सफल भयो नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा ‘रिफ्युलिङ

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २६ १३:०७ बजे

नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा रिफ्युलिङ (इन्धन भर्ने काम) सफल भएको छ।काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान सुरू गरेको करिब दुई वर्षपछि परीक्षण सफल भएको हो।

नेपालमा हाइड्रोजन गाडीको सम्भावना र प्रयोगबारे अध्ययन गर्न विश्वविद्यालयले गत कात्तिकमा दक्षिण कोरियाबाट हुन्डाई नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याएको थियो। यो गाडी नेपाल आयल निगम (एनओसी)को सहयोगमा भित्र्याइएको थियो।

यही गाडीमा विश्वविद्यालयले बनाएको हाइड्रोजन हालेर सफल परीक्षण भएको विभागका उपहप्राध्यापक डा. विराजसिंह थापाले जानकारी गराए।सरकारले हाइड्रोजनसम्बन्धी नीति बनाइसकेको छ। अब हाइड्रोजनसम्बन्धी ऐन र नियमावली बनाई नेपालमा हाइड्रोजनलाई इन्धनको रुपमा स्वीकार गर्नुपर्ने आवश्यकता छ।

नेपालमा हाइड्रोजनको गाडी भित्रिए पनि आवश्यक कानुन नहुँदा गाडीमा नम्बर प्लेट राख्नै अप्ठ्यारो छ। थापाले पानी र विद्युत् नेपालकै आफ्नै उत्पादन भएकाले हाइड्रोजनमा नेपालले नेतृत्व गर्न सक्ने बताउँदै आएका छन्।

‘इतिहास रचिएको छ। भर्खंरै काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसनको सफलतापूर्वक परीक्षण गर्दै हाइड्रोजन कार रिफिल गर्न सुरू गरेका छौं,’ थापाले फेसबुकमा एउटा भिडिओ सेयर गर्दै भनेका छन्, ‘आज नेपालको लागि हाइड्रोजन दिवस हो। मेरो टिमप्रति मलाई गर्व लागेको छ।’


२०८० चैत्र २६ १३:०७ बजे

प्रतिक्रिया