कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ७ १५:२४ बजे

धनगढी। कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ । 

कैलालीमा हालसम्म १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको छ । हालसम्म उत्पादनमूलक तीन हजार एक सय ९४, कृषि छ हजार चार सय ८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ७३ गरी १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् ।

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ३४ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार एक सय २० महिला र ६९ हजार छ सय ११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ । यसैगरी गत आर्थिक वर्ष २०७९ र ८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । चालु आव २०८० र ८१ को फागुनसम्म रु एक करोड पाँच लाख राजस्व सङ्कलन भएको छ ।  रासस



२०८० चैत्र ७ १५:२४ बजे

प्रतिक्रिया