कपिलवस्तु जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीले चैत्र ३१ गते आइतबार उच्च अदालत पाटनबाट सफाइ पाए । जिल्ला अदालत काठमाडौंबाट २०८१ साल जेठ १३ गते बलात्कारमा दोषी ठहर गर्नेगरी भएको फैसला उल्टियो । कान्छी श्रीमती आरती रावलले दिएको जाहेरीका आधारमा यो मुद्दाको उठान भएको थियो ।
आरतीले आफूमाथि ८ पटक जबरजस्ती करणी भएको दाबी गरेकी थिइन् । प्रहरीले अनुसन्धान नगरेको भन्दै कहिले धर्ना, कहिले प्रदर्शन, कहिले आत्महत्याको धम्कीसमेत दिने गरेकी थिइन् । त्यसपछि प्रहरी अनुसन्धान अघि बढ्दै अदालतमा अभियोगपत्र दर्ता भयो । काठमाडौं जिल्ला अदालतको आदेशपछि न्यायाधीश गिरी डिल्लीबजार सदरखोर पुगे । उच्च अदालत पाटनले उमेर पुगेका व्यक्तिबीच हुने शारीरिक सम्बन्धलाई स्वतः जबरजस्ती करणीको कसुर भन्न नमिल्ने नौलो व्याख्या गरेको छ ।
रावलले २०७९ साल २७ चैत रातिदेखि २८ गतेसम्म ८ पटक जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी रहे पनि जाहेरवालाको बकपत्रमा ‘बिहानको खाना पकाई साथै खाएको’ भन्ने बयानबाट घटना शंकारहित हिसाबले स्थापित हुन नसक्ने ठहर अदालतको छ । यो ठहर सँगै श्रीमतीलाई बलात्कार गरेको अभियोग लागेका निलम्बित न्यायाधीश भुवन गिरी सोमबार जेलमुक्त भएका छन् ।
घटना विवरणअनुसार २०७५ सालमा गिरीले आरतीसँग बिहे गरे । २०७९ मंसिरमा आरतीले कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कारको जाहेरी दिइन् । मुद्दा चलिरहेकै थियो । त्यही बेला आफूलाई जबरजस्ती करणी गरेको आरोपमा अर्को जाहेरी हालिन् । मुद्दा चल्दै गयो । जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश गरे । त्यसपछि आरती सर्वोच्च अदालतको गेटमा अनशन बसिन् । इजलासमा बहस चलिरहँदा विषसमेत पिइन् । यता, सर्वोच्चले उच्च र जिल्लाको धरौटी आदेश उल्ट्याउँदै २०८० चैत २१ गते गिरीलाई पुर्पक्षका लागि थुनामै राख्न भन्यो ।
फैसला हुँदा जिल्ला अदालत काठमाडौँले सात वर्ष कैद र तीन लाख रूपैयाँ जरिवानाको फैसला सुनायो । जिल्लाको आदेशविरुद्ध गिरी उच्च अदालत पुगे । यता, जिल्लाले गिरीलाई कैद सजायँ कम गरेको दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पनि निवेदन लिएर उच्चमा पुग्यो । फैसला हुँदा आइतबार उच्चले जिल्लाको फैसला उल्टाएर सफाइ दियो ।
सफाइ दिने फैसलामा २०७९ साल चैत २७ गते काठमाडौँ, सुन्धारामा प्रतिवादी गिरी र जाहेरवाला आरतीबीच भेटघाट भएको, तत्पश्चात् बानेश्वरमा एकसाथ गई चियासागरमा चिया पिएको, बेलुका रेष्टुरेण्टमा खाना खाई गोंगबुस्थित आरतीको डेरामा रात बिताएको, भोलिपल्ट बिहानको खाना पकाएर साथै खाएको तथ्य स्थापित भएको आधार उच्चले लिएको छ । गिरीको बयानमा भने आरतीले भेट्न अनुरोध गरेकाले कोठामा कुराकानी गर्दै रात बिताएको भनी कसुरमा पूर्णतः इन्कार रहेको पनि फैसलामा उल्लेख छ ।
यसबाहेक वारदातको समय एउटै ‘फ्याल्ट’ मा रहेकी आरतीकी बहिनीलाई अनुसन्धानको क्रममा बुझ्ने कार्यसम्म नभएको पनि फैसलामा उल्लेख छ । घरधनीले गरेको मौकाको कागजमा समेत वारदातका बेला जाहेरवाला आरती र प्रतिवादी गिरीबीच झै–झगडा भएको नदेखिएको आधार पनि लिइएको छ । यता, स्वास्थ्य र प्रयोगशाला परीक्षण प्रतिवेदनले दुईजनाबीच शारीरिक सम्बन्ध भएको देखिने तथ्य स्थापित हुन नसकेको ठहर गरिएको छ
जाहेरवालाले शारीरिक परीक्षणका क्रममा यौनांगमा दुखाइ रहेको भने पनि निजको शरीरका कुनै पनि अंगमा तत्काल कुनै चोट पटक रहे÷भएको भन्नेसमेत परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिँदैन,’ फैसलामा भनिएको छ, ‘उमेर पुगेका व्यक्तिहरूबिच हुने शारीरिक सम्बन्धलाई स्वतः जबरजस्ती करणीको कसुर भन्न मिल्दैन । यस्तो अवस्थामा जबरजस्ती करणीजस्तो फौजदारी कसुर स्थापित हुनलाई सोहीबमोजिम न्यायिक दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ ।’
प्रतिक्रिया