नेपालको आधुनिक राजनीतिक इतिहासमा नेपालको इतिहास, नेपाली समाजको बर्गीय संरचना, सँस्कृति, भाषा र नेपाली जनताको मुक्तिको खोजीमा निरन्तर क्रियाशील, संघर्षशील र अध्ययनशील रहँदै आउनु भएको हो कमरेड पुष्पलाल ! यसका सम्वन्धमा उहाँले लेख्नु भएको नेपालमा मातृ सत्तात्मक समाज, नेपालको सर्बेक्षण, नेपाली जन आन्दोलन एक समीक्षा जस्ता महत्वपूर्ण कृतिहरुले नै निकै महत्वपूर्ण कुरा उजागर गरेका छन । अझ थप त्यसमा बिगतका ऐतिहासिक तथा सामाजिक सम्पदाहरुको बैज्ञानिक ढंगले सुक्ष्म अध्ययन, अनुसन्धान र उत्खननमा अबिछिन्नरुपमा लागिरहने र देश र जनताका खातिर आफ्नो सम्पूर्ण क्रान्तिकारी जीवन समर्पण गर्ने एक महान क्रान्तिकारी तथा अमूल्य माक्र्सबादी बिरासत हो कमरेड पुष्पलालको संघर्षशील जीवन ।
वास्तवमा कमरेड पुष्पलाल एक अत्यन्तै जिज्ञाषु र तीक्ष्ण ज्ञान पिपासा पाठक हुनुहुन्थ्यो अनि ऐतिहासिक घटना र घटनावलीहरुको बिश्लेषण अद्वितीय अन्तरदृष्टिकासाथ आम जन साधारण अर्थात आम मानिसहरुको भूमिकालाई केन्द्रबिन्दूमा राखेर पूर्बबर्ती इतिहासकारहरुको भन्दा फरक ढंगले अध्ययन,मनन र लेखन गर्नु हुन्थ्यो भन्ने कुरा उहाँका कृतिहरुले दर्शाउँदछन् । समकालीन बिश्व परिबेशमा बिषय बस्तुहरुलाई हेर्ने उहाँको प्रबल आकर्षण थियो । उहाले सामाजिक परिबर्तनका अदृष्य र गुमनाम पात्रहरुलाई खोजेर सतहमा ल्याउन बिगतको सही उत्खनन गर्न चाहनुहुन्थ्यो । त्यसैका लागि उहाँका ऐतिहासिक नोटहरुमा बिभिन्न महत्वपूर्ण श्रोतहरुबाट सान्दर्भिक र महत्वपूर्ण जानकारीहरु लिइएको पाइन्छ ।
समकालीन सामाजिक संरचनाको परिवेशमा बिषय बस्तुहरु र घटनाक्रमहरूलाई हेर्ने उहाँको प्रबल आकर्षणको कुरा थियो । त्यति मात्रै होइन, उहाँ सामाजिक परिवर्तनका अदृष्य र गुमनाम तर वास्तबिक पात्रहरूलाई बाहिर ल्याउन विगतको बस्तुनिष्ठ उत्खनन गर्न र बास्तबिक यथार्थ जनताका बीचमा ल्याउन चाहनुुहुन्थ्यो । यसरी जनतामा यथार्थ बस्तुनिष्ठ चेतना जागृत गराउन उहाँले चाहनुहुन्थ्यो । भावनामा बगेर बगाएर समस्याको समाधान हुँदैन भन्ने कुरामा उहाँ सधै जोड दिनुहुन्थ्यो र सामाजिक बर्गीय बिश्लेषणको सही निचोड निकालेर मात्र सही बाटोमा अघि बढ्न सकिन्छ भन्ने उहाँको बस्तुबादी दृढ मान्यता थियो ।
कमरेड पुष्पलालका कतिपय ऐतिहासिक नोटहरूमा विदेशी लेखकहरूद्वारा लिखित विभिन्न दुर्लभ पुस्तकहरूबाट महत्वपूर्ण र सान्दर्भिक जानकारीहरू समावेश थिए जुन आम पाठकहरूको लागि सजिलै उपलब्ध हुने गर्दैनन्। तीमध्ये बीएन सनवालको नेपाल र इस्ट इन्डिया कम्पनी, आरए स्टेनको तिब्बती सभ्यता, डेभिड म्याकलेलनको माक्र्सवादभन्दा पहिले माक्र्स, जीए ग्रियर्सोको भाषाविज्ञान सर्वेक्षण जस्ता केही उल्लेखनीय महत्वका पुस्तकहरू यस सन्दर्भमा औंल्याउन सकन्छ।
सर्सरी यसरी मात्र हेर्दा पनि कमरेड पुष्पलालका ती ग्रन्थसूचीहरु वास्तवमा विस्तृत र समावेशी किसिमका लाग्दछन् । तिनले दक्षिण, मध्य र पूर्वी एसियाको क्षेत्रीय इतिहास अध्ययन गर्न इच्छुक पाठक र अनुसन्धानकर्ताहरूलाई अहिले पनि उत्तिकै राम्रोसँग मार्गदर्शन प्रदान गर्दछन्। तिनले आदिम मातृसत्तात्मक समाजदेखि आधुनिक समयसम्मका विकसित समाजहरूमाथि प्रकाश पार्ने निकै महत्वपूर्ण सामग्रीहरू प्रदान गर्दछन् ।
बिगतमा यूरोपेली उपनिवेशवादीहरूले एसियाली समाजको सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रहरूमा घुसपैठ गर्दा विदेशी मूल्य प्रणालीहरूसँग द्वन्द्वमा आउने हाम्रो इतिहास, संस्कृति र सामाजिक लोकाचारणको झलक प्राप्त गर्न यी ऐहिासिक नोटहरूले बस्तुतः अहिले पनि निकै दुर्लभ स्रोतको रूपमा काम गर्छन्।
विदेशी इतिहासकारहरूले ‘नेपाल र भारत एउटै सांस्कृतिक अस्तित्व हुन्’ भन्ने गलत धारणा कसरी बसालेका छन् भन्ने कुरा कमरेड पुष्पलालले एकदमै प्रष्टसँग उत्खनन गरेर औंल्याउनु भएको छ । त्यो अथाह ज्ञानस्रोतबाट उहाँले यसको खण्डन गर्ने र हामीले नेपाल भनिने भू–राजनीतिक क्षेत्रमा विद्यमान ठोस वस्तुगत परिस्थितिमा विकसित भएका विविध सभ्यतागत मूल्यमान्यताहरूको निरन्तर अन्तरक्रियाबाट निर्मित नेपाली सामाजिक–सांस्कृतिक परिवेशको विशिष्ट विशेषता निर्माण गर्न मद्दत गर्ने महत्वपूर्ण सामग्रीहरू छान्नु भएको एकदमै प्रष्ट हुन्छ ।
बस्तुतः कमरेड पुष्पलाल भन्नु हुन्छ कि इतिहास शासक वर्गको आख्यान होइन । उहाँका अनुसार ‘इतिहास त एउटा जीवन्त सामाजिक संस्था हो, जसमा समाजको एकीकरण र अनेकीकरणको प्रक्रिया निर्वाध रूपमा चलिरहन्छ। यसरी कमरेड पुष्पलालले इतिहासलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट व्याख्या गर्नु भएको छ र त्यसमा पनि अझ महत्वपूर्ण सामाजिक परिवर्तनको उत्प्रेरक र वाहकको रूपमा जनताको भूमिकाको उहाँले प्रशंसा गर्नु भएको छ ।इतिहासको खोज अनुसन्धानको यस क्रममा कमरेड पुष्पलालले काश्मिर, तिब्बत, सिक्किम, भुटान र भारतको इतिहासमा पाइने सान्दर्भिक सूचनाहरूबाट तिनको परिधीय स्रोतहरू खोतल्दै नेपाली इतिहासको संरचनाकरण भनौ या पुनर्संरचनामा ठूलो योगदान पुर्याउनु भएको छ ।
यसरी इतिहासको द्वन्द्वात्मक भौतिकबादी उत्खननकर्ता कमरेड पुष्पलालले नेपाली इतिहासका धेरै अज्ञात वा कम ज्ञात बिभिन्न तथ्यहरू अध्ययन र विश्लेषणका लागि बाहिर प्रकाशमा ल्याउनु भएकोछ । यस क्रममा बीए सनवालको पुस्तकबाट लिइएको टिप्पणीमा उहाँले नेपालमा दासप्रथाविरुद्ध बढ्दो सामाजिक अशान्तिबारे उल्लेख गर्नु भएकोछ । लर्ड एलेन बरोले सन् १८४३ मा भारतमा दासप्रथा उन्मूलन गरेका थिए । तर नेपालमा भने त्यो क्रूर,अमानबीय र अन्यायपूर्ण सामाजिक प्रथा १९२९ सम्म अस्तित्वमा थियो भन्ने उल्लेख उहाँले गर्नु भएकोछ ।
त्यस अमानवीय प्रथाको विरुद्ध विद्रोहकारी कार्यको रूपमा एघार जना नेपाली दास किशोरीहरू आफ्नो मालिकको घरबाट भागेर ब्रिटिश भारतीयहरूको नियन्त्रणमा रहेको तिरहुतमा शरण लिन पुगे । अनि तिनका नेपाली मालिकहरूले नेपालमा दासत्व वैध छ भन्दै ती किशोरीहरुको फिर्तीको लागि माग पनि गरे, तर ब्रिटिश भारत सरकारले ती किशोरीहरूलाई आत्मसमर्पण गराउन अस्वीकार गरे । यसमा यो अडानमा ब्रिटिश सरकारको उद्देश्य दासत्वलाई बिस्तारै दबाउने रहेको पनि कामरेड पुष्पलालले नोटमा उल्लेख गर्नु भएकोछ ।
यसै प्रकारको अर्को उदाहरणमा पुष्पलालले पद्मा गिरीको ‘एन एकाउन्ट अफ नेपाल’ बाट प्राप्त महत्वपूर्ण जानकारीलाई उद्धृत गर्नु भएकोछ, जसले पृथ्वीनारायण शाहले कीर्तिपुरमा विजय प्राप्त गरेपछि कीर्तिपुरका बासिन्दामाथि गरेको ज्यादतीबारे लामो समयदेखिको धारणालाई स्पष्ट पार्न मद्दत गर्छ ।
कमरेड पुष्पलालले पद्मा गिरीको भनाइ उद्धृत गर्दै पृथ्वीनारायण शाहले कीर्तिपुरवासीलाई दण्डित गर्ने जिम्मेवारी दिएका दुई भोटियाले ८६५ जनाको नाक र कान काटेको उल्लेख गरेका छन् । तर पछि पृथ्वीनारायण शाहले ‘अत्यधिक जोस(क्रुरता)का साथ काम गरेका थिए’ भन्दै उनीहरूलाई मृत्युदण्ड दिए । यो ऐतिहासिक प्रमाणले पृथ्वीनारायण शाहले प्रतिशोधको आफ्नो आधारभूत मानवीय प्रवृतिलाई सन्तुष्ट पार्न आफूलाई तल झारेर कमाएको कलंक हटाउन त सक्दैन तर यसले काम गर्छ भनिएको छ ।
कमरेड पुष्पलालको यो अत्यन्तै महत्वपूर्ण र दुर्लभ पाण्डुलिपि पुष्पलाल स्मृति प्रतिष्ठानले ‘पुष्पलालः नोट्स अन हिस्ट्री’ शीर्षकमा प्रकाशन गरेको छ । निश्चय नै यो इतिहासको उत्खनन र अध्ययनको क्षेत्रको अत्यन्तै महत्वपूर्ण ऐतिहासिक ज्ञानको भण्डारमा थप एउटा बहुमूल्य सामाग्री हो जुन बर्तमान र भविष्यका विद्वान् र लेखकहरूले पनि राम्रोसँग लाभ उठाउदै ऐतिहासिक खोज अनुसन्धान र उत्खनलाई अझ अघि बढाउन र थप प्रमाणित र पुनर्पुष्टी गर्न सक्छन्।कमरेड पुष्पलालको जन्म शतबार्षिकीको यो बर्ष(१९८१–२०८१)को अबसरमा पुष्पलाललाई अझ पढौं, बुझौ र सही बाटोमा अगाडि बढौं !
प्रतिक्रिया