काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएपछि पार्टीमा अनेक बहस उठेका छन् । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्धा खेपिरहेका माधवविरुद्ध पार्टीमा चर्का आवाज उठ्नुका साथै उनको विकल्पसमेत खोजिन थालिएको हो ।
२०६६ सालमा तत्कालीन प्रधानमन्त्री रहेका बेला पतञ्जलीको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपमा माधवविरुद्ध अदालतमा मुद्धा छ । यो मुद्धा किनारा लागेको छैन । माधवलाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । तर माधवमाथिको यस्तो संकटका बेला नेताहरुबाटै उनको विकल्पको खोजीसहित अर्लि महाधिवेशनको माग हुन थालेको हो । पार्टीकै युवा नेतृ रामकुमारी झाँक्रीले नेतृत्व असक्षम र असफल भएको औँल्याउँदै माधवको विकल्प खोज्नुपर्ने चर्को आवाज उठाएकी छन् ।
भ्रष्टाचारको मुद्धासँगै माधवको संसद पद निलम्बनमा छ । उनी पार्टी अध्यक्षसँगै संसदमा संसदीय दलको नेतासमेत हुन् । तर उनीविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएसँगै पार्टी नेतृत्व अन्यलाई सुम्पनुपर्ने तथा पार्टी संसदीय दलको नेता फेर्नुपर्ने कतिपय नेताहरुको माग छ । तर यस्तोमा माधवले पार्टी नेतृत्व र दलको नेताको जिम्मेवारी कसैलाई सुम्पन सकेका छैनन् । यस्तैमा नेतृ झाँक्रीले माधवमाथि नै कटाक्ष गर्दै काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने टिप्पणी गरेकी छन् ।
नेकपा एस संगठनात्मक रुपमा आँफै कमजोर बन्दै गएको पार्टी हो । एमालेसँग विभाजन हुँदा जुन रफ्तार र जोश नेताहरुमा देखिएको थियो । तर त्यो जोस लामो समय टिक्न सकेको देखिँदैन । परिणामतः नेकपा एसका धेरैजसो नेता कार्यकर्ता एमालेमै फर्किसकेका छन् । यस्तै केही फर्किने चाहनामा पनि छन् । यसैबीच नेताहरुबाट माधवको विकल्प खोजिन थालेको हो । जसले माधवमाथि दोहोरो संकट पैदा भएको छ ।
प्रतिक्रिया