नाउँ सुन्दै कम्युनिष्टहरुको फिल्मजस्तो लाग्ने यो फिल्म वास्तवमा कम्युनिष्टहरुको फिल्म नभएर भारतमा रहेका थुप्रैथरि कम्युनिष्टहरुमध्ये एकथरि कम्युनिष्टहरुको गतिविधिलाई विषय बनाइएको फिल्म रहेछ । यस फिल्ममा आदिवासी क्षेत्रमा क्रियाशील नक्सलवादी कम्युनिष्ट समूहका छापामार सिपाहीहरु र आदिवासी गाउँलेहरुमाथि अन्यायमाथि अन्याय थोपर्ने सरकारी प्रतिनिधिका रुपमा त्यहाँ रहेका पुलिस र रेन्जरहरुको क्रियाकलापलाई देखाइएको छ । तर छापामार सिपाहीहरुको समर्थनमा यस फिल्मले प्रष्टसँग केही कुरा पनि भन्दैन । बरु समाजमा शोषण, उत्पीडन र अन्याय–अत्याचार निर्मूल गर्न खोज्ने कम्युनिष्टहरुको हिंसात्मक शैलीलाई विरोध जनाउने पात्रलाई भने यस फिल्मले एउटा असल चरित्रको प्रमुख पात्रको रुपमा उभ्याएको छ ।
गगनबिहारी बोरातेको निर्देशनमा बनेको फिल्म लाल सलाममा अभिनय गर्ने थुप्रै कलाकारहरु मूल धाराका हिन्दी फिल्महरुमा प्रायः नदेखिने कलाकारहरु रहेका छन् । केही ब्यावसायिक फिल्ममा समेत खेलेर आम चलचित्रका दर्शकहरुबीच पनि चिनिने कलाकारहरुमा शरद कपुर र नन्दिता दास दुई जनामात्र यस फिल्ममा रहेका छन् । यी दुवै कलाकारहरुले फिल्म लाल सलाममा झण्डै झण्डै नायक नायिकाकै जस्तो भूमिकामा अभिनय गरेका छन् । नन्दिता दासले आदिवासी युवती ‘रुपी’को भूमिकामा र शरद कपुरले शहरमा डाक्टर पढ्दै गरेको तथा पढिसकेर डाक्टर भएपछि गाउँमै फर्किएर गाउँलेहरुको उपचारमा सेवारत आदिवासी युवक ‘कन्ना’को भूमिकामा अभिनय गरेका छन् ।
फिल्म लाल सलामको कथा कान्दोडी गाउँको कथा हो । आदिवासीहरुको गाउँ कान्दोडी जंगलको बीचमा रहेको एउटा सानो गाउँ हो । यस गाउँमा धेरैजसो मजदूरी गरेर खाने आदिवासीहरु बस्छन् । धेरैजसो अन्य गाउँहरुमा जस्तै त्यहाँ पनि खेती त गरिन्छस तर वास्तविक किसानहरु जमिनका मालिक छैनन् । जमिन्दार र सरकारी प्रतिनिधिसमेत बनेर जमिन्दारको पक्षमा काम गर्ने र किसानहरुलाई ठग्ने पटवारीहरु त्यहाँ छन् । उनीहरु आदिवासी किसानहरुलाई ठगिरहन्छन् । यस प्रक्रियालाई चलचित्र लाल सलाममा छोटकरीमा देखाइएको छ । जमिन्दार र पटवारीले किसानहरुमाथि गर्ने गरेको अन्यायभन्दा सरकारको तर्फबाट जंगलको सुरक्षा गर्ने जिम्मा लिएर बसेको रेन्जर र प्रहरी चौकीको इन्स्पेक्टर देशपाण्डेले गर्ने गरेका अन्याय तथा अत्याचार बढी पीडादायी देखिन्छ । चलचित्र लाल सलाममा तिनै दुई पात्रहरु वनको रेन्जर र थानाको इन्स्पेक्टरले गरेको अत्याचारले नै चलचित्रको कथालाई अघि बढाएर एउटा टुङ्गोमा पुर्याउन परिणामदायी भूमिका खेलेको छ ।
चलचित्रको शुरुमा आदिवासीहरुको गाउँको नजिकै एक जत्था बन्दूकधारी ‘क्रान्तिकारीहरु’लाई देखाइएको छ । त्यस जत्थाको नेता आदिवासी गाउँलेहरुलाई भाषण सुनाउँदै छ । आफ्नो भाषणमा ऊ विद्यमान व्यवस्थाका खराबी र सरकारी अत्याचारको कुरा सुनाउँछ, अनि ऊ भन्छ– “हाम्रो नक्सलवादी पार्टी सरकारसँग लड्न आएको छ । तपाईंहरु पनि सरकारसँग लड्न सक्नुहुन्छ । तर तपाईंहरुसँग आत्मविश्वासको कमी छ । त्यो आत्मविश्वास हामी दिन्छौं ।”
नक्सलवादी नेताले गाउँलेहरुलाई भाषण सुनाएर आत्मविश्वास बन्दूकबाट आउँछ भन्ने कुरा बताउँछ । यो भाषण कामबाट फर्किएको ‘घिसु’ले ध्यान दिएर सुनेको हुन्छ । ऊ कान्दोडी गाउँको बासिन्दा हो, नायिका रुपी र कन्नाको आफन्त हो । त्यसपछि ऊ ‘लाल सलाम ’ भनेर नारा लगाउने नक्सलवादीहरुप्रति सहानुभूति राख्ने व्यक्तिमा फेरिन थाल्छ । तर डाक्टरी पढिरहेको कन्नाले घिसुलाई नक्सलवादीहरु ठीक छ्रैनन्, उनीहरुको बाटो हिंसाको बाटो हो, त्यस बाटोमा लाग्नेलाई रक्तपातबाहेक केही हात लाग्दैन भन्ने बुझाउने प्रयत्न गर्छ । कन्नाको विचारमा कानूनी र वैधानिक बाटोबाटै समाज र ब्यबस्थाका खराबीहरुसँग लड्नुपर्छ भन्ने कुरा व्यक्तिन्छ । तर यो विचार मनग्ये चित्तबुझ्दो, तर्कपूर्ण र गम्भीर रुपले चलचित्रमा आएको छैन । त्यसैले पनि दुईटा अलग अलग दुर्घटनाहरुको परिणामस्वरुप घिसु र कन्नाकी प्रेमिका रुपी दुवै जना नक्सलवादी पार्टीको सेनामा भर्ना हुन पुग्छन् । वन कार्यालयअन्तर्गत जंगलमा आदिवासी गाउँलेहरुलाई सरकारी काम गराइन्छ । उनीहरुलाई काम गरेपछि खातामा औंठाको छाप लगाउन लगाइन्छ । तर ज्याला दिर्इँदैन । चार दिनसम्म कामको ज्याला नपाएपछि घिसुले वन अधिकारीहरुसमक्ष विद्रोह गर्छ । मंजुरी नपाए म ल्याप्चे ठोक्दिनँ भनेर घिसुले भनेपछि उसलाई रेन्जरकहाँ पुर्याइन्छ । रेन्जरले ढोका थुनेर कोठाभित्र घिसुलाई मरणासन्न हुनेगरी पिट्छ । कुटाई खाँदाखाँदै कसैगरी उम्केर घिसु जंगलैजंगल भाग्छ र नक्सलवादीहरुको छापामार समूहमा पुग्छ । त्यसपछि घिसु स्वयं नक्सलवादी भएर निक्लन्छ ।
त्यस्तै रुपी एक दिन आफ्नो गाईवस्तु चराएर जंगलको बाटोबाट घरतिर आइरहेकी हुन्छे । बाटोमा पुलिस चौकीको इन्स्पेक्टरसँग उसको जम्काभेट हुन्छ । इन्स्पेक्टरले उसलाई एउटा निहुँ पारेर गाडीमा राख्छ र हातपात गर्न खोज्छ । रुपी भाग्छे । आखिरमा रुपीलाई त्यो इन्स्पेक्टरले बलात्कार गर्छ । त्यसपछि रुपी नक्सलवादीहरुको छापामार समूहमा पुग्छे । नक्सलवादी भएर निक्लन्छे ।
ती दुई दुर्घटनाहरुलाई फिल्म लाल सलाममा सोझा आदिवासीहरुमाथि सरकारी कर्मचारीहरुले गर्ने चरम ज्यादतीको रुपमा देखाइएको छ । त्यस ज्यादतीविरुद्ध लड्न घिसु र रुपीले नक्सलवादी छापामार हुने विकल्प रोजेका छन् । त्यसपछि आफ्नो छापामार अभियानकै क्रममा घिसुले छापामार समूहको सहयोगमा रेन्जरलाई हत्या गरेर बदला लिन्छ भने रुपीले पनि बलात्कारी, रक्स्याहा र भ्रष्टाचारी प्रहरी इन्स्पेक्टरको हत्या गरिदिन्छ ।
फिल्मको अन्त्यतिर सरकारी सेना र छापामारबीच दोहोरो गोली हानाहान हुँदा घिसु मारिन्छ । डाक्टर कन्नालाई यो थाहा हुँदैन । ऊ गाउँमै उपचार सेवामा संलग्न रहेको छ । ऊ पनि एक दुईपटक नक्सलवादी समूह र त्यसको नेता राजैयाको फन्दामा पर्छ । त्यहाँ पनि ऊ हिंसात्मक संघर्षको विरोधमा वैधानिक संघर्षको पक्ष लिएर कुरा गर्छ । दुईथरिको कुरा मिल्दैन तर पनि नक्सलादीहरुले डाक्टर कन्नालाई कारवाही गर्दैनन् । उसलाई शत्रुपंक्तिमा राख्दैनन् । फरक विचारको तर इमान्दार मानिसको रुपमा कन्नालाई नक्सलवादीहरुले राम्रै व्यवहार गरेको देखाइएको छ । लाल सलाम चलचित्रमा देखाइएका नक्सलवादीहरु धेरै कुरामा यहाँका माओवादीहरुजस्ता देखिए पनि फरक विचारलाई सम्मान गर्ने कुरामा यहाँका माओवादीहरुभन्दा असल चरित्रका क्रान्तिकारीहरुजस्ता देखिन्छन् । चलचित्रको अन्त्यमा नक्सलवादी बनेकी नायिका रुपी र उसको प्रेमी डाक्टर कन्नाको भेट भएको छ । त्यस भेटमा उनीहरुले आपसी प्रेम व्यक्त गरेका छन् । तर दुवैले आ–आफ्ना फरक विचारमा चाहिँ सम्झौता गरेका छैनन् । नायिका रुपीले डाक्टर कन्नालाई एउटा पत्र लेखेर महान् उद्देश्यका लागि प्रेमलाई पनि बलिदान गर्ने कुरा बताएकी छे । त्यही पत्र पढेपछि नायक अर्थात् डा। कन्ना उदास मनस्थितिमा आफ्नो बाटो लाग्छ भने नायिका रुपी आफ्नो बाटो लाग्छे । यसरी चलचित्र लाल सलामको समाप्ती भएको छ । यस चलचित्रमा कथा भन्ने काम भएको छ, तर दर्शकलाई विचार थोपर्ने कामचाहिँ भएको छैन । मेरो विचारमा चलचित्र लाल सलामको सबभन्दा राम्रो पक्ष यही नै हो ।
सुरेश द्वादेशिवायरको पटकथामा बनेको यो चलचित्र मुनाफामुखी ब्याबसायिक चलचित्र होइन । यो यथार्थवादी ढाँचाको बेग्लो चलचित्र हो । यस चलचित्रमा हृदयनाथ मंगेशकरको संगीतले दर्शकलाई चलचित्रमा केन्द्रित हुन मद्दत पुर्याएकै छ । तर डाक्टर कन्ना बनेका शरद कपुर र रुपी बनेकी नन्दिता दासले जंगलमा गाएका दुईटा गीतहरु चाहिँ मुनाफामुखी चलचित्रका जस्ता भएका छन् । अनावश्यक गीतहरु नराखेर कथाको विषयलाई अझ तर्कपूर्ण र गम्भीरतापूर्वक देखाउन सकेको भए यो फिल्म अझ सुन्दर कलात्मक फिल्म हुन सक्थ्यो । त्यस्तो उत्कृष्ट फिल्म नभए पनि हाम्रा नेपाली दर्शकहरुले हेर्नुपर्ने यो एउटा सार्थक फिल्म नै हो ।
सुशिल सापकोटा दायित्व अनलाइन वाट
प्रतिक्रिया