देउवा, प्रचण्ड र खड्काको घरमा भेटिएका जलेका नोट अनुसन्धानको दायरामा

bimbonline बिम्ब अनलाइन
२०८२ असोज ६ १२:३७ बजे

जेनजी आन्दोलनका क्रममा शीर्ष नेताहरूका घरमा भेटिएका भनिएका जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेताहरूको घरमा भेटिएका जलेका नोटको नमूना संकलन गरी अनुसन्धान सुरु गरेको हो । विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएका नोटको नमूना संकलन गरी अनुसन्धान सुरु गरेको हो ।

विभागले सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा जलेका नोटको नमूना संकलन गरेको छ भने खुमलटारस्थित अध्यक्ष दाहालको डेरामा पनि नमूना संकलनको काम सुरु गरेको छ ।यस्तै पूर्वमन्त्री खड्काको घरमा जलेका नोटको पनि नमूना संकलन गरिएको छ।विभागको टोलीले देउवा, दाहाल र खड्काको जलेको घरमा पुगेर मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो ।टोलीले तीनै जना नेताहरूको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ ।

कांग्रेस सभापति देउवाको सचिवालयले भने जलेको रकम भेटिएको र रकम राख्न सुरुङ नै प्रयोग गरिएको दाबीसहितका भिडिओहरू भ्रामक भएको जिकिर गरेको थियो।देउवाका सहयोगी भानु देउवाले २ असोजमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएको उल्लेख गरेका छन्।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले देउवा र खड्काको बूढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन । घर जलेको तेस्रो दिनपछि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटनाको डेढ सातापछि विभागले अनुसन्धान सुरु गरेको हो ।जलेका नोट सक्कली भएको पुष्टि भए उनीहरूमाथि अनुसन्धान थालिने विभागले जनाएका छ ।

‘जलेका नोट सक्कली भएको पुष्टि भए सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनेछन् भने यसरी आर्जन गरेको सम्पत्ति पनि जाँचबुझ र अनुसन्धान दायरामा आउनेछ’, विभागका एक कर्मचारीले भने ।




२०८२ असोज ६ १२:३७ बजे

प्रतिक्रिया