सञ्चालन गर्दा वडावासीले वडाबाट सञ्चालन हुने विकास निर्माणका कामका लागि सम्झौता गर्न र भुक्तानी लिन नगरपालिका आउने झन्झट हटेको छ, उनले भने, नगरपालिकाले वडामै आर्थिक अधिकार दिँदा वडावासीलाई वडाबाट सञ्चालित विकास निर्माणका कामको भुक्तानी लिन समय बचत हुने तथा यातायातमा हुने खर्च बचेको महसुस गरेका छौँ।
धनगढीले वडाबाटै वडाको बजेट खर्च गर्न सहज होस् भनेर खाता सञ्चालन गरिएको जनाएको छ। योजनाको अनुगमन गर्न हरेक वडामा प्राविधिक कर्मचारीसेमत खटाइएको छ। जसले गर्दा वडाले छनोट गरेका योजना वडाबाटै काम गराउन सहज भएको धनगढी-३ का वडा अधयक्ष राजबहादुर ऐरले बताए।
आर्थिक अधिकार विकेन्द्रीकरण गरिँदा वडाहरूलाई समयमै योजना कार्यान्वयन गर्न, कामको मूल्याङ्कन गर्न र नयाँ आर्थिक वर्षका लागि योजना तय गर्न सहज भएको वडा अध्यक्ष ऐरले बताएका छन्।
प्रतिक्रिया