प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १३ ११:३० बजे

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्री नियुक्ति र संसद् विघटन बदर गर्दै पुनःस्थापनाका मागसहित दायर रिटमा प्रारम्भिक सुनुवाइ हुने भएको हो। रिट निवेदकहरूले उत्प्रेषण र परमादेश आदेश जारी गर्न माग गरेका छन्।

अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाललगायतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो। नियुक्तिपछि कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गर्नुभएको थियो। साथै, उनले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोक्नुभएको थियो।



२०८२ कात्तिक १३ ११:३० बजे

प्रतिक्रिया