मानाङ । मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बीओपी स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
समुद्री सतहदेखि झन्डै चार हजार मिटर उचाइमा बीओपी स्थापना हुँदा सीमामा सहजता र सुरक्षाको दृष्ट्रिकोणले महत्वपूर्ण हुनेछ । बीओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रूपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको छ ।
बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । बीओपी स्थापनापछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रभावकारी हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताउनुभयो । नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्छ ।रासस
प्रतिक्रिया