डडेल्धुराको जोगवुडा मालपोत कार्यालय प्रमुखले युवकलाई कुटेको आरोप

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २८ २१:२६ बजे

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका जोगवुडामा रहेको मालपोत कार्यालयका हाकिम प्रेम धामीले एक जना युवकमाथि आक्रमण गरी कुटपिट गरेको आरोप लागेको छ ।

परशुराम नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय शंकर देव भट्टले सोमबार दिउँसो करिब २ बजे परशुराम नगरपालिका परिसरमा मालपोत कार्यालय प्रमुख प्रेम बहादुर धामीले आफूमाथि एक्कासि आक्रमण गरी कुटपिट गरेको बताएका छन् ।भट्टका अनुसार, उनी नगरपालिकामा आफ्नो काम सकेर घर जानका लागि अटोमा बस्नै लाग्दा कार्यालय प्रमुख धामीले एक्कासी आएर अटोबाट तानेर लछारपछार गर्दै कुटपिट गरेका हुन् ।

पीडित भट्टले कार्यालय प्रमुख धामीसँग आफ्नो कुनै लेनदेन वा पुरानो पूर्वाग्रह नरहेको बताएका छन् । उनले एक वर्षअघिसम्म सोही मालपोत कार्यालयमा करार पदमा कार्यरत रहेको जानकारी दिए । कार्यालय प्रमुख धामीले किन आक्रमण गरे भन्नेबारे आफूलाई कुनै जानकारी नभएको भट्टले बताएका छन् ।

यस घटनापछि भट्टले कार्यालय प्रमुख धामी विरुद्ध इलाका प्रहरी कार्यालय जोगबुढामा सार्वजनिक मुद्दा दिने तयारी गरेको बताएका छन् ।यस विषयमा कार्यालय प्रमुख प्रेम बहादुर धामीलाई बुझ्न खोज्दा उनको फोन उठेन । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाउने तयारी गरेको बुझिएको छ।


२०८२ असोज २८ २१:२६ बजे

प्रतिक्रिया