मनसुन सक्रिय भएकाले पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।
कैलालीको धनगढी एअरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले त्यो क्षेत्र भइ बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा रहनु हुनेहरूले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबारसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
प्राधिकरणले निकालेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।ठूलो वर्षाका कारण ती ठाउँमा भूक्षय, बाढी, पहिरो, डुबान तथा नदीको बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको सल्लाह छ
यस अवधिभर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न, मौसमी बुलेटिनहरूको अद्यावधिक जानकारी लिन, डुबान हुनसक्ने क्षेत्रका भुइँतलामा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन, नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा सकेसम्म नदी किनारमा नजान, नदी किनारका निर्माण कार्य रोक्न, उच्च जोखिम रहेका जिल्लाका विपद् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले यातायात सञ्चालनबारे आवश्यक निर्णय गर्न तथा त्यसको पालना गर्न र तीनवटै सुरक्षा निकाय, पालिका एवम् स्वयंसेवकलगायत सरोकारवाला निकाय तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ ।
यस्तै विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै प्युठानको स्याउलीबाङमा पानी परेको छ । स्याउलीबाङमा २४ घण्टामा १२०.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी सिन्धुपाल्चोकको गोब्रे स्टेसनमा १०२.६ र कञ्चनपुरको हनुमाननगरमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ ।कैलाली, कञ्चनपुर, दाङ र अर्घाखाँचीमा बिहानैदेखि ठूलो पानी परिरहेको छ । दाङको पूर्वी भू–भाग तथा तथा अर्घाखाँची र कपिलवस्तुका पश्चिमी भू–भागका केही ठाउँहरुमा अझै केही समय ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका पहाडी भू–भागका एक, दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया