सँसद वुर्जुवाहरुको गफ गर्ने थलो र खसीको टाउँको देखाएर कुकुरको मासु वेच्ने ठाउँ सावित

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ ५ ०७:२२ बजे

काठमाडौं । सँसद प्रतिक्रियावादी तथा वुर्जुवाहरुको गफ(कुरा,भाषण) गर्ने थलो हो।यो कुलिनवर्ग र दलालहरुको अखण्डा हो।किसान मजदुर र आम जनताको वारे यसमा कुनै छलफल हुदैन ।यो खसीको टाँउको देखाए कुकुरको मासु वेच्ने  ठगहरुको थलो हो भन्ने लेनिनको भनाइ  नेपालको सँसदमा  जेठ ३ गतेको घटनाले पुष्टि भएको छ।

सँसदमा जेठ ३ गतेको घटना लाई लिएर सामाजिक सञ्जालमा एकातर्फ वादरहरुका दुइ समुह विचको झगडाको फोटो अर्को तर्फ सँसदमा सत्ता पक्ष र विपक्षीको फोटो राखेर नेपालका साँसद र वादरहरु उस्तै उस्तै हुन भन्ने सन्देश वोकेको भिडियो भाइरल भएको छ।  यस्तो अवस्थामा सँसदिय व्यवस्थाले अव काम गर्न सक्दैन नयाँजनवादी क्रान्ति वाट नयाँ जनवादी व्यवस्था ल्याउनु पर्छ भन्ने  मत वलियो भएको पुष्टि  हुन्छ।

जेठ ३ गते संसद चलिरहेको बेला एमाले अध्यक्ष केपी ओली र कांग्रेस सांसद धनराज गुरुङबीच भएको भनाभनले चर्चा पाइरहेको छ । संसदभित्र मुठभेड हुन सक्ने देखिएपछि बैठक स्थगित नै गरियो । नेपालको संसदीय इतिहासमा रोष्टम घेराऊ गर्ने, माइक तोडफोड गर्ने, संसदभित्रै कुटाकुट गर्ने र सांसदलाई जुत्ता चप्पल प्रहार गर्ने अलोकतान्त्रिक संस्कार सांसदहरुमा देखिदै आएको छ । 

सहकारीको रकम हिनामिना र त्यसमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि नेपाली कांग्रेसले छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको छ । बिहीबारको बैंठक सञ्चालन हुने बित्तिकै काँग्रेसकी सांसद कुद्दै सभामुखको आसनअघि आएर नारा लागाउन थालिन् । त्यसपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरे।

सभामुख देवराज घिमिरेले गर्नैपर्ने कामहरु बाँकी रहेको भन्दै सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरे । तर काँग्रेसका सांसदहरू टसमस भएनन् । संसदको दृश्य रोचक तब बन्यो जब सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । त्यसबेलासम्म विपक्षी बेञ्चमा रहेका राप्रपा र लोसपाका सांसदहरु उठेर विरोध गर्न थालिसकेका थिए । 

सभामुखले समय दिइसक्दा नसक्दै कांग्रेस सांसदहरु गृहमन्त्रीलाई रोक्न भनेर सत्तापक्षको बेन्च नजिक पुगे । सत्तारुढ सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बोल्न दिनुपर्छ भनेर हुटिङ गरे । त्यसले संसदमा तनाव बढायो । पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेसमा सांसद प्रकाशशरण महत पनि आक्रामक हुँदै प्रस्तुत भए । एमालेका महेश बर्तौला र ठाकुर गैरे पनि काँग्रेससंगको भनाभनमा उत्रिए । 

यहीबीच संसद बैठक स्थगित भैसकेको थियो । तर, काँगेसका सांसदहरू सबलाई बेवास्ता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नजिक पुगे प्रचण्डको पनि काँगेसका सांसदहरूसँग भनाभन भयो । यो दृष्यले संसदभित्र कोलाहलको पराकाष्ठा दर्शाइरहेको थियो । हुनत, नेपालको संसदीय इतिहासमा मुठभेडको स्थिती सिर्जना भएको यो पहिलो घटना होइन र अन्तिम हुनसक्ने आधार पनि छैन । यसअघि पनि कयौं झडप र मुठभेडहरू संसदमा भएका छन् ।

संसदमा भएका मुडभेडका घटनाहरु  – २०४९ सालमा तत्कालीन राष्ट्रियसभामा एमाले सांसद गोल्चे सार्कीद्धारा तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेललाई झापड ,स्थानीय स्वायत्त शासन ऐन पारित गर्ने बेला कांग्रेस र एमालेबीच २०५६ सालमा भएको विवादको निसानामा पनि रामचन्द्र पौडेल नै , रामचन्द्र पौडेल २०५६ सालमा सभामुख थिए । तत्कालीन सभामुख पौडेलले रोष्टम घेराउका बीच जबर्जस्ती विधेयक पारित भएको घोषणा गरेपछि एमाले सांसदहरु झडपमा उत्रिएका थिए ।  रोष्टमतर्फ लागेका एमाले सांसदलाई कांग्रेस सांसदहरुले रोक्न खोज्दा दुई पक्षबीच हानाहान भएको थियो भने केही कांग्रेस सांसद घाइते पनि भएका थिए ।  एमालेकी एक महिला सभासदले प्रहार गरेको लेडिज जुत्ता सभामुख रामचन्द्र पौडेलको आसनमा पुगेको थियो । 

२०५७ सालमा तत्कालीन पर्यटनमन्त्री ओमकार श्रेष्ठ र एमालेका सांसदहरूबीच हात हालाहाल । पहिलो संविधानसभाको पहिलो बैठकमा एमाले सभासद कमला शर्माले कांग्रेस नेता तथा सभासद पूर्णवहादुर खड्कालाई चप्पलले गालामा हानेकी थिइन् ।   माधवकुमार नेपाल नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न रोष्टमतर्फ जान लाग्दा एकीकृत माओवादीका सभासदहरुले अर्थमन्त्री सुरेन्द्र पाण्डेको बजेट वक्तव्यको ब्रिफकेश खोसे हातपात गरेका थिए ।  त्यस समय फोरम लोकतान्त्रिकका सभासद सञ्जयकुमार साहले दुईवटा कुर्सी तोडफोड गरेका थिए । त्यसपछि उनलाई तत्कालिन सभामुख सुवास नेम्वाङले निलम्बन गरे । 

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । तर, संसदभित्रै सांसदबाट अमर्यादित र अराजक व्यवहारले संसदको गरिमा माथि प्रश्न उठ्ने गरेको छ ।

२०८१ ज्येष्ठ ५ ०७:२२ बजे

प्रतिक्रिया