छाउगोठ त्याग्दै नयाँ पुस्ताका महिला

bimbonline बिम्ब अनलाइन
२०८२ असोज ३० १८:५९ बजे

बाजुराका नयाँ पुस्ताका महिलाहरुले यती बेला धमाधम छाउगोठ त्याग्न  थालेका छन् । पुराना पुस्ताका महिलाहरु महिनावारी भएको बेलामा घरदेखि टाढा निर्माण गरेको छाउगोठमा सुत्ने गरेकाले नयाँ पुस्ताका महिलाहरुले पनि उनीहरुकै सिको गर्दा छाउगोठमा बस्नु पर्ने बाध्य हुँदै आएका थिए ।

महिनावारी भएको बेलामा यसरी महिलाहरु बाहिर छाउगोठमा सुत्ने गरेकाले कयौ महिलाहरुको अकालै ज्यान जाने गरेपछि यहाँको स्थानीय सरकार तथा प्रशासनले छाउगोठ भत्काउने अभियान सुरु गरेसँगै अहिले पछिल्लो समय यहाँका महिलाहरुले गोठ त्याग्दै घरमा बस्न थालेको हुन् ।

छाउप्रथाको बारेमा आफुलाई केही जानकारी नहुँदा पहिला लामो समयदेखि छाउगोठमा बस्ने गरेको थिए । अहिले यसो बुझ्दा यो केही होइन भन्ने कुराको महसुस भएपछि अहिले आफु महिनावारी भएको बेलामा पनि घरकै कोठामा सुत्ने गरेको हिमाली गाउँपालिका –६ जन्मा पाण्डेले बताउनुभयो 

उहाँले भन्नुभयो, “पुराना पुस्ताका महिलाहरु अहिले पनि छाउगोठमा बस्न लगाउँने गरेका छन् । तर हामीहरुले त्यो कुप्रथालाई अन्त्य गर्नकै लागि पछिल्लो समय महिनावारी भएको बेलामा पनि कोठामा नै सुत्ने गरेका हौ ।”

घरमा बस्न त के महिनावारी भएको बेलामा दही महि केही खान दिँदैन थिए । अहिले हामीले उहाँहरुकै अगाडि त्यो सबै खाने गरेका छौ । तर अहिले सम्म न हामीलाई केही भएको छ । नत गाईभैँसीलाई केही भएको छ । यो सब गलत भन्ने कुरा अहिले प्रष्ट भएकोले यती बेला यहाँका धेरै महिलाहरु महिनावारी भएपनि घरकै कोठामा सुत्ने गरेको पाण्डेले बताउनुभयो ।

बाजुरामा छाउप्रथा महिलादेखि अहिलेसम्म कायमै रहँदै आएको थियो । पुराना पुस्ताका महिलाहरुले धामीझाँक्रीहरुको डरले उनीहरु महिनावारी हुँदा कहिल्यै पनि घरमा सुत्दैन थिए ।

२०७५ साल पुस २५ गते बाजुराको बुढीनन्दा –९ को अगाउँपानीमा आमा अम्भा बोहरा सहित दुइ छोराको  छाउगोठमा आगोले निसासीएर ज्यान गएको थियो । त्यसपछि यहाँ छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो ।त्यसपछि २०८१ गत माघ १४ गते बुढीगङ्गा नगरपालिका –८ रिठा प्रहरी चौकीले नुवाकोट, सिगाडा, भण्डारगाउँ, झारगाउँ, बदेडा, तिमाडा र सेलापाखा लगायतको छाउगोठ अनुगमन गरेको थियो ।

प्रहरीले यहाँका गाउँ बस्तीमा छाउगोठको अवस्था के छ भनेर अनुगमन गर्दा त्यहाँ २९ वटा छाउगोठ देखिएका थिए । अहिले ती देखिएका छाउगोठ  पनि भत्काएका छन् ।बाजुरामा झण्डै ५११ वटा छाउँगोठ समेत भत्काएको थियो । अहिले त्यो अभियान सञ्चालन भइरहेको छ । यो अभियान सुस्ताएसँगै गोठ फेरि निर्माण हुने भएकोले  यहाँका स्थानीय तहले यो अभिायन निरन्तर राखेको हुन् ।

पहिला यहाँका महिला महिनावारी हुँदा छाउगोठमा बास बस्ने गथ्र्ये । उनीहरुलाई छाउगोठ बस्न नदिएर घरमै कोठामा बास बसाल्ने गरी विभिन्न जनचेता मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्न्नुभयो, “पहिलेका महिलाहरु अशिक्षित भए उनीहरुलाई केही कुरा थाहा थिएन । बिरामी हुँदा पनि देउताकै भर पर्ने गरेका थिए । अहिले नयाँ पुस्ताका महिलाहरु प्रायः सबै शिक्षित छन् । उनीहरुलार्ई सबै कुराको थाहा छ । आफ्नो स्वास्थ्यका बारेमा आफैँले ख्याल राख्ने गर्छन । त्यसैले उनीहरु अहिले  महिनावारी भएपनि छाउगोठमा नसुतेर आफ्नो घरकै कोठामा बस्ने गर्छन् ।”अहिले हामीले छाउप्रथा मुक्त क्षेत्र घोषण गर्ने गरी यहाँका सबै वडामा जनचेतनामुकल अभियान सञ्चानल गरेका छौ । केही समयपछि पूरै पालिकालाई नै छाउप्रथा मुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको अध्यक्ष मल्लले बताउनुभयो ।


२०८२ असोज ३० १८:५९ बजे

प्रतिक्रिया