धनगढीमा फूल खेती वढ्दै

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक २ २०:३० बजे

धनगढी। धनगढी उपमहानगरपालिका क्षेत्रमा यो वर्ष ९० कट्टा जमिनमा व्यावसायिक पुष्पखेती गरिएको छ। यो वर्ष धनगढीका ९ जना किसानले व्यावसायिक फूल खेती गरेका छन्।

तिहारमा धनगढीमै उत्पादित ६० क्विन्टल सयपत्री फूल बजारमा आउने भएको छ। धनगढी पुष्प व्यवसायी कृषक समूहमा आबद्ध ८ जना किसानले उत्पादन गरेको ४० क्विन्टल र धनगढी-९ मा पुष्पखेती गरिरहेका युवा रोशन साउँदले तिहारमा थप २० क्विन्टल सयपत्री फूल उत्पादन हुने बताएका हुन्।

धनगढी-६ मटियारीमा न्यू बन्डोली नर्सरी कन्सर्नका सञ्चालक शङ्करसिंह बिष्टले यो वर्ष २२ कट्ठामा फूलखेती गरेका छन्। उनले तिहारमा मात्रै १५ क्विन्टल सयपत्री उत्पादन हुने बताएका छन्। यो वर्ष तिहारमा मात्रै १५ क्विन्टल सयपत्री उत्पादन हुन्छ भन्ने अनुमान छ, उनले भने, अहिले सयपत्री ढकमक्क फूलेको छ। हामीले चिस्यान केन्द्रमा भण्डारसमेत गर्न थालेका छौँ।

धनगढी-९ मा १०८ दि डिभाइन एग्रो फार्म सञ्चालन गरिरहेका रोशन साउँदले यो वर्ष २२ कट्ठामा फूल खेती गरेका छन्। उनले तिहारमा २० क्विन्टल फूल बजारमा पठाउने तयारी गरेका छन्। यो वर्ष २२ कट्ठा क्षेत्रफल फूल खेती गरेको छु। फूल राम्रो फूलेको छ। कम्तीमा १६ हजार माला अर्थात् २० क्विन्टल फूल तिहारमा मात्रै बिक्री गर्ने लक्ष्य राखेको छु, साउँदले वताएका छन।

धनगढी-१३ का किसान पुष्कर बिष्टले यो वर्ष १२ कट्ठामा फूल खेती गरेका छन्। बिष्टले तिहारमा चार क्विन्टल फूल उत्पादन हुने बताएका छन्। यस्तै, धनगढी-१२ मा आशा पन्त मिश्रले १० कट्ठा तथा कृतिका सिंहले ३ कट्ठामा फूल खेती गरेका छन्। यसैगरी, धनगढी-१३ राजपुरमा गीता बिष्टले ६ कट्ठामा पुष्पखेती गरेकी छन् भने धनगढी-५ तारानगरका बलदेवप्रसाद भट्टले ५ कट्टामा पुष्पखेती गरेका छन्।धनगढी-४ मा रिता अवस्थीले ६ कट्ठामा फूल खेती गरेकी छन्। उनले तिहारमा ६ क्वीन्टल फूल उत्पादन हुने बताएकी छन्।

धनगढी-८ का जोगेन्द्र सेटीले यो वर्ष ६ कट्टामा फूल खेती गरेका छन्। उनले आफ्नो बारीमा तिहारका लागि कम्तिमा पाँच क्विन्टल फूल उत्पादन हुने बताएका छन्। धनगढीका यी पुष्प व्यवसायी किसानले २०७९ देखि फूल उत्पादन गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिकाले सुरुमै किसानहरूलाई फूल खेती गर्न तालिम दिएको थियो। त्यसपछि किसानहरूलाई सजावट सम्बन्धी तालिम दिएको उपमहानगरले आर्थिक सहयोग समेत गरेको किसान शङ्करसिंह बिष्टले बताए। फूल उत्पादन गर्न किसानहरूलाई कृषि विकास निर्देशनालय डोटीले समेत सहयोग गरेको बिष्टले बताए।


२०८२ कात्तिक २ २०:३० बजे

प्रतिक्रिया