निम्न पुँजीवादी अधैर्यताले मानिसलाई कि उग्रवामपन्थी कि दक्षिणपन्थी अवसरवादतिर ढल्काउछ-रामसिह श्रीस

bimbonline रामसिंह श्रीस
२०८१ असार २२ ०८:५१ बजे
रामसिंह श्रीस

पोहोर साल (२०८० वैशाख १८ गते) मे दिवसको अवसर पारेर तत्कालीन नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको घोषणा गरियो । यो एकतालाई कम्युनिस्ट क्रान्तिकारीहरु र वामपन्थी शक्तिहरुले सकारात्मक रुपमा लिएको पाइयो । तर तत्कालीन नेकपा (बहुमत) का केही साथीहरुले नेकपा (बहुमत) जीवित छ भनेर वक्तव्य निकाल्नु भयो । एकता प्रक्रियामा सामेल हुनु भएन । तर नेकपा (बहुमत) भन्ने अहिले अस्तित्व छैन । त्यसको केही समयपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट तत्कालिन नेकपा (बहुमत) पक्षका केही साथीहरुले नेकपा (माओवादी) बनाएको घोषणा गर्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अस्तित्वमा आएको ठीक एक वर्षपछि (२०८१ वैशाख १८ गते ) मे दिवसकै अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) को बीचमा एकता भयो । पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नै राखियो । यो एकता प्रक्रियामा पूर्व नेकपा (मशाल) का केही साथीहरु एकता प्रक्रियामा सामेल हुनु भएन भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केही साथीहरु पनि एकता प्रक्रियामा सामेल नभई श्रमिक कम्युनिस्ट पार्टी नेपाल गठन गर्नुभयो । यस लेखमा यिनै घटनाहरुको बारेमा संक्षेपमा चर्चा गर्न कोशिश गरिएको छ ।

सर्वप्रथम पार्टी एकता गर्ने सन्दर्भमा सम्बन्धित पार्टीहरुको बीचमा बहस छलफल भएको छ । यी तीन पार्टीहरुको राजनीतिक कार्यदिशाको बारेमा पनि एक अर्कालाई मूल रुपमा जानकारी नै थियो । जानकारी कै आधारमा पार्टी एकताको एजेण्डा राखेर छलफल भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को बीचमा पार्टी एकता सम्बन्धी वार्ता चल्दा छिटो भन्दा छिटो पार्टी एकता गर्न पर्दछ भन्ने कुराहरु नै बढी आउँथ्यो । तर पार्टी एकता गर्ने नै भइयो र संगठनात्मक प्रश्नमा छलफल प्रवेश गर्यो तव असन्तुष्टिहरु बाहिर आउन थाल्यो । पार्टी एकता भए पछि पहिलेको पदहरु यथावत रहन्नथ्यो र रहेन पनि । खास असन्तुष्टिहरु यहीबाट सुरु भए । पूर्व बहुमत जीवित छ भन्ने साथीहरुले त्यसलाई जीवित राख्न सकेनन् । अहिले नेकपा (बहुमत) भन्ने पार्टी अस्तित्वमा छैन । ती साथीहरुले नयाँ निर्माण भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विरोध त खुब गरे तर आफ्नो राजनीतिक कार्यदिशा के हो ? त्यो प्रष्ट पार्न सकेनन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर नेकपा (माओवादी) निर्माण गर्ने साथीहरुले पनि राजनीतिक गतिविधिलाई व्यापक बनाउन सकेको देखिएन । बरु अहिले त्यस पार्टीका मुख्य नेताहरु नै राजनीतिक मुद्दाहरुमा भन्दा पनि अन्य अराजनैतिक मुद्दाहरुमा फसेको खवर सुनिन्छ । कम्युनिस्ट आन्दोलन सही दिशामा बढेको देख्न चाहानेहरुको लागि यस्तो कुरा सुन्दा दुःख लाग्छ ।

अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) को बीचमा पार्टी एकता हुँदा पनि पूर्व नेकपा (मशाल) का केही साथीहरुले क. विमल शर्माको संयोजकत्वमा नेकपा (मशाल) पुनर्गठन गरेको वक्तव्य बाहिर आएको छ । उहाँहरु एकता प्रक्रियामा सामेल नहुनुको कारण बताउँदै क. विमल शर्माको तर्फबाट बाहिर आएको वक्तव्यमा भनिएको छ “भेलाले गलत सैद्धान्तिक, राजनीतिक र संगठनात्मक पद्धति अपनाएर नेतृत्व सहित बहुमत केन्द्रीय समिति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा समाहित हुनलाई विरोध गर्दछ । ” सैद्धान्तिक राजनैतिक प्रश्नमा मतभेद राख्नु स्वभाविक कुरा हो । तर नेतृत्व सहित केन्द्रीय समितिको बहुमतले पार्टी एकता गर्ने निर्णयलाई गलत संगठनात्मक पद्धति भन्नु सही हुन्न । का. सन्तबहादुरहरुको नेतृत्वमा केन्द्रीय समिति मात्र होइन राष्ट्रिय भेला गरेर त्यसको पनि बहुमतले पार्टी एकता गर्ने प्रस्ताव पारिर्त भएको छ । त्यसैले उहाँहरुले गलत संगठनात्मक पद्धति त भन्नै मिल्दैन । सैद्धान्तिक राजनीतिक प्रश्नहरुमा पनि मूल राजनीतिक कार्यदिशामा समानता छ, मिलेको छ । जस्तो यो दलाल , नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ता संसदीय व्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी क्रान्तिको खुटकिलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने कुरामा समान विचार नै छन् । क्रान्तिद्वारा नै यो उद्देश्य पूरा गर्न सकिन्छ भन्ने कुरामा पनि सहमति नै छ । मूल राजनीतिक कार्यदिशा मिलेपछि अन्य कुरालाई पार्टीमा छलफलको विषय बनाउन सकिन्छ, बहुमत अल्पमत बनाएर पनि पार्टी संचालन गर्नु पर्दछ । उहाँहरुले पार्टी एकताको लागि जुन दृष्टिकोण अगाडि सार्नु भएको छ त्यो दृष्टिकोण भनेको उहाँहरुले भन्दै आएको, मान्दै आएको सबै कुरा अरुले मानिदिनु पर्दछ । यसप्रकारको दृष्टिकोण भनेको संकीर्ण दृष्टिकोण हो । यस्तो दृष्टिकोणले पार्टी एकता कहिल्यै कोहीसँग पनि हुन्न । त्यसकारण यसप्रकारको दृष्टिकोणलाई परित्याग गरी क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरण र धु्रवीकरणमा सामेल हुन अनुरोध गरिन्छ ।

जुन दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता घोषणा गरियो त्यसै दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा केही साथीहरले का. पूर्णबहादुर सिंह ‘समरजंग’ को संयोजकत्वमा श्रमिक कम्युनिस्ट पार्टी नेपाल गठन गर्नु भएको छ । पार्टीमा विद्रोह गर्न, नयाँ पार्टी बनाउनु उहाँहरुको अधिकारको कुरा हो त्यसमा भन्नु केही छैन । तर उहाँहरुले जुन प्रणाली अपनाउनु भयो । त्यसले भने केही गम्भीर प्रश्नहरु उठाउँछ । २०८० वैशाख १७ गते मे डेको अवसर पारेर पार्टी एकता घोषणा गरियो । त्यसको ८ महिनापछि ४ पुष २०८० मा “पार्टीमा देखिएका जटिल समस्या समाधान” गर्न भनेर ७ बुँदे सुझाव पार्टी केन्द्रमा दिनु भएको थियो । त्यसमा उहाँले विभिन्न सुझाव दिने क्रममा महाधिवेशनको कुरा उठाउनु भएको छ । त्यस्तै अर्को असहमति पत्रमा पनि उहाँले विभिन्न बुँदाहरु मध्ये एउटा मुख्य आरोप “महाधिवेशनलाई अनिश्चिताको भुमरीमा धकेलेको” भनेर आरोप लगाउनु भएको छ । तर वास्तविकता यो हो कि जव पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्न थाल्यो । उहाँहरु पार्टीबाट अलग हुनुभयो । पार्टीको महाधिवेशनको सिलसिलामा हुने फोरमहरुमा आफ्ना कुराहरु राख्न आँट गर्नु पथ्र्यो । तर उहाँहरुले त्यसो गर्नु भएन । यो निम्न पुँजीवादी अधैर्यता हो । निम्न पुँजीवादी अधैर्यताले मानिसलाई कि उग्रवामपन्थी अवसरवादतिर कि दक्षिणपन्थी अवसरवादतिर ढकेल्छ ।

का. समरजंगहरुको भेलाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई अकर्मण्यतावादी, मिहिन तथा छद्म संशोधनवादी , सार संग्रहवादी एवं रुढीवादी भनेर आरोप लगाउनु भएको छ । उहाँहरुले पार्टीलाई त्यो आरोप लगाउन पाउनु हुन्छ । आरोप लगाएकोमा हामीलाई कुनै आपत्ति छैन । उहाँहरु क्रान्तिकारी भएर नेपालमा समाजवादी क्रान्तिको नेतृत्व गरेको देख्न पाइयोस् यही नै शुभकामना छ । तर उहाँहरुले आफ्नो राजनैतिक प्रस्तावमा उहाँहरुले चाहेको वैज्ञानिक समाजवादी क्रान्ति गर्नका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई जसरी बाधक देख्नु भएको छ र त्यसको खण्डन मण्डन गर्ने कुरामा जोड दिनु भएको छ भने राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बारे खासै चर्चा गर्नु भएको छैन । राजनीतिक प्रतिवेदनमा विश्व कम्युनिस्ट आन्दोलन चर्चा गर्ने र क्रान्तिकारी कम्युनिस्ट नेपालको भण्डाफोरमा जोड दिने तर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बारेमा खासै नबोल्नुले कतै उहाँहरुको “क्रान्तिकारी राजनीतिक कार्यदिशा” उतैतिर सोझिएको त होइन शंका गर्ने प्रशस्त आधार उहाँहरुको राजनीतिक प्रस्तावले दिएको छ । जब कि नेपालमा दलाल तथा नोकरशाही पुँजीपतिहरुको स्वार्थको हितमा काम गर्ने यिनै दुईवटा नामधारी कम्युनिस्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै हुन् । यी दुई वटा पार्टीको सक्कली स्वरुपबारे आम नेपाली श्रमिक जनतालाई प्रष्ट नगरेसम्म नेपालको कम्युनिस्ट आन्दोलन सही दिशामा अगाडि बढ्न सक्दैन । तर हाम्रा क्रान्तिकारी मित्रहरुको त्यतातिर ध्यान किन गएन ? यो विचारणीय प्रश्न छ ।

कुनै पनि पार्टी वा व्यक्तिको मूल्यांकन गर्दा के भन्छ ? र के गर्छ ? भन्ने कुरालाई आधार बनाउनुपर्दछ । यी दुईवटामा पनि के गर्छ ? भन्ने प्रश्न अथवा व्यवहार प्रधान हुन्छ । केहि वर्ष पहिले (वि.सं. २०६९) मा क. विप्लव र क. किरणहरुले प्रचण्डले कम्युनिस्ट आन्दोलनमा गद्दारी गर्यो भनेर तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरेर नेकपा–माओवादी बनाउनु भयो । त्यसको लगत्तै (वि.सं. २०७२ मा) का. किरणको नेतृत्वमा क्रान्ति हुन्न भनेर  विप्लवहरुले पुनः विद्रोह गर्नुभयो र नेकपा बनाउनुभयो ।  विप्लवको नेतृत्वको नेकपाले केही सशक्त विद्रोहका कुराहरु पनि गर्यो । तर अन्तमा गएर नेपाल सरकारसँग ३ बुँदे सम्झौता गरियो । त्यो तीन बुँदे सहमतिको दोस्रो बुँदामा भनिएको छ “नेपाल कम्युनिष्ट पार्टी आफ्नो सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्न सहमत भएको छ ।” आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा मात्र संचालन गर्ने भन्ने कुरा माक्र्सवादको संघर्ष सम्बन्धी नीति सम्मत छ कि छैन , यो प्रश्नको उत्तर सबै माक्र्सवादीहरुलाई थाहा भएकै कुरा हो ।  विप्लवले जनमत संग्रहबाट समाजवाद ल्याउने कुरा पनि गर्नुभयो । अहिले उहाँहरु प्रचण्डजीहरुसँग निकट हुनुहुन्छ । एउटै मोर्चा बनाउनु भएको छ र पार्टी एकताको पनि कुरा चलेको छ ।  विप्लवजीहरुले प्रचण्डहरुसँग पार्टी एकता गर्ने नगर्ने उहाँहरुको कुरा हो । उहाँहरुले प्रचण्डजीहरुसँग पार्टी एकता गर्नु हुन्छ भने उहाँहरुको कुरा हो । तर एउटा कुरा महत्वपूर्ण छ । प्रचण्डजीहरु आफ्नो लाइनमा स्पष्ट छन् । विप्लवजीहरुसँग अलग हुँदा प्रचण्डजीहरुको जे नीति थियो उहाँहरुले त्यही नीति अर्थात् राजनीतिक कार्यदिशामा निरन्तर अगाडि बढिरहनु भएको छ । तर  विप्लवजीहरु यु टर्न हुन भएको छ । त्यसैकारण उहाँहरुको इमान्दारिता हो भने आत्मालोचित भएर पार्टी एकता गर्दा हुन्छ । नत्र जे गरे पनि सबै ठीक भन्ने कुरा सही होइन । त्यो अवसरवाद नै हो । मैले यो प्रसंग यहाँ किन लिएँ भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई “अकर्मण्यतावादी”, “मिहिन तथा छदम संशोधनवादी,” “सार संग्रहवादी”, “रुढीवादी” “निरंकुश एवं घोर सामन्तवादी” देखेर विद्रोह गर्ने कामरेडहरुको पनि यस्तै चाला नहोस् साँच्चिकै क्रान्तिकारी भएर क्रान्तिको नेतृत्व गरेको देख्न पाइयोस् यही नै शुभकामना छ ।


२०८१ असार २२ ०८:५१ बजे

प्रतिक्रिया