काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरु भएको ‘नाडा अटो शो’ मा अवलोकनकर्ताको भीड लागेको छ । हिजो पहिलो दिन विशेषगरी ‘उड्ने कार’ हेर्नेहरुको भीड थियो ।
‘नाडा अटो शो’ मा दुई पाङ्गे गाडीदेखि उड्ने कार हेर्न पुग्नेहरुको चहलपहल छ । विभिन्न कम्पनीहरूले प्रदर्शनी स्थलमा नयाँ–नयाँ कारलगायत गाडी सार्वजनिक गरेका छन् । कम्पनीहरूले अटो शो लक्षित गरी आकर्षक मूल्य तोकेका छन् ।
मेलामा राखिएका मोटरसाइकल र स्कुटरले युवा वर्गको ध्यान तानेको छ । अवलोकनकर्ताले नयाँ मोडेलका दुई पाङ्ग्रे गाडीको जानकारी लिने र खरिदका लागि बुकिङमा उत्साह देखाएका छन् । मेलामा बैङ्कहरूको छुटको प्रतिस्पर्धा नै देखिएको छ ।
प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रेको ‘ब्राण्ड’, १३ हलुका गाडीका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे गाडीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आ–आफ्ना उत्पादन राखेका छन् । यही भदौ ८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको एक लाखभन्दा धेरैले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
नेपाल अटो मोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो प्रदर्शनी मात्रै नभएर व्यावसायिक थलोका रूपमा विकास हुँदै गएको बताउनुभयो । अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्व सङ्कलनमा ठूलो योगदान दिएको जानकारी दिँदै उहाँले प्रदर्शनीले वार्षिक रूपमा बिक्री हुने कुल गाडीको ४० प्रतिशत हिस्सा ओगट्ने बताउनुभएको छ । प्रदर्शनीको हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै उड्ने कारसहित गाडीका स्टलहरुको अवलोकन समेत गर्नुभएको थियो ।
प्रतिक्रिया