भत्किन थाल्यो शमशेरगञ्ज दरबार

bimbonline बिम्ब अनलाइन
२०८२ असार १५ १६:०१ बजे

चुरे गाउँपालिकाको सानको रुपमा रहेको राणाकालीन शमशेरगञ्ज दरबार भत्किन थालेको छ । संरक्षण नहुँदा कैलालीको चुरे गाउँपालिका –४ मा रहेको शमशेरगञ्ज दरबार भत्किन थालेको हो । 

यस दरबारलाई गर्भा दरबारको नामले पनि चिन्ने गरिन्छ । पानी परेपछि दरबारको उत्तरतर्फको मुख्य खम्बासहितको एक ठाउँ भत्केको स्थानीय प्रकाश सापकोटाले बताउनुभयो । दरबारको छाना नरहेकाले यो बर्खामा लगभग आधाजति दरबार भत्कने सम्भावना रहेको स्थानीय जीवन गुरुङको भनाइ छ । उहाँले थप्नुभयो, “छाना छैन, अगाडिको मुख्य बार भत्किसक्यो । मलाई लाग्छ, यो बर्खामा आधा जति दरबार भत्किने खतरा छ ।”

स्थानीयका अनुसार विक्रमसंवत् १९८४ मा जर्नेल बहादुर शमशेर राणाले गर्भामा यो दरबार बनाउनुभएको थियो । नौ रोपनी जग्गाभित्र बनेको दरबार पछि बहादुरको छोरा तेजप्रकाश राणाको भागमा परेको थियो । 

८३ झ्याल र ५३ ढोका भएको तीनतले दरबार तत्कालीन जनयुद्धको बेलादेखि मानव बसोवासविहीन बनेको थियो । त्यसपछि संरक्षण नहुँदा बेवारिसे बनेको शमशेरगञ्ज दरबार जीर्ण बन्दै गएको छ ।यो दरबारको पूरै स्वामित्व पुरातत्व विभागले लिएको छ । चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीका अनुसार एकसय वर्ष पुगेको शमशेरगञ्ज दरबार अब खण्डहर बनिसकेको छ । २०५२ देखि २०६० बाट दरबार अलिअलि भत्किन सुरु गरेको स्थानीयको भनाइ छ ।

अध्यक्ष बोगटीका अनुसार दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपियाँ बजेट छुट्याएको थियो । त्यो बजेटबाट घेराबारका लागि पर्खाल निर्माणको काम भएको जनाइएको छ । गोरखापत्र अनलाइन


२०८२ असार १५ १६:०१ बजे

प्रतिक्रिया