बर्दिया स्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएका देखिन्छन् । धेरैजसो बगर उपयोगविहीन छ ।राजापुरसँग जोडिएको कैलालीको टीकापुर–८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन् ।
३ वर्ष अघिसम्म मरुभूमि झैँ देखिने यो क्षेत्र अचेल यहाँका किसानका लागि आम्दानीको स्रोत बनेको छ ।हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारी खेती गरी किसानले आम्दानी गरिरहेका छन् । यो बगरमा अचेल कहिले लौका, काँक्रा, तरबुजा त कहिले प्याज फल्छन्, जसले किसानको जीवनशैली फेरिँदै गएको छ ।
वि.सं. २०६४ को बाढीले यहाँका किसानको खेतीयोग्य जमिन कटान गरी क्षति पुर्याएकामा त्यसयता त्यो क्रम निरन्तर जारी छ । यहाँका धेरैजसो किसानको सबै खेती बगाएपछि आर्थिक उपार्जनको कुनै उपाय थिएन ।पछिल्ला समय कर्णाली नदीले कैलालीतर्फको धार परिवर्तन गर्दै बर्दियातर्फ मोडिएपछि त्यही बगरमा खेती गरेर ती किसानले आफ्नो गर्जो टारिरहेका छन् । ३ वर्षदेखि यहाँ बगर खेती हुँदै आएको छ ।
स्थानीय सोहदी चौधरीले भने पहिलो पटक यस वर्षदेखि बगर खेती सुरु गरेकी छन् । छोरी सेती चौधरीले प्रेरित गरेपछि उनी यसतर्फ आकर्षित भएकी हुन् । छोरी सेतीले गत वर्ष घरअगाडिको खाली बगरमा नौ किलोग्राम प्याज रोपेर चार क्विन्टल उत्पादन गर्न सफल भएपछि आमाले पनि उत्साहित हुँदै १५ केजी प्याजको बीउ रोप्ने आँट गरेको सोहदीले बताइन् । ‘छोरीले राम्रो कमाई गरेपछि मैले पनि हिम्मत जुटाएँ । पहिलो पटक बगरमा खेती गर्दै छु, हेरौँ राम्रै होला भन्ने अपेक्षा छ’, उनले खुसी हुँदै भनिन् । यहाँ ३ वर्षअघि खेती गर्ने किसानमध्ये एक थिए शाहीबहादुर चौधरी ।
बगर खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनको सम्पूर्ण परिवार यसै कार्यमा लागेको छ । ‘ती वर्षअघि यो बगरमा हामीले नै पहिलो पटक खेती गरेका थियौँ । राम्रो कमाई हुन थालेपछि अहिले मेरो सात जनाको परिवार यही खेतीमा लागेका छौँ । हाम्रो प्रगति देखेर पछिल्लो समय यस क्षेत्रका अन्य किसान पनि आकर्षित हुँदै गएका छन्’, चौधरीले भनिन् । उनले यसपटक आफूले ३० क्विन्टल प्याज फलाउने लक्ष्यसहित खेती गरेको बताइन् ।
प्रतिक्रिया