माओ दिवस र क्रान्तिकारीहरुको दायित्व

हामीले इतिहासबाट शिक्षालिँदै क्रान्तिकारी मार्ग नछाड्ने प्रणभने गर्नुपर्छ।

bimbonline दिपक शाहि
२०८१ पुष २१ १४:३८ बजे

विश्व सर्वहारा वर्गका तेस्रो मुक्ति अभियन्ता नेता, गुरु कमरेड माओको योगदान सर्वभौम छ भन्ने कुरामा विश्वका कम्युनिस्ट क्रान्तिकारी सहमत छन् । एउटा पिछडिएको र सम्राज्यवादीले केक झै टुक्राटुक्रा बनाएर काटिरहेको चीनलाई आधुनिक चीनमा फेर्ने मात्रै नभै वैश्विक दर्शनलाई आफनै मौलिक चरित्रमा उतार्ने माओको १३२ जन्मदिवशका दिन हामीले पनि नेपालगंजमा मनायौँ । हाम्रो निमन्त्रणामा एउटै मञ्चमा माओवाद वा माओविचारधारा मान्ने भिन्न धारामा विभक्त नेपाली कम्युनिष्टहरू एकै ठाउँमा उपस्थित गराएर एउटा नयाँ सन्देश र नयाँ अभ्यास गर्ने प्रयास पनि गर्यौं। संसारका मजदुर एक हौँ भन्ने कम्युनिष्ट विचार,नेपालमा भने कम्युनिष्ट पार्टीहरूमा एकरुपता छैन । हामीले नेपालगञ्जमा केही अभ्यास माओ जयन्तीमा गर्यौं। तर सत्ताको उन्मादले ग्रसित केही माओवादीहरू भने अहंकार त्याग्न सकेनन् । हामीले राज्य वा ठूला पार्टी भनिनेहरुका अहंकार र विकृतिको वैचारिक र भौतिक सामना तर्क र सडकबाट गरिरहेका छौं । आफूलाई खाँटी माओवादी भन्नेहरूले यस महत्वपूर्ण दिनको सहभागी भएर विचारहरू सुन्न र छलफल गर्न सक्थे। अहंकारले उनीहरुलाई त्यो अवसर भने गुमाए ।

हरेक घटनाबाट सिक्नु, विवेचना गर्नु र लागु गर्नु कम्युनिष्टहरुको विशेषता हुन्छ । आन्दोलनमा व्यक्त नहुँने विचार वा सक्रियताको कुनै अर्थ रहँदैन । माओको सयुक्त जन्मजयन्ती मनाउँन पाएको भए बुर्जुवा वा माओवादी सिद्दान्त विरोधी वा सत्ताको पश्चिम केन्द्रलाई दरबिलो झापड पनि हुँन सक्थ्यो । हामीले सानै उपस्थितिमा भए पनि विचारधारालाई केन्द्रमा राखेर कार्यक्रमआयोजना गरेका थियौं । यसलाई सर्वहारा किसान मजदुर वर्गको मुक्ति अभियानको पश्चिमेली कोसेढुङ्गा नै मान्नुपर्छ।हामी कम्युनिष्टहरु उदार हृदय साथ विचारलाई केन्द्रमा राखेर खुला हृदयले सहकार्य गर्न तयार रहनुपर्छ। नेपाली कम्युनिस्ट आन्दोलन, विशेषगरी दशवर्षे जनयुद्ध र त्यसपछिका राजनीतिक परिवर्तनहरू, हाम्रो सहकार्य र संघर्षबाट सम्पन्नभएकाहुन्। तर फेरिन नचाहने सत्ता त्यसलाई इतिहासबाट खारेज गर्न चाहान्छ ।

स्वय माओवादीहरु भने यस विषयमा कति चनाखा छन ? मित्रशक्तिसंग कति सहकार्य गर्न चाहान्छ ? जनताबाट,आन्दोलनबाट,मित्र शक्तिबाट आज पनि एकता र क्रान्तिको सहकार्यको माग भरहेको छ । यसको गम्भीरतालाई ध्यान दिन हामी छलफल, बहस, र संघर्षलाई निरन्तरता ,सहकार्य, कार्यगत एकतामा ध्यान दिइरहेका पनि छौं। माओको योगदानबारे सम्झँदा, उनले चिनियाँ क्रान्तिको नेतृत्व गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरे र समाजवादको दिशामा अग्रसर गराए। चिनियाँ समाजलाई सामन्तवाद र साम्राज्यवादबाट मुक्त गर्दै, दिगो जनयुद्ध र सांस्कृतिक क्रान्तिको माध्यमबाट सामाजिक रूपान्तरण गर्न माओले निर्वाह गरेको भूमिका अतुलनीय छ ।अझ आजको समृद्द चीन बनाउन उनले कुटनीतिक रुपमा पश्चिमाहरुलाई ढोकामात्रै खोलेनन,त्यसले सयुक्त राष्टसंघको स्थायी सदस्यता इवानलाई खारेज गराएर चीन बनाउन सके । शत्रुको शत्रु मित्र भन्ने कुटनीति लागु गर्दा फेब्रुअरी २१ देखि २८, १९७२ सम्म, अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले बेइजिङ, हांग्जाउ र सांघाईको यात्रा गरे। अमेरिकी राष्ट्रपति चीनको राजधानी आइपुग्ने बित्तिकै चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओले विदेश मन्त्री हेनरी किसिङ्गर र उनका सहायक विन्स्टन लर्डलाई पनि भेटे ।हामीले यसबाट लिने शिक्षा भनेको कार्यनीतिमा लचिलो र रणनीतिमा कठोर हुँनुपर्छ भन्ने हो ।

आज, हामीले नेपाली सन्दर्भमा, माओवादलाई नयाँ जनवादी क्रान्ति र सशस्त्र जनविद्रोहको कार्यदिशासँग जोड्दै अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेका छौं। माओको विचारधारालाई आत्मसात गर्दै हामीले बहस र छलफललाई निरन्तर तादिएका छौं। विश्वका कम्युनिस्ट आन्दोलनमा जस्तै नेपालमा पनि विचार र धाराहरू विभाजित छन्। तर मुख्य लक्ष्य भनेको सर्वहारा वर्गको मुक्ति र वैज्ञानिक समाजवादतर्फको यात्रा नै हो। हाम्रो आन्दोलनलाई फुट र अवसरवादले कमजोर बनाएको यथार्थलाई आत्मसात् गर्दै, हामीले संघर्षको सहि कार्यदिशा अपनाउनु पर्ने हुन्छ। नेपालमा दश वर्षे जनयुद्धको उच्चाइले देखाएको सम्भावना र प्राप्त उपलब्धिहरूलाई सही कार्यान्वयन गर्न नसक्दा आजको अस्थिरता र त्यसको मूल नेतृत्वको आलोचना भएको हो। तर, हामीले इतिहासबाट शिक्षालिँदै क्रान्तिकारी मार्ग नछाड्ने प्रणभने गर्नुपर्छ।हामीलाई संसदीय व्यवस्थाको सीमिततामा नअड्काई, जनवादीक्रान्ति सम्पन्नगर्दै वैज्ञानिक समाजवादमा प्रवेश गर्ने लक्ष्यमा अघि बढ्नुपर्छ। माओले भन्नुभएकोजस्तै, “स्पष्टता, सत्यता, र क्रान्तिकारी मार्गबाट मात्र परिवर्तन सम्भव छ।“माओ दिवस मनाउनुको अर्थ कर्मकाण्डी बन्नु नभै यस अवसरमा सबै क्रान्तिकारी कमरेडहरूलाई शुभकामना दिनु भनेको क्रान्तिको निरन्तर यात्रामा सहभागी हुन अपिल पनि हो । जुटबाट मात्र होइन, संघर्ष र रुपान्तरणबाट हुन्छ भन्ने सत्यलाई आत्मसात् गर्दै, नयाँजनवादी क्रान्तिको दिशामा अघि बढने अपिल थियो ।


 


२०८१ पुष २१ १४:३८ बजे

प्रतिक्रिया