काठमाण्डौ। यहि मसिर १७ गते काठमाण्डौमा ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बीगेसोले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरुबीच “गोर्खा भर्ती र राष्ट्रिय सार्वभौमिकता” विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गर्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा नेपाल, भारत, बंग्लादेश, जर्मनी, टर्की र द नेदरल्याण्डस्का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
दरबारमार्गस्थित होटेल उडल्याण्डमा सम्पन्न कार्यक्रमका सहभागीहरुले बेलायत र भारतले नेपाली नागरिक आफ्नो सेनामा भर्ती गरेर नेपालको सार्वभौमिकतामाथि धावा बोलिरहेको र आजको एक्काइसौं शताब्दीको विश्वमा नेपाल जस्तो स्वतन्त्र सार्वभौम मुलुकले राष्ट्रिय स्वाभीमानमा धक्का पुर्याउने गरी गोर्खा भर्तीका नाममा आधुनिक दासत्व कायम राखेकोमा आश्चार्य प्रकट गरे ।
विश्वका कुनै पनि देशमा प्रचलनमा नरहेको सैन्य भर्ती प्रणाली नेपाल, भारत र बेलायत बीच अस्तित्वमा रहनु र त्यसमा पनि बेलायतजस्तो आफूलाई प्रजातन्त्रको जननी दाबी गर्ने राष्ट्रले नेपाली नागरिकलाई अहिले पनि सिंगापुर र ब्रुनाइमा तस्करी गर्ने कार्य मानवसभ्यता माथिको कलंक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल गौरव, असमान गोर्खा भर्ती सम्झौता र त्यसले निम्त्याएका समस्याहरु विरुद्ध बीगेसोले नेपालको सडकदेखि सदन हुँदै बेलायतसम्म खेलेको भूमिकाको सह्राना गर्नु भयो । आजको युगमा नेपाल जस्तो स्वतन्त्र राष्ट्रले गोर्खा भर्तीका नाममा आफ्ना नागरिक भारत, बेलायतको सेना र सिंगापुर–बु्रनाइको सुरक्षा निकायमा पठाउनु गलत र राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा बीगेसोका सभापति पदमसुन्दर लिम्बूले “गोर्खा भर्ती र राष्ट्रिय सार्वभौमिकताका सवालहरु ” (गोर्खा गोर्खा रिक्रुइटमन्ट एण्ड इस्यूज अफ न्याश्नल सोभरन्टी) विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल भएको थियो । गोर्खा भर्तीको इतिहास, सन् १९४७ को असमान त्रिपक्षीय गोर्खा भर्ती सम्झौता, गोर्खा भर्तीका कारण नेपालको राष्टिय स्वाभीमानमा पुगेको क्षति, गोर्खा भर्तीका नाममा बेलायतले गैरकानूनीरुपमा सिंगापुर र ब्रुनाइमा गरिरहेको नेपाली युवाहरुको खुलेयाम तस्करी र बेचबिखन, नेपालजस्तो असंलग्न राष्ट्रका युवाहरुलाई आफ्नो सेनामा भर्ती गरेर बेलायत र भारतले नेपालका मित्रराष्ट्रहरु विरुद्धको लडाइमा गरिरहेको प्रयोग, बेलायती, भारतीय सेनामा रहेका गोर्खाहरु र सिंगापुर पुलीस र ब्रुनाइ गोर्खा रिजर्व युनीटमा काम गर्ने गोर्खाहरुले बेहोरिरहेको पीडा, विभेद, शोषण, उत्पीडन, उनीहरुको मानवअधिकार हनन लगायतका विषय कार्यपत्रमा समेटिएका थिए । गोर्खाहरुमाथि जारी विभेद, शोषण, उत्पीडनका साथै सन् १९४७ को असमान त्रिपक्षीय गोर्खा भर्ती सम्झौता खारेजीका लागि बीगेसोका तर्फबाट आफूद्वारा नेपालको सर्वोच्च अदालतमा दायर मुद्दा र सो मुद्दामा सम्मानित अदालतबाट जारी भएको निर्देशनात्मक आदेश बारे समेत कार्यपत्रमा उल्लेख थियो ।
कार्यपत्रलगायत गोर्खा भर्ती र गोर्खाहरुको समस्याबारे सहभातीहरुका तर्फबाट उठेका प्रश्नहरुको जवाफ बीगेसोका वरिष्ठ सल्लाहकार परी थापाले दिनु भयो । सिंगापुर पुलीस र ब्रुनाइ गोर्खा रिजर्व यूनिटमा गोर्खाहरुको प्रवेश प्रक्रियाबारे उठेका प्रश्नको जवाफमा वरिष्ठ सल्लाहकार थापाले प्रष्ट पार्नुहुँदै ती देशहरुले आफ्नो सुरक्षा निकायमा नेपाली नागरिक भर्ना गर्ने गरी कुनै सम्झौना नगरेको तर बेलायतले नै आफ्ना पूर्व उपनिवेश राष्ट्र सिंगापुर र ब्रुनाइसँग वर्सेनि लाखौ डलर लिएर गैरकानूनीरुपमा गोर्खाहरुको खुलेयाम तस्करी गरिरहेको बताउनु भयो । पछिल्लो रसिया–युक्रेन युद्धमा समेत गोर्खा (नेपाली हरु) रसिया र युक्रेन दुवै देशको पक्षमा लड्ने अवस्थामा कसरी पुगे भन्ने प्रश्नमा वरिष्ठ सल्लाहकार रसियन र युक्रेनी सेनामा आफूखुसी जाने नेपालीहरु रहेको र ती दुवैदेशसँग नेपालले आफ्ना नागरिक उनीहरुको सेनामा भर्ना हुने गरी कुनै सम्झौता नगरेको बताउनु भयो ।
कार्यक्रममा बीगेसोका कानूनी सल्लाहकार अधिवक्ताद्वय देवकुमार मोक्तान र फडिन्द्र कार्कीले बीगेसोको कानूनी लडाइ र प्राप्त उपलब्धिबारे प्रस्ट पारेका थिए । अधिवक्ता कार्कीले बीगेसोका तर्फबाट सर्वोच्च अदालतमा दायर मुद्दामा सम्मानित अदालतले सरकारका नाममा गोर्खा भर्ती सम्झौता पुनरवलोकनका लागि निर्देशनात्मक आदेश जारी गरेको र सो आदेश कार्यान्वन प्रक्रियामा प्रवेश गरेको बताउनु भयो । नेपालको अदालतबाट अधिकार क्षेत्र ग्रहण गर्दै पहिलो पटक सिंगापुर र ब्रुनाइको समस्यालाई प्रवेश दिलाउने काम भएको भनाइ अधिवक्ता कार्कीको थियो । अधिवक्ता देवकुमार मोक्तानले बीगेसोले सन् १९४७ को गोर्खा भर्ती सम्झौताको खारेजीका लागि मुद्दा दायर गरिएको बताउनु भयो ।
बीगेसो सिंगापुर विभाग प्रमुख पलबहादुर घर्तीले बेलायतले आफूहरुलाई बेलायती सेनामा भर्ती गर्ने गरी छनौट गरेर पछि सिंगापुर पुलीसमा पठाएको, सिंगापुर पुलीसमा रहँदा तलब, सेवा सुविधा, पेन्शनलगायतमा चरम विभेद र असमाता बेहोरेको र सिंगापुर पुलीसमा कार्यरत गोर्खाहरु र उनीहरुका परिवारले अहिले पनि सो समस्या बेहोरिरहेको बताउनु भयो ।
कार्यक्रममा भारत, बंग्लादेश, जर्मनी, टर्की र द नेदरल्याण्डस्का सहभागीहरुले यस अघि गोर्खाहरुको नाम सुने पनि गोर्खा भर्ती प्रणाली र त्यसले सिर्जना गरेका विविध समस्याहरुबारे पहिलो पटक विस्तृतमा जानकारी पाउँदा अचम्म लागेको बताए । नेपाल जस्तो स्वतन्त्र मुलुकका नागरिक अरु मुलुकको सेनामा भर्ती हुनु कुनै पनि कोणबाट न्यायसंगत नरहेको र गोर्खा भर्ती प्रणाली आधुनिक दासत्वका रुपमा रहेको बताए । गोर्खाहरुको न्यायिक आन्दोलन र सार्वभौम अधिकार प्राप्तिको लडाइमा नैतिक समर्थन रहने बताए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता, सीताराम तामाङ, चक्रपाणि शर्मा, बीगेसोका सल्लाहकार चन्द्र वाम्वुले राई, सिंगापुर, ब्रुनाइ र भारतका पूर्व गोर्खाहरुको सहभागिता रहेको विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बूले एक वक्तव्यले जनाएका छन।
प्रतिक्रिया