कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ। भारतीय दुधुवा नेसनल पार्कमा वर्षातको पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ।
यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ। हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न थालेपछि सामुदायिक वनमा उपभोक्तलाई नजानका लागि सचेत गराउने कार्य भइरहेको छ।
हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोक्ने कार्य भइरहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले बताए। उनका अनुसार वन क्षेत्रमा जान पूर्ण रूपमा निषेध गरिएको छ। “हात्तीको बथान सामुदायिक वनको कार्यालय नजिकैको बाँसघारीमा दैनिकजसो बाँसका टुसा खानका लागि पुग्ने गरेका छन्”, उनले भने, “उपभोक्तालाई वन क्षेत्रमा नजानका लागि आग्रह गर्दै आएका छौँ।”
मानवीय क्षति हुन नदिनका लागि उपभोक्तालाई सचेत पार्ने कार्य भइरहेको उनले बताए। बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा हात्तीको गतिविधि दैनिक नियाल्दै आएको बताउछन्। “मानव बस्तीमा हात्ती छिर्न सक्ने प्रबल सम्भावना हुन्छ,” उनले भने, “हात्ती धपाउनका लागि स्थानीय बासिन्दा जाँदा मानवीय क्षति पनि हुन सक्छ, त्यसलाई रोक्न हात्ती कुन ठाउँमा पुगेका छन् भनेर चियोचर्चो गर्ने कार्य गरिँदै आएको छ।”
प्रतिक्रिया