नेकपा (एमाले)) का केही जिल्ला स्तरीय नेताहरूले सामूहिक राजीनामा दिएका छन् । जेन–जी आन्दोलनमाथि सरकारले दमन गरेको कारण देखाउँदै उनीहरूले आत्मग्लानी महसुस भएको व्यहोरा लेख्दै पार्टीसँगको नाता तोड्ने घोषणा गरेका हुन् ।
बर्दियाका केही एमाले नेता तथा कार्यकर्ताले भदौ २३ गतेदेखि लागु हुनेगरी दिएको राजीनामामा लेखेका छन्,‘निर्दोष युवा तथा विद्यार्थीको रगतले हामीलाई धिक्कारेको छ। अब एमालेको साधारण सदस्यतासमेत नरहने गरी सामुहिक राजीनामा दिन्छौं ।’
राजीनामा दिएकाहरुमा किसान महासंघका केन्द्रीय सदस्य वीरबहादुर थारुलगायत जिल्ला कमिटी सदस्यहरु रामसिंह थारु,तेजनाथ पौडेल,बालकृष्ण लामिछाने,शिवप्रसाद सुवेदी,मुना लामिछाने हुन् । त्यस्तै अखिल नेपाल महिला संघको जिल्ला कमिटी सदस्य अमृता हमाल,वडा कमिटी अध्यक्ष युवराज पौडेल र अखिल नेपाल महिला संघ पालिका कमिटी अध्यक्ष शैलजा पौडेलले पनि सामुहिक राजीनामामा दस्तखत गरेका छन् ।
उनीहरुले शान्तिपूर्ण आन्दोलनमा एमालेकै नेतृत्वमा बनेको सरकारले क्रुर दमन गर्दै निर्दोष युवा तथा विद्यार्थीको ज्यान लिएको आरोप लगाएका हुन् । यही घटनाले आत्मग्लानी भएपछि पार्टी सदस्यता त्याग्न बाध्य बनाएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया