तपाईं प्रगतिशील सास्कृतिक अभियान तथा रक्तिममा कसरी आबद्द हुन पुग्नु भयो ?
गीत सङ्गीत प्रती मेरो सानै देखि रुचि थियो । बिद्यालयले आयोजना गर्ने सास्कृतिक कार्यक्रमहरुमा भाग लिइन्थ्यो । रेडियो एफएमहरु बाट आउने साङ्गितिक कार्यक्रम नियमित सुनिन्थ्यो । मेला महोत्सवहरुमा साँस्कृतिक कार्यक्रम हेर्न छुटाइदैन थिए । प्रगतिशील साँस्कृतिक अभियानमा भने मैले कक्षा ६ मा पढ्दै गर्दा २०५६ साल तिर बाट जोडिएको हु । त्यो साल रक्तिमको केन्द्रले मेचि-महाकाली साँस्कृतिक अभियान संचालन गरेको थियो । त्यही अभियानको सिलसिलामा रक्तिमको एक केन्द्रिय टोलि कैलालीको पहलमानपुरमा पुगेको थियो । त्यहाँ एक फिल्महलमा रक्तिमको टोलिले कार्यक्रम दिएको थियो । त्यो कार्यक्रमले मेरो मनमा गहिरो प्रभाव पार्यो । त्यही कार्यक्रम बाट आकर्षित भएर म प्रगतिशिल सास्कृतिक अभियानमा जोडिन पुगेको थिए । रक्तिमको सङ्गठनमै आबद्द भने म २०५८ साल तिर बाट भएको हुँ ।
रक्तिम साँस्कृतिक अभियानमा तपाइले अहिले सम्म कुन कुन जिम्मेवारी निभाउनु भयो नि ?
रक्तिमको स्थानिय समितिमा सङ्गठित हुदा म बल्ल कक्षा ८ मा अध्ययनरत थिए । त्यो बेला म स्थानिय समिती मै सङ्गठित थिए । त्यस यता कैलाली जिल्ला समिती सदस्य , उपाध्यक्ष हुँदै अध्यक्ष सम्मको जिम्मेवारी निभाइयो । त्यसपछि सुदुरपश्चिम प्रदेश समितिको अध्यक्ष हुँदै बुटवलमा सम्पन्न रक्तिमको तेस्रो राष्ट्रिय सम्मेलन बाट म २०७० सालमा बैकल्पिक केन्द्रिय सदस्यको जिम्मेवारीमा आए । त्यस यता पुर्ण केन्द्रिय सदस्य हुँदै अहिले महासचिवको जिम्मेवारीमा छु ।
रक्तिम अभियानका नाममा अहिले दुइओटा छुट्टा छुट्टै कमिटीहरु रहेको देखिन्छ , खासमा कुन चाहिँ समिति आधिकारिक हो ? स्पस्ट पारिदिनुहोस ।
हजुर -आधिकारिक रक्तिम सास्कृतिक अभियान हाम्रो नेतृत्वमा रहेको रक्तिमको समिति नै हो । रक्तिमको इतिहास , यसको पुरानो समिति , यसको कानुनी आधिकारिकता , यसका नीति र मर्मलाई मसिनो सङ्ग नियाल्नु भयो भने त्यो कुरा तपाईं आफै पनि प्रस्ट सङ्ग बुझ्न सक्नु हुन्छ । रक्तिमको लोकप्रियता सङ्ग लोभिएर कसैले यहि नाम राख्यो भन्दैमा त्यसलाई रक्तिमको समिति मान्न सकिँदैन । कुन सक्कली र कुन नक्कली भन्ने कुरा उसले लिएको नीति सिद्धान्त , कार्यक्रमहरु र त्यसको व्यवहार बाट छुट्टिने कुरा हो । रक्तिम महान सर्वहारा साँस्कृतिक क्रान्तिको रापिलो आलोकमा स्थापना गरिएको शोषित पिडित वर्गको पक्षधर प्रगतिशील साँस्कृतिक सङ्गठन हो । वर्गिय पक्षधरता रक्तिमको मुख्य कडि हो । रक्तिम श्रमजीवी वर्गको मुक्तीका लागि चल्ने क्रान्तिकारी आन्दोलनको सारथि हो । सडेगलेको संसदिय ब्यवस्था भित्रको संसद र सरकारमा एक दुई थान सिट प्राप्तिका लागिआफ्ना घोषित नीति र सिद्धांत परित्याग गर्ने पार्टी र नेताहरुको महत्वाकांक्षा पूरा गर्न खोलिएको भजनमण्डली होइन रक्तिम । रक्तिमका यी घोषित नितिहरुलाइ हेर्नू भयो र बुझ्नु भयो भने तपाइले सजिलै बुझ्न सक्नु हुनेछ आधिकारिक रक्तिम सास्कृतिक अभियान भनेको नारायण शर्मा अध्यक्ष र म महासचिव रहेको समिती नै हो ।
तपाईं वा रक्तिम अभियानले कुनै नयाँ गीत सङ्गीत रचना वा सृजना गरिरहनु भएको छ कि ? बताइदिनुहोस न ।
आएका छन त्यस्ता सृजनाहरु । रक्तिमले सँस्थागत रुपमै त कुनै गीति एल्बम निकालेको छैन , तर रक्तिम सङ्ग सम्बन्धित साथिहरुले प्रगतिशील गीतहरु प्रकासित गरिरहनु भएको छ । केही समय अघि रक्तिमकी बरिष्ट उपाध्यक्ष जनगायिका निलिमा पुनले भिजुअल सहितको सबै चेली ( भाग २ प्रकासित गर्नु भएको थियो । निलिमा पुन दिदी र मेरो स्वरमा अब छिट्टै नया गीत पिपलु तपाईहरुले सुन्न र हेर्न पाउनु हुनेछ । उक्त गीत पनि हामीले भिजुअल सहित नै ल्याउन लागेका छौ । त्यसमा रक्तिमका अध्यक्ष नारायण शर्मा र रक्तिमकी केन्द्रीय सदस्य जनगायिका पम्फा बन्जाडे लगायतले अभिनय गर्नु भएको छ । रक्तिमका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार नारायण योगि जि को सृजना ( उठ्नु पर्ने भो , जुट्नु पर्ने भो ) केहि समय अघि मात्र सार्वजनिक भएको छ। जसमा रक्तिमका केन्द्रिय सदस्य जनगायक समीर बिक , दिलमाया बिक र रिता पुनको स्वर रहेको छ । यस्ता अरु पनि धेरै गीतहरु ल्याउनु भएको छ साथीहरुले । मेरो आफ्नो शब्द , सङ्गीतमा टप्पा भाकाको नयाँ गीत तयार भैसकेको छ । म सहित रक्तिमकै अन्य गायिकाहरुको सामुहिक स्वरमा त्यो पनि हजुरहरुले छिट्टै सुन्न पाउनु हुनेछ ।
तपाई प्रगतिशील जनबादी साँस्कृतिक अभियानको आवस्यकता , महत्व र भबिस्य कस्तो देख्नु हुन्छ ?
देशमा वर्ग बिहिन, शोषण बिहिन , विभेद बिहिन राज्यसत्ता र समाज निर्माण नहुन्जेल प्रगतिशील जनबादी अभियानको आवस्यकता र महत्त्व झनै बढेर गएको हुन्छ । देशमा राजनैतिक आन्दोलनहरु त धेरै पटक भए , तुलनात्मक रुपमा पहिलेको भन्दा केही राम्रो गणतान्त्रिक ब्यवस्था त देशमा आयो तर श्रमजीवी वर्गको वास्तविक जनगणतान्त्रिक राज्य सत्ता देशमा अझै स्थापित हुन सकेको छैन । असमानताका सबै पर्खालहरु अझै भत्किएका छैनन । बिभेदका पहाडहरु अझै ढलेका छैनन । श्रमजीवी जनताको दयनिय अवस्था अहिले पनि उस्तै छ । मात्र घुम्ने कुर्सिमा बसेर शासन गर्ने मान्छेहरु फेरिए , शोषणका रुपहरु फेरिए ,तर ब्यवस्था अझै फेरिन सकेको छैन । हामीले देखिरहेका छौ देशमा जनघात र राष्ट्रघातका शृङ्खलाहरु झनै बढ्दै गएका छन । अराजगता, डण्डहिनता , अनियमितता , भ्रष्टाचार देशमा दिनप्रतिदिन मौलाउदै गएको छ । यस्तो अवस्थामा जनप्रतिशिल साँस्कृतिककर्मीहरुको दायित्व झनै बढेर गएको स्वत स्पस्ट छ । बाटो बिराउदै गएका राजनितिक दल र ती दलका नेताहरुलाइ खबरदारी गर्न , बढ्दो बिस्तारबादी र साम्राज्यवादी सँस्कृतिको हस्तक्षेप र आक्रमणलाई रोक्न , इतिहासले जनसाँस्कृतिककर्मीहरुको काधमा गम्भीर जिम्मेवारी सुम्पिएको छ । हामी झुण्ड झुण्डमा छिरलिएर इतिहासले सुम्पिएको त्यो जिम्मेवारी कदापी पूरा गर्न सक्ने छैनौ । प्रगतिशील र जनबादी साँस्कृतिक अभियान एकीकृत र सशक्त बन्न नसक्दा नै देशमा सामन्तबादी तथा पाश्चात्य छाडा सँस्कृतीको बिगबिगी बढ्दै गएको हो । त्यस प्रती रक्तिम अभियान निकै गम्भीर छ । त्यसैले हामी प्रगतिशील र जनबादी साँस्कृतिककर्मिहरुको बृहत्तर मोर्चा निर्माणको दिशामा अघि बढिरहेका छौ । प्रगतिशील साँस्कृतिककर्मिहरु सधै सत्य समानता र न्यायको पक्षमा हुन्छ्न । हामीलाइ बिस्वास छ सत्यको एकदिन अवस्य जित हुनेछ । शोषित पिडित जनताको आन्दोलनको आधिबेहरी एकदिन देशमा अवस्य चल्नेछ । त्यो आन्दोलनले विभेद र असमानताका सारा पर्खालहरु ढाल्नेछ र देशमा जनताको वास्तविक जनगणतान्त्रिक ब्यवस्था स्थापित हुनेछ । त्यसैले प्रगतिशील र जनबादी साँस्कृतिक अभियानको बर्तमान चुनौतिपुर्ण र कठिन भए पनि भबिस्य अति सुन्दर देखिरहेका छौ हामी ।
रक्तिम अभियानले हाल के गर्दैछ र आगामी कार्यक्रमहरु के कस्ता रहेका छन ?
मैले माथी पनि बताइसके हामी जनसाँस्कृतिककर्मिहरुको बृहत्तर मोर्चा निर्माणको दिशामा अघि बढिरहेका छौ । अहिले हाम्रो मुख्य ध्यान त्यही बिषयमा नै केन्द्रित छ । सच्चा क्रान्तिकारी शक्तिहरु एकत्रित भएर आन्दोलनको उठान गर्न नसक्दाको परिणाम नै देशमा , प्रतिकृयाबादी , दक्षिणपन्थी , संसोधनबादी र नयाँ खाले अराजकताबादी शक्तिहरुको हालिमुहाली चलिरहेको छ । क्रान्तिकारी नीति बोकेका कम्युनिस्ट पार्टीहरुलाइ एकजुट हुन हामीले आफ्नो ठाउँ बाट सक्दो दबाब दिइरहेका छौ । त्यो अहिलेको समयको मुख्य आवस्यकता हो भन्ने हामीलाइ लाग्दछ । गीत सङ्गीत र आफ्ना सृजनाहरु मार्फत पनि हामीले त्यो प्रयास गर्दै आएका छौ ।
आफ्ना सङ्गठनात्मक कामलाई पनि हामीले जारी नै राखेका छौ । जिल्ला भेला , प्रशिक्षणका कामहरु पनि छिटफुट रुपमा भैरहेको छ । केही समय अघि मात्र हामीले काठमाडौंमा जिल्ला भेला सम्पन्न गरेर नयाँ जिल्ला समिति निर्माण गरेका छौ । त्यस अघि तिहार पर्वका अवसरमा राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा प्रगतिशील देउसी - भैलो कार्यक्रम सम्पन्न गरेका थियौ । जिल्ला भेला क्षेत्रीय भेलाहरु सम्पन्न गरिसकेपछि छिट्टै राष्ट्रिय सम्मेलनको तैयारी अघि बढाउने योजनाका साथ हामी अघि बढिरहेका छौ । काठमाडौं लगायत देशका विभिन्न स्थानमा रक्तिमकै आयोजनामा बिबिध रक्तिम साँस्कृतिक साझ आयोजना गर्ने पनि हाम्रो कार्यसुची रहेको छ ।
प्रगतिशील साँस्कृतिक आन्दोलनका समस्या र चुनौतिहरु के कस्ता छ्न ? त्यसलाई कसरी सामना गर्नुहुन्छ ?
यो बुर्जुवा ब्यवस्थामा प्रगतिशील साँस्कृतिक आन्दोलनलाई अगाडी बढाउने कार्य निश्चित रुपमा त्यो निकै कठिन नै हुन्छ । यो मुल रुपमा जनबैरीहरुकै हितको रक्षा गर्ने ब्यवस्था हो । प्रतिक्रियावादी , दक्षिणपन्थी र संसोधनबादीहरुले हाम्रा पाइला पाइलामा चुनौतिका पहाडहरु खडा गर्ने गर्छ्न । हामी आफुले बोकेको आस्था र बिचारको सहारामा ती पहाडहरु पन्छाउदैअघि बढ्नेछौ । हाम्रो बाटो निकै कठिन छ । यो समतामुलक र समानतामुलक समाज निर्माण नहुन्जेल अनन्तकाल सम्म चल्ने यात्रा हो । ब्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षालाई त्यागेर , जनमुक्तिको एक मात्र सपना पूरा गर्नु नै यो यात्राको उद्देश्य हो । यो लामो र कठिन यात्रामा सधैभरी सबै यात्री टिकिरहन नसक्दा रहेछ्न । कोहि थाक्छ्न , कोहि गल्छ्न , कोहि ढल्छ्न ,कोहि भाग्छन कोहि जनबैरीहरुले बिछ्याएको प्रलोभनको मोहजालमा फस्न पुग्छ्न र बिक्छ्न । कुनै पनि जनसाँस्कृतिककर्मि प्रगतिशील साँस्कृतिक आन्दोलनमा निरन्तर टिकिरहनु साच्चै नै गारो काम रहेछ । मान्छेका आफ्नै बाध्यता र बिवशताहरु पनि हुन्छ्न , अभिभावकत्व ग्रहण गर्नेहरुले त्यसमाथी ध्यान पुर्याउन नसक्दा पनि कतिपय यात्रीहरु बाध्यताबस पलायन हुने गरेका छ्न । क्रान्तिकारी बिचारको रक्षा नै अहिलेको मुख्य प्रस्न बनेको छ । हामीले त्यही बिचार रक्षाको प्रयास गरिरहेका छौ । इतिहासका सबै घटनाक्रम बाट पाठ सिक्दै हामीले रक्तिम यात्रालाई अगाडी बढाउने प्रयास गर्दै आएका छौ र निरन्तर अगाडि बढाइरहनेछौ ।
अरु केही भन्नू छ कि ?
देशमा खास गरि आफुलाइ वामपन्थी र कम्युनिस्ट पार्टी बताउने केही पार्टीका शिर्ष नेताहरुमै साँस्कृतिक बैचारिक बिचलन तिब्रतर गतिमा हुँदै गैरहेको देखिन्छ । कम्युनिस्ट आचरण र नैतिकतालाई उनिहरुले तिलान्जली दिदै गैरहेका छ्न । बुर्जुवा पार्टीका नेता र कतिपय आफुलाइ कम्युनिस्ट बताउने पार्टीका नेताहरुको जीवन स्तर र ब्यवहारमा त अझ रत्तिभर पनि फरक देखिन्न । कम्युनिस्ट भनेको त ब्यक्तिगत स्वार्थरहित उच्च चेतनाको नैतिकवान मान्छे हो तर यहाँ त आफुलाइ कम्युनिस्ट पार्टीको नेता बताउने कुनै कुनै नेताले त भ्रष्टाचार र अनियमिततामा बुर्जुवाहरुलाई पनि माथ दिएका छ्न । एक कम्युनिस्ट नेताको दैनिक जीवन कस्तो हुनु पर्छ ? उस्को आचरण कस्तो हुनुपर्छ ? उसको जीवन दर्शन के हुनु पर्छ ? हिजो पार्टी प्रशिक्षणहरुमा ती प्रस्नहरु बारे जे पढाएका थिए कम्युनिस्ट पार्टिका नेताहरुले आज सत्ता र संसदमा पुगिसकेपछी आफ्नै व्यवहार त्यसको ठिक बिपरित गरिरहेका छ्न ।
हिजो हामो जीवन दर्शन द्वन्द्वात्मक भौतिकवाद हो भनेर पढाउनेहरु आज आफै गेरु बस्त्र धारण गरेर मठ मन्दिर धाएका छ्न । भैंसी पुजा गर्न थालेका छन । कालो बोका डोर्याउदै कुल पुजामा जान थालेका छन । होलि वाइन पिउन थालेका छन । जन्म दिन र बैवाहिक बर्षगाठ केक काटेर मनाउन थालेका छ्न । देवालीमा मुल झाक्री बन्दै भट्याउन थालेका छ्न । भजन कृतनमा नाच्न थालेका छ्न । प्रगतिशील गीत र सङ्गीत र कला साहित्यको संरक्षण र सम्बर्द्धन गर्न तर्फ होइन मठ मन्दिरमा सुनका गजुर र मुर्ती थप्न थालेका छ्न । हिजो युद्ध वा आन्दोलनका बेला जुन गित सङ्गीत र साहित्यले उनिहरुलाइ उर्जा दिन्थ्यो , जनतालाइ चेतनशिल , सङ्गठित र आन्दोलित पार्थ्यो, आज तिनै प्रगतिशील गीत सङ्गीत र कला साहित्यलाई उनिहरुले भुल्दै गैरहेका छ्न । जनसँस्कृती र जनकलाकार एवं साहित्यकर्मिहरुलाइ गलत्याउदै बुर्जुवा सँस्कृती र कलाकारहरुलाइ काखी च्याप्न थालेका छन, आफुलाइ कम्युनिस्ट बताउने कतिपय नेताहरुले । यो बास्तवमा कम्युनिस्ट नेताहरुको बैचारिक र साँस्कृतिक पतनको कुरुप चित्र हो । हामी चाहान्छौ सबै भन्दा पहिला साँस्कृतिक पतनको यो सिलसिला कम्युनिस्ट नेताहरुले अब रोक्नै पर्दछ । उनिहरु सुध्रिनु पर्दछ । बुर्जुवा कलाकर्मी र सँस्कृतिलाइ काखी च्याप्न छोडेर प्रगतिशील जनबादी साँस्कृतिककर्मिहरुको साथ लिनु पर्दछ । प्रगतिशील गीत सङ्गीत र कला साहित्यले मान्छेलाइ अन्याय , अत्याचार , विभेद र बिसङ्गतीका बिरुद्द जुध्न सिकाउछ । सुसभ्य समाज निर्माणमा अघि बढ्न मानिसहरुलाइ अभिप्रेरित गर्छ । निरासालाइ चिर्दै आसाको ज्योती जगाउछ । मानिसहरुमा उर्जा र साहास भर्छ । त्यसैले सुसभ्य समाज निर्माणका पक्षधर सबै राजनैतिक शक्ति र नेताहरुले प्रगतिशील गित सङ्गित र साहित्यको संरक्षण र बिकासमा आफ्नो ध्यान केन्द्रित गर्नु पर्छ ।
अन्त्यमा, सम्पुर्ण पाठकबृन्द सङ्ग पनि म यहि अनुरोध गर्न चाहान्छु । तपाईहरुले पनि प्रगतिशील गीत ,सङ्गीत र कला साहित्यलाई माया गरिदिनु होला । सुनिदिनु होला । हेरिदिनु होला र मनन गरिदिनु होला । आफ्ना बिचारहरु राख्ने अवसर दिनु भएकोमा हजुर र सम्पुर्ण बिम्ब अनलाइन परिवार प्रती हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।धन्यवाद
प्रतिक्रिया