न्यूयोर्कका मेयर मम्दानी र उनकी श्रीमती

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक २२ १८:२४ बजे

न्युयोर्क।अमेरिकाको न्यूयोर्कमा पहिलोपटक मुस्लिम समुदायबाट मेयर निर्वाचित ३४ बर्षका जोहरन मम्दानी यतिबेला अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन चर्चामा रहेका छन। पुँजीवादको केन्द्र विन्दु मानिने शहरमा पहिलोपल्ट समाजवादी विचारधाराका युवाले विजय हासिल गर्नु आफैमा ऐतिहासिक घटना हो ।  

राष्ट्रपति डोनाल्ड ट्रम्पबाट ‘उग्रवादी कम्युनिष्ट’को ट्याग पाएका मम्दानीलाई पराजित गर्न बिल क्लिन्टनजस्ता प्रभावशाली नेताहरु एकजुट थिए । तर पनि उनी ६ लाख ७७ हजार मतसहित मेयर निर्वाचित भए । 

१० महिनाको अवधिमा प्रभावकारी चुनावी क्याम्पेन चलाएका मम्दानीको सम्पति कति होला त ? जिज्ञासा पैदा भइरहेको बेला चर्चित अन्तराष्ट्रिय आर्थिक म्यागाजिन ‘फोर्ब्स’ले उनको वार्षिक आम्दानी मात्रै दुई लाख ६० हजार अमेरिकी डलर हुने बताएको छ । जुन नेपालीमा सरदर तीन करोड ७० लाख हुन्छ । यसअघि उनले क्विन्स राज्य सभा सदस्यको रुपमा वार्षिक एक लाख ४२ हजार अमेरिकी डलर आम्दानी गर्दै आएकोमा मेयर निर्वाचित भएपछि पारिश्रमिक पनि बढ्न लागेको हो । 

मम्दानीकी श्रीमती  चर्चित कलाकार तथा चित्रकार

युगान्डामा जन्मिएका मम्दानीको त्यहाँ चार एकड जमिन छ । जसको मूल्य दुई लाख ५० हजार अमेरिकी डलर हुने फोर्ब्सले जनाएको छ । उक्त जमिन मम्दानीले बाबुबाट प्राप्त गरेका हुन् । र्यापरसमेत रहेका मम्दानीले संगीत रोयल्टीमार्फत् वार्षिक एक हजार अमेरिकी डलर आम्दानी गर्छन् । हाल एस्टोरियाको एक भाडाको अपार्टमेन्टमा बस्दै आएका उनीसँग आफ्नो घर भने छैन । बोडोइन कलेजबाट मास्टर्स गरेका मम्दानीसँग विभिन्न कम्पनीमा ५५ हजार अमेरिकी डलर बराबरको शेयर रहेको बताइएको छ । 

कलाकारितामा चासो राख्ने मम्दानीले बिहे पनि सोही क्षेत्रकी युवतीसँग गरेका छन् । उनले केही महिनाअघि मात्रै २८ वर्षीया रामा दुवाजीसँग बिहे गरेका थिए । ह्युस्टनमा जन्मिएकी र दुबईमा हुर्किएकी रामा कुशल चित्रकार हुन् । कतारको भर्जिनिया कमनवेल्थ युनिभर्सिटी अफ आर्ट्सबाट ब्याचलर र  न्यूयोर्कको स्कूल अफ भिजुअल आर्ट्सबाट मास्टर्स गरेकी उनले चुनावमा मम्दानीको लागि प्रचार समाग्री तयार पार्न ठूलो सहयोग गरेकी थिइन् । 

मम्दानी सन् २०२० मा राज्य सभा सदस्य बनेपछि रामासँग प्रेम सम्बन्धमा गाँसिएका थिए । सार्वजनिक फोटो तथा भिडियोमा मम्दानीले रामाको चित्रकारितालाई प्रोत्साहन गरेको देखिन्छ । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘रामा मेरी श्रीमती मात्र होइनन्, उनी असाधारण कलाकार हुन् जसलाई आफ्नै पहिचानले चिनिनु पर्छ।’


२०८२ कात्तिक २२ १८:२४ बजे

प्रतिक्रिया