नेपाल र चीनको सेनाबीच मध्य भदौमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।नेपाली सेना र चीनको पीपुल्स लिबरेसन आर्मी (पीएलए) बीच पाँचौं संस्करणको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।
यो अभ्यास भदौ २१ देखि २५ गतेसम्म ५ दिन नेपालमै हुनेछ । यस अभ्यासमा आतंकवाद विरुद्धका अभियान, युद्धकौशल र विपद् व्यवस्थापनमा ध्यान केन्द्रित गरिनेछ । गत वर्ष चौथो संस्करणको अभ्यास चीनको सिचुआन प्रान्त नजिकैको छङछिङ शहरमा भएको थियो । यसपटक दुबै सेनाका अधिकारीहरूले अभ्यासको स्वरूप, सहभागीहरूको संख्या र अवलोकनकर्ता टुंगो लगाउन छलफल गरिरहेका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यो संयुक्त अभ्यास नियमित सैन्य सहकार्य कार्यक्रमको एउटा हिस्सा भएको बताए ।‘नेपालले क्षमता विकास र अनुभव साटासाट गर्ने उद्देश्यले भारत, अमेरिका र चीनसँग यस्ता अभ्यासहरू नियमित रूपमा गर्दै आइरहेको छ । यी अभ्यासहरू कुनै विशेष मुलुकलाई लक्षित गरेर गरिएका होइनन्’, प्रवक्ता आचार्यले भने
नेपाल–चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास अप्रिल २०१७ मा काठमाण्डुमा भएको थियो । यस्तै दोस्रो संयुक्त अभ्यास २०१८ मा छेन्दुमा र तेस्रो २०१९ मा नेपालमै भएको थियो । कोभिड–१९ महामारीका कारण केही वर्ष रोकिएको यो अभ्यास गत वर्ष चीनमा पुनः सुरु गरिएको थियो ।
यस्तै नेपालले अमेरिका र भारतसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आइरहेको छ । नेपालले भारतसँग ‘सूर्य किरण’ र अमेरिकासँग नियमित संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।
प्रतिक्रिया