हानियाको एकाएक तर नियोजित हत्या पछि अब के होला ?

देशको स्वाधीनता, स्वतत्रता अतिक्रमकका बिरुद्ध गुमेको देश फिर्ताका लागि बिगत ७६ बर्षदेखि पेलेस्टिनी जनता अनबरत ललिडरहेका छ्न् र बिश्व जनमत पनि उनीहरुकै पक्षमा रहेको छ । त पश्चिमा साम्राज्यबादी शक्तिहरुको आडधाप र उक्साहटमा पेलेस्टिनीहरुलाई जसरी पनि सखाप पार्ने ध्याउन्नमा इजरायल लागेको छ

bimbonline लोकनारायण सुवेदी
२०८१ साउन २१ ०९:३२ बजे

पेलेस्टिनको प्रतिरोधी संगठन, धार्मिक आन्दोलन तथा शासक दलका नेताकारुपमा इस्माईल हानिया हमासमा एक सर्ब स्वीकार्य नेता मानिन्थे । अब उनको इजरायलद्वारा गरिएको  नियोजित हत्या पछि प्यालेस्टिनी र मध्यपूर्बको स्थिति के होला एउटा अनिश्चयको घडी पैदा भएको छ । कतिपयले पेलेस्टिनीहरुको यस्तो स्वीकार्य राजनीतिक एकताको सम्भावना समाप्त भएको सन्देह गरेका छन् । हानियाले गाजामा मात्र होइन,तुर्की, इरान र कतारमा पनि प्यालेस्टिनीहरुको राजनीतिक प्रतिनिधि गर्दै आएको देखिन्थ्यो । तर यतिबेला हमासमा एउटा ठूलो रिक्तता छाएको छ भने उनीसरहको सर्बमान्य उच्चाईको अर्को प्रभावशाली नेता अहिले देखापर्न सक्ने नदेखिएको बिश्लेषकहरुको प्रारम्भिक निचोड छ । उसै पनि गाजा पेलिस्टिनीहरुको राजनीतिक र भौगोलिक दुइ भागमा बिभाजित छ । गाजा र पश्चिमी किनारा । त्यहाँ अनेक पेलेस्टिन समूहहरु प्नि बिभाजित अबस्थामा रहेका छन् । 

आपसका मतभेदहरुलाई मिलाएर या थाँती राखेर भए पनि एक भएर साम्राज्यबादका बिरुद्ध लड्न र आफ्नो भबिष्य सुरक्षित तुल्याउन हालै चीनको राजधानी बेइजिङ्गमा हमास, फतह र पेलेस्टिनी इस्लामिक जेहाद समेत एकताबद्ध भएर लड्न  तयार भएका १४ प्यालेस्टिनी समूहहरुको एकता अब के हुने हो भन्ने गम्भीरतम प्रश्न हानियाको हत्यापछि खडा भएको छ । इस्माईल हानियाको लोकप्रियता र बिश्वसनीताका कारणले पेलेस्टिनीका  सबै समूह र गुटहरु हिजो एकजुट हुन सकेका थिए । तर अब यो एकता टिकाउन कसरी सम्भव हुन्छ भन्ने कुरा पनि देखा परेको छ । किनिक बिभाजित पेलेस्टिनी समूहहरुका बीच ब्यापक राजनीति तथा बैचारिक बिरोधाभास पनि रहेकै छ र त्यो कुनै पनि बेला हिँसक झडपकोरुपमा समेत देखापर्नसक्ने खतरा पनि छ । भनिन्छ पीएलओले धेरैजसो पेलेस्टिनीहरुको प्रतिनिधित्व गर्दछ । त्यसले पेलेस्टिन र इजरायल दुइ राज्यको मान्यतालाई पनि स्वीकार गर्दछ । अर्कोतिर हमास इजरायलको अस्तित्वलाई पूरै अस्वीकार गर्दै आएको छ । हमास र पेलेस्टिनी इस्लामिक जेहादले १९८० को दशकमा संगठन निर्माण गरेपछि इजरायलको अस्तित्वको अधिकारलाई हिँसक चूनौति दिदै आएका हुन् ।  यद्यपि हमास र इस्लामिक जेहाद बेैचारिकरुपले भिन्न छन् ।

अहिलेसम्म पनि इस्लामिक जेहादलाई चरमपन्थी संगठन मानिन्छ । हमासलाई भने राजनीतिक बैकल्पिक शक्तिकारुपमा मान्न थालिएको छ । हमासका नेताहरुले खुमेनीको अखिल इस्लामबादको साटो इस्लामी ढाँचामा पेलेस्टिनी राष्ट्रबादलाई बढावा दिएको देखिन्छ । हमासले इजरायली सैन्य तथा नागरिक दुबै ठेगानामा हमला गरेको छ ।२००५ मा इजरायली सेना फिर्ता गएपछि हमासलाई गाजामा कामकाज चलाउने बढी स्वतन्त्रता पनि प्राप्त भएको छ । इरान र हिजबुल्लाको मद्दतले हमास लडाकु सेनाकारुपमा आफुलाई बिकसित र  गठन पनि गरेको छ । त्यसले हजारौं रकेटले इजरायली शहरहरुमाथि हमला गर्ने तथा गाजाको सीमामा घुसपेठ गर्ने क्षमता पनि बनाएको छ । हमासलाई बिभिन्न उग्रबादी इस्लामी समूहरुमध्ये सबैभन्दा ठूलो एउटा समूह पनि मानिन्छ । भनिन्छ हमास इस्लामिक प्रतिरोध आन्दोलनका लागि अरबी संक्षिप्त नाम हो, त्यसको आरम्भ १९८८ मा पश्चिमी किनारा र गजापट्टीमा गरिएको इजरायली अतिक्रमण र कब्जाका बिरुद्ध पहिलो पेलेस्टिनी इन्तिफादा अर्थात बिद्रोहको शुरुवात गरेपछि भएको थियो । त्यसको घोषणापत्रका अनुसार यो इजरायली कब्जाका बिरुद्ध इजरायलको बिनाशका लागि प्रतिबद्ध रहेको छ । अर्कोतिर पेलेस्टिनी पश्चिम किनाराको सत्तामा रहेको पेलेस्टिनी बिकास प्राधिकरणले भने इजरायलको अस्त्विलाई मान्यता  दिन्छ । पेलेस्टिनी राजनीतिक नेतृत्व पश्चिमी किनारामा महमूद अब्बाको फतह पार्टी र गाज पट्टीमा नियन्त्रण राखिरहेको त्यसको इस्लामी उग्रबादी भनिने गरेको हमाससँग गहिरो मतभेद र बिभाजन रहेकै छ । यसको प्रष्ट अर्थ यही हुन्छ कि दुइ–राष्ट्र समाधानको बिषयमा पेलेस्टिनका दुइ प्रमुख  राजनैतिक शक्तिहरुका बीच बिमति र बिभाजन छ ।

इजरायलमा पनि पेलेस्टिनीकारुपमा अलग्गै राष्ट्रको मान्यताको बिषयलाई लिएर समर्थन त छ तर त्यहाँका दक्षिणपन्थी पार्टीहरु अहिले  त्यस समर्थनलाई कमजोर तुल्याउन लागि परेका छन् । १९९३ मा सम्पन्न ओस्लो सम्झौतादेखि इजरायल र पेलेस्टिनीका बीच सह–अस्तित्व तथा शान्तिको अपेक्षा जाग्न थालेको थियो ।तर त्यसको दुइ बर्षपछि इजरायलका प्रधानमन्त्री इत्ज्याक रबीनको तेल अभियानमा एउटा शान्ति मार्चका बेला हत्या भएको थियो । त्यो एकजना चरमपन्थी इजरायली यहूदीले गरेको थियो ।उनी पेलेस्टिनीसँग शान्ति सम्झौताको बिरुद्ध थिए । इजरायलको स्थापनामा पेलेस्टिनीको भन्दा बढी भाग जमिन इजरायललाई दिइएको थियो । जबकि जनसंख्या बढी हुँदाहुँदै पनि पेलेस्टिनीहरुलाई कम जमिन दिइएको थियो । यस्तो षडयन्त्रकारी र असन जमिन  र राष्ट्र बिभाजनका कारण उत्पन्न उत्पन्न हिँस्रक संघर्षमा जीत हासिल गरेर त्यसपछि इजरायलले झन बढी जमिन प्राप्त गरेर पेलेस्टिनी क्षेत्र अतिक्रमण र बिस्तार गरेको थियो । त्यसले गर्दा पनि त्यसपछि इजरायलको स्थिति मध्यपूर्बमा झन बलियो बन्नपुग्यो । अनि मिश्र, सीरिया र जोर्डनको जमिन पनि उसले कब्जा जमायो । युद्धमा जितेको जमिन इजरायलको कुनै पनि सरकारले फिर्ता गर्ने हिम्मत गर्न सक्तेन । यो उसका लागि रणनैतिक तथा आर्थिकरुपले पनि अत्यन्तै लाभकारी र प्रभावकारी स्थिति बनेको छ । 

आजभन्दा अगाडि अर्थात २००६ मा इस्लामबादी समूह हमासले गाजा क्षेत्रमा निर्वाचनमा बिजय हासिल गर्यो । त्यसको एक बर्षपछि गाजामाथि पूरै नियन्त्रण गर्नपुग्यो । अनि पेलेष्टिनी प्राधिकरणलाई त्यस क्षेत्रबाट पूरै लखेटिदियो । त्यसले गर्दा पनि पेलेस्टिनी समस्या अझ उल्झियो र गहिरो बन्न पुग्यो । अनि त्यहाँको लोकतान्त्रिक मानिने शक्तिहरु पनि कमजोर हुन पुगे । अन्तर्राष्ट्रिय स्तरमा अहिले पनि धेरैजसोले हमासलाई ब्यापकरुपमा एउटा आतंकबादी समूह नै भन्ने गर्दछने । उनीहरुको आरोप के छ भने हमास समस्याको समाधान सम्बादभन्दा बढी संघर्ष (इन्तिफादा)लाई दिने गर्दछ । एकथरीको भनाइछ कि इन्तिफादा अर्थात पेलेस्टिनागरिकहरुको हिँस्रक प्रतिरोधले गर्दा पनि त्यस क्षेत्रमा अत्यन्तै तनाब बढेको छ । त्यहाँ ब्यापक बिरोध, प्रदर्शन, आत्मघाती बम बिस्फोटन अनि इजरायली सुरक्षा शक्ति तथा प्यालेस्टिनी अतिबादीहरुका बीच सशस्त्र टक्करकारुपमा यो देखा पर्दछ । संयुक्त राष्ट्र संघले पनि पश्चिमी किनारा र गाजालाई इजरायलद्वारा अतिक्रमित एक क्षेत्र मान्दछ । ती  दुबै क्षेत्रको सञ्चालन प्रतिद्वन्द्वी पेलेस्टिनी प्रशासनद्वारा गर्ने गरिएको छ । पश्चिम किनारा जसमा पूर्बी जेरुसलेम पनि समावेश छ, र गाजालाई बिभिन्न देशहरु र संस्थाहरुद्वारा पेलेस्टिनकोरुपमा मान्यता दिइसकेका छन् । जबकि त्यसलाई इजरायलले भने स्वीकार गरेको छैन ।

अनि कतिपय देशहरुले इजरायलको अस्तित्वलाई नै स्वीकार गर्दैनन् र मान्यता दिदैनन् । उनीहरु पश्चिमी किनारा, जेरुशलेम, गाजा  र इजरायललाई पेलेस्टिन नै भन्ने गर्दछन् । आज बिश्वमा पश्चिमी किनारा र पूर्बी जेरुशलेमको भबिष्य तथा इजरायल र पेलेस्टिीनको संघर्षको अत्यन्तै कठिन र जटील मुद्दा मध्येको एक मुद्दा बनाइएको छ । १९६७ देखियता इजरायलले पश्चिमी किनारा तथा पूर्बी जेरुशलेममा  झण्डै सात लाख यहूदीहरुका लािग १४० भन्दा बढी बस्तीहरु बसालिसकेको छ ।पश्चिमी किनारा र पूर्बी जेरुशलेममा पेलेस्टिनीहरु १९६७ देखि ने इजरायलको जबर्जस्ती कब्जामा छन् । कुनै पनि भावी शान्ति सम्झौता अन्तरगत ती सबै अनधिकृत बस्तीहरु हटाइनु पर्दछ भन्ने ठूलो बिश्व जनमत छ । तर इजरायल पक्ष के जिद्दी गर्दै आएको छ भने उसलाई पश्चिमी किनारा  र गाजामा पूर्ण सुरक्षा नियन्त्रण कायम राखिनु पर्दछ । बास्तबमा आफ्नो देशको स्वाधीनता, स्वतत्रता अतिक्रमकका बिरुद्ध गुमेको देश  फिर्ताका लागि बिगत ७६ बर्षदेखि पेलेस्टिनी जनता अनबरत ललिडरहेका छ्न्  र बिश्व जनमत पनि उनीहरुकै पक्षमा रहेको छ । त पश्चिमा साम्राज्यबादी शक्तिहरुको आडधाप र उक्साहटमा पेलेस्टिनीहरुलाई जसरी पनि सखाप पार्ने ध्याउन्नमा इजरायल लागेको छ र नश्लबादी क्रूर र घोर अमानबीय नरसंहार मच्चाइरहेको छ । यसको अन्त्य हुनै पर्दछ । त्यहाँ स्वाधीन प्यालेस्टिनको अधिकार स्थापना हुनै पर्दछ र पेलेस्टिनीहरु आ–आफ्ना अहं र अहंकारलाई छोडेर आफ्नो देशको अखण्डता, स्वाधीता, सवतन्त्रता, शान्ति र समुन्नतिको निम्ति एकजुट हुनै पर्दछ । यसको कुनै बिकल्प नै छैन । उनीहरुको बिजय र सम्मान पनि त्यसरी नै मात्र हुन्छ । किनभने बिश्वभरीका साम्राज्यबादी दख्खल, हस्तक्षेप र सबै प्रकारका थिचोमिचो, दमन र दबाबका बिश्वका आम जनता एकछुट छन् र अझ सशक्त र प्रभावकारीरुपमा एकजुट हुुनै पर्दछ ।  


२०८१ साउन २१ ०९:३२ बजे

प्रतिक्रिया