काठमाडौँ। आज आषाढ शुक्ल एकादशीका अवसरमा घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा आरम्भ गरिएको छ।ज्येष्ठ शुक्ल एकादशीमा दल राखिएको तुलसीको बिरुवा आज तुलसी मोठमा सारिँदै चतुर्मासभर विशेष पूजा गरिन्छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ र आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधि ‘चतुर्मास’ भनिन्छ।
धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार, आजको दिन भगवान् विष्णु क्षीरसागरमा शयन गर्न जाने भएकाले यस दिनलाई ‘हरिशयनी एकादशी’ भनिन्छ।एक वर्षमा २४ एकादशी पर्ने भए पनि धेरैले चतुर्मासमा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्छन्। चार महिनासम्म व्रत बस्न नसक्नेले हरिशयनी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने प्रचलन छ।
आज राजधानीको बूढानीलकण्ठ, चार नारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ। एकादशीका दिन चामल नखाई रोटी, ढिँडो र फलाहार गर्ने चलन छ।वैज्ञानिक रूपमा तुलसीबाट शुद्ध अक्सिजन पाइने र यसले रोग फैलाउने कीटाणु हटाउने गुण हुने प्रमाणित भइसकेको छ। वास्तु दोष निवारण र सकारात्मक ऊर्जा प्रवाहका लागि तुलसीको महत्व रहँदै आएको छ।
चतुर्मासअन्तर्गत तुलसीको विधिपूर्वक पूजा आराधना गरिएको बिरुवा कार्तिक शुक्ल एकादशीका दिन ‘तुलसी–दामोदर विवाह’ गरी चतुर्मासको समापन गरिन्छ। विवाहपछि अग्निस्थापनासहित हवन गरिने वैदिक विधि छ।
प्रतिक्रिया