बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको रामेश्वरी माविमा खानेपानीको चरम अभाव भएको छ । सो विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको समस्या हुँदै आएको भए पनि अहिलेसम्म कतैबाट त्यो समस्या समाधान भएको छैन ।विद्यालयमा खानेपानी नहुँदा यहाँका बालबालिकाहरुले आफ्नो घरदेखि बोतलमा पानी ल्याएर खाने गर्छन् । विद्यालयमा पानी नभएका कारण शौचालय दुर्गन्धित छन् ।
विद्यालयमा खानेपानीको चरम अभावकै कारण यहाँका शौचालय दुर्गन्धित बन्दै गएको रामेश्वरी माविले जनाएको छ । विद्यालयमा खानेपानी नहुँदा घरदेखि बोतलमा पानी ल्याएर खानुपरेको रामेश्वरी मावि किम्नीका कक्षा १० मा अध्यनरत छात्र सुशील बुढाले बताउनुभयो ।
उहाँले भन्नुयो, “विद्यालयमा धारा छ, तर पानी आउँदैन । शौचालय छ, तर सफा छैन । त्यसैमा दिसा पिसाब गर्न मिल्दैन । अहिले दिसा पिसाब लागेको बेला पनि यहाँका अन्य केही नजिकका घरका शौचालयमा जाने गर्छु । ”अन्य ठाउँका विद्यालयमा बालमैत्री शौचालय छन् । ती विद्यालयमा धारा पनि त्यस्तै छन् । हाम्रो यहाँ भने दिसा पिसाब लागेपछि घरमा जानुपर्ने समस्या छ । दिसा पिसाव लागेको बेला घरमा जाँदा विद्यालयको पढाइ छुट्ने गरेको बुढाले बताउनुभयो ।
यो विद्यालयमा १३० छात्र र १५० छात्रा गरी २८० जना विद्यार्थी अध्ययनरत छन् । यी बालबालिकालाई विद्यालयमा खानेपानी नहुँदा शौचालय तथा पिउने पानीको समस्या हुने गरेको छ ।गाउँ नजिक भएका बालबालिकाहरुलाई दिसा पिसाब र खानेपानी खान घरमा जान सहज भए पनि घर टाढा भएका बालबालिकाहरुलाई भने विद्यालयमा दिसा पिसाब गर्न निकै समस्या हुने गरेको रामेश्वरी माविका प्राधानाध्यापक टेकराज जोशीले बताउनुभयो ।
विद्यालय व्यस्थापन समितिको बैठक बसालेर हामीले पालिकालाई खानेपानीका लागि माग गरेको पत्रसमेत नगरपालिकामा पठाएको हो । यो विद्यालयमा खानेपानीको चरम अभाव छ भन्ने कुरा त त्यहाँका सबैलाई थाहा छ । तर पनि पालिकाले यो विद्यालयमा कुनै प्रकारको सहयोग नगरेको प्रधानाध्यापक जैशीले बताउनुभयो ।
विद्यालयमा विगत पाँच छ वर्षदेखि खानेपानीको निकै अभाव छ । यसका लागि आफूले कार्यपालिकाको बैठकमा समेत धेरै पटक कुरा राख्ने गरेको छु । तर पनि उतादेखि केही सुनुवाइ नभएको त्रिवेणी नगरपालिका –५ का वडा अध्यक्ष डिल्ली बुढाले बताउनुभयो ।उहाँले भन्नुभयो, “त्रिवेणीका अन्य वडाका विद्यालयमा बालमैत्री धारा निर्माण गरेका छन् । त्यसैमा शौचालय पनि बालमैत्री छन् ।” तर हाम्रो यो किम्नीको रामेश्वर माविमा भने पुस्तौंदेखि अहिलेसम्म खानेपानीको चरम अभाव हुँदै आएको बुढाले बताउनुभयो ।
खानेपानी निर्माणमा नै यस नगरपालिकाले बर्सेनि करोडौ रुपियाँ खर्च गर्ने गरेको छ । तर गाउँ बस्ती भने अझै खानेपानीको समस्याबाट मुक्त हुन सकेको छैन ।यता त्रिवेणी नगरपालिकाले भने यहाँका सबै वडाका गाउँ बस्तीमा एक घर एक धारा निर्माण गर्ने अभियान सञ्चालन गरेकाले केही समयपछि यहाँका सबै टोल तथा विद्यालय खानेपानीको समस्याबाट मुक्त हुने जनाएको छ । गोरखापत्र अनलाइन
प्रतिक्रिया