काठमाण्डौ। शारीरिक वा बौद्धिक श्रम गरेर वा कुनै मजदुरीद्वारा जीवनयापन या जीवन निर्वाह गर्ने या श्रम गर्ने व्यक्ति श्रमजीवी हुन् । बौद्धिकरूपमा श्रम गरेर जीवन निर्वाह गर्ने पत्रकार श्रमजीवी पत्रकार हुन् । सार्वभौमसत्ता, अखण्डताको संवद्र्धन गर्दै देश र जनताको हित हुने समाचार लेख्ने, प्रसारण गर्ने, सूचना प्रवाह गर्ने, समाजको उत्थान गर्ने, नागरिकको नैतिक र चारित्रिक भावनालाई आघात नपार्ने खबर प्रसारण गर्नु पत्रकारिताको मूल लक्ष्य हो । समुदायको भावना, पीडा, विचार, व्यवहार र मुद्दाहरूको अग्रगामी चित्रण गर्ने काममा सञ्चार या पत्रकारिताको अहम् भूमिका हुन्छ ।
चिकित्सकले बिरामीको चिरफार गर्दा मिलेन भने बिरामीमा थप आघात पर्छ भनेझैँ पत्रकारले गलत सूचना प्रवाह गरेमा त्यसले समुदायमा नकारात्मक असर पार्छ । पत्रकारले पेसागत कामलाई पद र शक्तिको दुरूपयोग गरी गलत समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मर्मविपरीत हुन्छ । प्रेस स्वतन्त्रता अराजकता फैलाउने, साम्प्रदायिक भावना फैलाउने, जातीय द्वन्द्व निम्त्याउने, भ्रष्टाचारी, ठग, अपराधी, कालाबजारीहरूको पक्षपोषण गर्ने लाइसेन्स होइन । यसकारण, पत्रकारहरू इमानदार हुनुपर्छ, आफ्नो पदको ख्याल गर्नुपर्छ र पत्रकारिताले जनताको विश्वास जित्नुपर्छ । पत्रकारले आफ्नो प्राप्त पद, अधिकार र अवसरको दुरुपयोग गर्नु मनासिब होइन ।
कति सञ्चारकर्मीहरू पत्रकारको काम पत्रकारिता गर्नु हो, राजनीति गर्नु होइन भन्छन् । तर राजनीति गर्नुहुँदैन भन्ने कनिष्ठ र वरिष्ठ पत्रकारहरू नै प्रत्यक्ष या अप्रत्यक्ष, चाल पाइकन या नपाइकन आफ्नो हरेक बोली, लेखन र गतिविधिमा राजनीति भिजिरहेका हुन्छन् । एउटा साधारण खेताला, मजदुर, शिक्षक, लेखक, कवि, कलाकार, गायक, नायक–नायिका, उद्योगी, व्यापारी, कर्मचारी, सेना, प्रहरी या अन्य व्यक्ति राजनीतिबाट प्रभावित हुन्छन् या राजनीतिले छोएको हुन्छ भने हरेक दिन राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद, प्रशासनिक क्षेत्रमा भिजिरहने पत्रकार कसरी राजनीतिबाट अलग हुन्छन् ? तिनै परिवेशको समाचार, लेख छापिरहने पत्रिका, पत्रकार या पत्रकारिता कसरी राजनीतिबाट अलग्ग हुन्छ ? जसरी देशमा राजनीति वर्गमा विभाजित भएको पाइन्छ त्यसरी नै पत्रकारहरू पनि विभाजित छन् । वर्गीय समाजमा पत्रकार र पत्रकारिता पनि वर्गमा विभाजित हुन्छ ।
प्रेस स्वतन्त्रता व्यक्तिको सरोकारको विषयमात्र होइन, यो सार्वजनिक सरोकारको विषय पनि हो । पत्रकारिता देशको उज्यालोको लागि हो । पत्रकारिताको माध्यमबाट राज्यको कमी कमजोरी औँल्याएर सुधार्ने मौका पनि हो । पत्रकारिताले सरकारको खबरदारी गरेर अनियमितता रोक्ने, भ्रष्टाचार, ढिलासुस्ती, शोषण, दमन, अन्याय अत्याचार, कुशासनको विरोध गर्ने हुँदा पत्रकार या पत्रकारिताप्रति शासकहरूको बक्रदृष्टि पर्छ । यसकारण, शासकहरूले बेलाबखत नीति नियम बनाएर बाँध्ने, आफ्नो नियन्त्रण या उठबसमा राख्ने प्रयास गरिरहेका हुन्छन् । हो, पत्रकारिता क्षेत्रलाई स्वच्छ, मर्यादित बनाउनुपर्छ । यो पत्रकारिता क्षेत्रको मात्र होइन राज्यको दायित्व पनि हो । पत्रकारिताको नाउँमा समाचारको ठेक्का दिने, भ्रमको खेती गर्ने, षड्यन्त्र गर्ने, कुनै सङ्घ संस्था या संस्थाका गलत कार्य, अनियमितता, आपराधिक क्रियाकलाप छोपेर समाचार, लेख लेखी पैसा असुल्ने काम उचित होइन । कमिसनखोर, अपराधी, भ्रष्टाचारी, कालाबजारी, ठगहरूको प्रशंसा गरेर, सूचना प्रवाह गरेर पैसा असुल्ने काम गलत हो । बरु पत्रकारिताले गलत क्रियाकलापको निन्दा गर्दै शोषणरहित समाज स्थापना गर्ने खालका समाचार लेखेर छापेर सुसूचित पार्ने काम गर्नुपर्छ ।
पत्रकारिता नागरिक र समाजप्रति उत्तरदायी हुनुपर्छ । पत्रकारिताको प्रमुख आधार जनविश्वास हो । जनविश्वास पाउन सही विचार प्रवाह गर्नुपर्छ । सत्ता, शक्ति र पहुँचको आधारमा लुकाइएको सूचना सत्यतथ्यको रूपमा नागरिकसामु ल्याउने एक माध्यम पत्रकारिता हो । पत्रकारितामा राजनीतिक प्रभाव बढ्यो भन्ने गुनासो छ । नेपाली पत्रकारिताले विश्वास गुमाउनुको अर्थ राजनीतिक प्रभाव होइन । राजनीतिक दलप्रति आस्था राखेकै कारण पत्रकारले दलप्रति बफादार भएर समाचार सम्प्रेषण गर्दा विश्वास गुमेको तर्क राख्नु दृष्टिदोष हो । कुनै दलप्रति विश्वास राख्नु, विश्वास राखेर समाचार सम्प्रेषण गर्नु राजनीतिक हस्तक्षेप होइन । तर, सरकारको होस् या दलको अनैतिक काम, गलत विचारको ढाकछोप गर्ने या त्यसको प्रशंसा गर्नु हुँदैन । राज्य, दल या कुनैै सङ्घ र व्यक्तिको आर्थिक लाभको आधारमा जस्तोसुकै अपराध, गलत कार्यको आँखा चिम्ली समर्थक गर्नु उपयुक्त होइन । यसकारण, सञ्चारकर्मीहरू राजनीतिमा लाग्नु हुन्न, दलको प्रचार गर्नु हुन्न भन्ने तर्कमा सच्चाइ छैन । के पत्रकारहरू निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् ? आफूलाई मनपरेको दललाई मतदान गर्नुहुँदैन ? के त्यसले पत्रकार र पत्रकारिताको बदनाम हुन्छ ? सरकारलाई देश र जनताप्रति जिम्मेवार बनाउन, निर्वाचन आयोगलाई निर्वाचन, निष्पक्ष, शान्त र भयरहित बनाउन, राजनीतिक दललाई सिद्धान्त र विचारको आधारमा राजनीति गराउन, प्रशासनलाई निष्पक्ष, न्याय दिलाउन, काम छिटो छरितो र सुव्यवस्थित बनाउन के पत्रकारिताले ध्यानाकर्षण गर्नु हुँदैन ? जसरी एउटा राजनीतिक दलले अर्को राजनीतिक दलको सिद्धान्त, विचार, कार्यनीतिको टिप्पणी गर्छ त्यसरी नै एउटा पत्रिकाले अर्को पत्रिकाको टीकाटिप्पणी गर्नु या गलत कुराको खबरदारी गर्नु स्वाभाविक हो । वर्गीय समाजमा पत्रकार र पत्रकारिता पनि विभाजित हुनु के आश्चर्यको कुरा हो र ?
पाठक आकर्षित गर्न, पत्रपत्रिका बढी बिकाउन कुनै एजेन्डालाई अतिरञ्जित गर्नु हुँदैन । अश्लील फोटो, अश्लील समाचार, लेख छापेर युवा युवतीको मन भाँड्ने काम पत्रिकाले गर्नु हुँदैन । यसले मानिसको चरित्र र मनस्थिति बिगार्छ । यो एक प्रकारको मन्दविष हो । यसतर्फ पत्रकार र पत्रकारिता सचेत हुनुपर्छ । जनतामा पत्रकारिताप्रति विश्वास बढाउन, विश्वास बढाउने ढङ्गले देश र जनताप्रति जिम्मेवार रहेर समाचार, लेख छाप्नुपर्छ । ग्रामीण समुदाय, अशिक्षित जनतामाझ सूचना प्रवाह गर्नुपर्छ । समाजमा हेपिएका, थिचिएका, पछि पारिएका विभिन्न वर्ग, समूह, समुदायको आम सञ्चारमा रुचि जगाउनुपर्छ । यसकारण, पत्रकारिता सेवामुखी र आस्थाको पत्रिका हुनुपर्छ भनिएको हो । व्यापार गर्ने प्रयोजनको निम्ति चलाइएको पत्रिकामा नाफा नोक्सानको ख्याल गरिएको हुन्छ । त्यस्तो पत्रकारले सही सिद्धान्त, सही विचारको ख्याल गर्दैन । उनीहरू आफ्नो लगानीको फल प्राप्त गर्न, अझ अकुत सम्पत्ति कमाउन विदेशीको गुणगान गर्छन्, देशका सामन्त, जमिनदार, जालीफटाहा, कालाबजारी, भ्रष्टाचारी, कमिसनखोरहरूको पक्ष लिन्छन् या यिनीहरूको कमीकमजोरी ढाकछोप गरेर प्रशंसा गर्छन् । जो जनविरोधि पत्रकारीता हो।
प्रतिक्रिया