भोली डडेल्धुरामा उग्रताराको देहिजाँत

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १९ १५:५५ बजे

डडेल्धुरा। डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। स्थानीय भाषामा ‘देहिजाँत’ले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यता मेला लाग्छ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला भोली कार्तिक १९ गते लाग्दै छ।उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए।डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दरडाँडास्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न आउँछन्। मेलाका लागि उग्रतारा मन्दिर परिसर बेहुलीझैँ सिँगारिएको छ।

उग्रतारा मेलालाई सभ्य र भव्य सम्पन्न गर्न तथा मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मेलाभर जुवातास तथा मदिराजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने समितिको निर्णय छ। किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो।

आफूले खान ल्याएको खिचडीले टालेर रगत रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ। देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथीसंगी तथा परिवारमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ।

वर्षमा एक पटक भव्यरूपमा लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। बिहान ४ बजे धार्मिक परम्पराअनुसार दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुन्छ।

स्थानीय लोपोन्मुख वस्तुको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्यवस्तु एवं कृषि औजार, प्याजको बेर्ना बिक्री वितरण गर्छन्। मेलामा भारतका विभिन्न ठाउँका व्यापारीले मिठाइका परिकार बिक्री गर्छन्। मेला भर्नका लागि टाढाटाढाका भक्तजनहरू डडेल्धुरा सदरमुकाम पुग्ने क्रम जारी छ।




२०८२ कात्तिक १९ १५:५५ बजे

प्रतिक्रिया