कारागार भवन जीर्ण हुँदा कैदीबन्दी पालमुनि

bimbonline बिम्ब अनलाइन
२०८२ असार २४ १०:४० बजे

छ दशकपहिले निर्माण भएको जिल्ला कारागार कञ्चनपुरको भवन जीर्ण भएपछि कैदीबन्दी पालमुनि बस्न बाध्य भएका छन् । जीर्ण अवस्थामा रहेको जिल्ला कारागार कञ्चनपुरको भवन मर्मत र पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा कैदीबन्दी समस्यामा परेका हुन् ।  

५० वर्षपहिलेदेखि सञ्चालनमा आएको कारागार भवन विगत एक दशकयता जीर्ण अवस्थामा रहेको छ । भवनको मर्मत र पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा वर्षायाममा पानी चुहिने समस्याले पाल टाँगेर बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारका नाइके टेकराज जोशीले भवन जीर्ण हुँदा वर्षायाममा पानी चुहिने समस्याले कैदीबन्दीलाई मर्का परेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायाममा कैदीबन्दीलाई बस्न, सुत्न समस्या हुने गरेको छ । भवन जीर्ण अवस्थामा छ, कतिखेर छत तल खस्छ थाहा छैन ।”

कारागार भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियोजन गरेको बजेट काम अगाडि नबढ्दा फ्रिज गएको छ । चालु आर्थिक वर्ष २०८१ र ८२ मा कञ्चनपुर कारागार भवन निर्माणका लागि भनेर छुट्याइएको ५० लाख रुपियाँ फ्रिज गएको हो । मन्त्रालयले निकासा नदिँदा बजेट नै फ्रिज गएको जिल्ला कारागार कञ्चनपुरका निमित्त जेलर रामदत्त जोशीले बताउनुभयो । भवन जीर्ण हुँदा कैदी व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो तर सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने कारागार प्रशासनसँग नयाँ बन्ने भवनको डिजाइन, नक्सा माग गरिए पनि उपलब्ध नहुँदा प्रक्रियामा जान नसकिएको जनाएको छ । 
मन्त्रालयका प्रवक्ता आमोद दाहालले चालु आवका लागि नयाँ संरचना निर्माणका लागि भन्दै मन्त्रालयले ५० लाख रुपियाँ विनियोजन गरेको बताउनुभयो । नयाँ संरचना निर्माणका लागि कारागार प्रशासनसँग आवश्यक डिजाइन उपलब्ध गराउन माग गरे पनि उपलब्ध नहुँदा नयाँ संरचना निर्माण कार्य प्रक्रियामा जान नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा कस्तो संरचना बनाउनुपर्ने हो, त्यहाँको आवश्यकता के हो भने मन्त्रालयबाट लिखित रूपमा पत्र पठाएका थियौँ तर कारागार प्रशासनबाट प्रतिक्रिया नआएपछि आवश्यकता पहिचान हुन नसक्दा चालु आवमा बजेट नै फ्रिज गएको छ ।” कञ्चनपुर कारागार प्रशासनले भने गत जेठ महिनामा आफैँ काम गर्ने भनेर मन्त्रालयसँग अख्तियारी माग गरेको जनाएको छ तर सार्वजनिक खरिद ऐन अनुरूप सूचना प्रकाशन गर्नुपर्ने र प्रदेश र सङ्घको अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने हुँदा समयसीमाले गर्दा कार्यान्वयन गर्न नसकिएको मन्त्रालयका प्रवक्ता दाहाल बताउनुहुन्छ । 
भवन निर्माणका लागि चालु आवमा विनियोजन गरिएको ५० लाख फ्रिज गएपछि आगामी आवका लागि स्नानगृह, शौचालय र भोजनगृह निर्माणका लागि भन्दै ५० लाख छुट्याइएको मन्त्रालयका प्रवक्ता दाहालले बताउनुभयो । आगामी आवको सुरुवातमै स्नानगृह, शौचालय र भोजनगृह निर्माणको काम अगाडि बढाइने उहाँले बताउनुभयो । जीर्ण भवन मर्मतका लागि भने बजेट नछुट्याइँदा कैदी व्यवस्थापनमा समस्या निकै चुनौती खेप्नु परेको जिल्ला कारागार कञ्चनपुरका निमित्त जेलर जोशीले बताउनुभयो । २५ महिला र ७० पुरुष राख्ने व्यवस्था भए पनि कारागारमा अहिले क्षमताभन्दा चार गुणा बढी ४५१ जना कैदीबन्दी रहेका छन् । जसमध्ये अहिले ४२५ पुरुष र २६ महिला कैदी बन्दी रहेका छन् । 

 

२०८२ असार २४ १०:४० बजे

प्रतिक्रिया