भियतनामले न्याय र राष्ट्रिय हितहरू रोज्छ त्यसले आफूलाई अरूको प्यादा बन्नबाट रोक्न सक्छ -पुर्व भियतनामी अधिकारी

भियतनामी कम्युनिस्ट आन्दोलनका नेता हो ची मिन्हले माओ त्सेतुङ र चाउ एनलाइजस्ता चिनियाँ कम्युनिस्टहरू नेतासँग गहिरो मित्रता स्थापना गर्नुभयो

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर ३० ०९:४४ बजे

(ग्लोबल टाइम्सका सम्पादकको नोट - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार भियतनामको न्हान् डान अखबारले प्रकाशित गरेको एउटा लेखमा दुवै देशको साझा भविष्यसहितको चीन–भियतनाम समुदायको निर्माण गर्न आह्वान गर्नुभएको छ । उक्त लेखले रणनीतिक महत्व बोकेको छ र दुई देशको “परम्परागत मित्रताको विशेषता रहेको ‘सहयोग र भ्रातृत्व’” लाई विशेष महत्व दर्शाएको छ ।

ग्लोबल टाइम्स (जीटी)का संवाददाता ली एक्सिनसँगको एक विशेष अन्तर्वार्तामा, भियतनाम–चीन मित्रता सङ्घका उपाध्यक्ष एवम् चीनका लागि भियतनामका पूर्वमन्त्री सल्लाहकार–उपराजदूत न्गुएन भिन्ह क्वाङ (क्वाङ) ले ‘सौहार्द र भ्रातृत्व’ शब्दको आफ्नो बुझाइको बारेमा कुराकानी गर्नुभयो । साथै वर्तमान चीन–भियतनाम सम्बन्ध र चीन–अमेरिका प्रतिस्पर्धाको बिचमा हनोइको स्थितिबारे आफ्ना विचारहरूहरू व्यक्त गर्नुभयो ।

ग्लोबल टाइम्स - हालका वर्षहरूमा चीन र भियतनामबिचको उच्च–स्तरीय अन्तरक्रियालाई फर्केर हेर्दा केही विश्लेषकहरू विश्वास गर्छन् कि दुई देशहरू बारम्बार ‘आफन्तहरू जस्तै एक अर्कालाई भेट्दै आएका छन् ।’ यसमा तपाईको धारणा के छ ?

क्वाङः भियतनाम र चीन असल मित्र हुन् । हामीले ‘चार राम्रो’ लक्ष्यहरू निर्धारण गरेका छौँः असल छिमेकी, असल साथी, असल कामरेड र असल साझेदार बन्ने । चिनियाँ भनाइअनुसार धेरै आदानप्रदानले परिवार र साथीहरूलाई एकसाथ नजिक ल्याउनेछ । भियतनाम र चीनबिचको घनिष्ठ सम्बन्धका कारण दुवै देशका उच्चस्तरीय नेताहरूले आपसी भ्रमणलाई निरन्तरता दिनु अत्यन्तै महत्वपूर्ण छ । सञ्चारले आपसी समझदारीलाई बढावा दिन्छ र समझदारी मैत्री सम्बन्धको आधार हो ।

ग्लोबल टाइम्स - तपाईं कमरेडरी प्लस ब्रदरहुडCamaraderie plus brotherhood शब्दलाई कसरी व्याख्या गर्नुहुन्छ ? चीन–भियतनाम सम्बन्धको सन्दर्भमा यो अभिव्यक्ति तपाईलाई कस्तो लाग्छ ?

क्वाङः दुई पक्ष र दुई देशबिचको मैत्रीपूर्ण आदान–प्रदानको इतिहासलाई फर्केर हेर्दा, चीन–भियतनाम सम्बन्धलाई ‘कमरेडरी र भ्रातृत्व’ भनेर व्याख्या गर्नु सही हो । १९२० को दसकमै भियतनामी कम्युनिस्ट आन्दोलनका नेता हो ची मिन्हले माओ त्सेतुङ र चाउ एनलाइजस्ता चिनियाँ कम्युनिस्टहरू नेतासँग गहिरो मित्रता स्थापना गर्नुभयो । उहाँहरू आफ्नो देशका जनतालाई साम्राज्यवाद र उपनिवेशवादको बन्धनबाट मुक्त गराउने सङ्कल्पमा तल्लीन हुनुहुन्थ्यो । दुवै पार्टीले आ–आफ्ना जनतालाई राष्ट्रिय मुक्ति र राष्ट्रिय विकासको प्रवद्र्धन गर्न नेतृत्व गरेका छन् । यस प्रक्रियामा, तिनीहरूले एक अर्कालाई मद्दत गरे । आज दुवै देशले आ–आफ्नो सुधार र खुलापनका प्रयासहरूमा फलदायी सहयोग गरेका छन् र उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छन् ।

ग्लोबल टाइम्स - चीन–भियतनाम आर्थिक र व्यापारिक सहयोगको क्षेत्रमाबाहेक ध्यान केन्द्रित गर्नुपर्ने अर्को क्षेत्र तपाईलाई के लाग्छ र कुन क्षेत्रमा सबैभन्दा बढी सम्भावना छ ?

क्वाङः मलाई विश्वास छ कि दुई देशबिच सहयोगको ठूलो सम्भावना अझै छ । दुवै देशको विकास मार्गमा धेरै समानताहरू छन् र सिद्धान्त एवम् व्यावहारिक अनुभवहरू आदानप्रदान गर्नु सहयोगको मुख्य विशेषता हो । दुई देशबिचको आर्थिक र व्यापारिक सहयोगको सन्दर्भमा अझै पनि अपार सम्भावनाहरू छन् । भियतनामसँग प्रचुर मात्रामा कृषि र माछापालन उत्पादनहरू छन् जसले चीनको मागहरू पूरा गर्न सक्छ र धेरै चिनियाँ सामानहरू भियतनामी उपभोक्ताहरूमाझ पनि लोकप्रिय छन् । विशेषगरी नयाँ युगमा दुवै देश हरित विकास, स्वच्छ ऊर्जाको उपयोग र डिजिटल अर्थतन्त्रको विकास गर्न प्रतिबद्ध छन् । यी नयाँ क्षेत्रहरू छन् जहाँ चीनका निम्ति फाइदाहरू छन् र म आशा गर्दछु कि दुई देशले सहयोगलाई सुदृढ गर्न, एकअर्काको शक्तिलाई परिपूरक बनाउन र साझा विकास हासिल गर्न सक्नेछन् ।

ग्लोबल टाइम्स - आधुनिकीकरणको लागि चिनियाँ मार्गले भियतनामलाई प्रेरित गर्न सक्छ जस्तो लाग्छ ?

क्वाङः चीन एक प्रमुख देश हो र उच्चस्तरको उत्पादकत्वकोसाथ विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो  । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा व्याख्या गरिएको आधुनिकीकरणको चिनियाँ मार्ग चीनको राष्ट्रिय परिस्थिति अनुरूप छ । भियतनाम र चीनबिच केही समानताहरूका कारणहरू छन् जस्तै दुवै समाजवादी देशहरू र कम्युनिस्ट पार्टीको नेतृत्वलाई पालना गर्ने, हामी केही अपेक्षाकृत समान सामाजिक र आर्थिक व्यवस्थापन संयन्त्रहरू साझा गर्छौं । तसर्थ, आधुनिकीकरणको चिनियाँ मार्गले भियतनामको आर्थिक र सामाजिक विकासलाई प्रेरित गर्न सक्छ र सान्दर्भिक छ भन्ने मेरो विश्वास छ ।

ग्लोबल टाइम्स - केही पर्यवेक्षकहरू चिन्तित छन् कि चीनसँग प्रतिस्पर्धाको पृष्ठभूमिमा संरा अमेरिकाले भियतनामलाई आफ्नो इन्डो–प्यासिफिक रणनीतिमा आफ्नो प्यादाको रूपमा प्रयोग गरिरहेको छ । के तपाइ यी चिन्ताहरूमा सहमत हुनुहुन्छ ? भियतनामले संरा अमेरिकाको शोषणबाट कसरी बच्नुपर्छ जस्तो लाग्छ ?

क्वाङः भियतनाम अमेरिकी रणनीतिमा मोहरा वा प्यादा बन्ने चिन्ता गर्नेहरूले भियतनामको स्वतन्त्र विदेश नीति तथा भियतनाम र चीनबिचको व्यापक रणनीतिक सहकारी साझेदारीलाई पूर्णरूपमा बुझेका छैनन् । इतिहासले भियतनामको स्वतन्त्रता, आत्मनिर्भरता, विविधीकरण र बाह्य सम्बन्धको बहुपक्षीयतालगायतका सुधारका प्रयासहरू सही भएको प्रमाणित गरेको छ । भियतनामले विश्वव्यापी अनुभवबाट सिक्नुपर्छ तर बाह्य दबाबको अधिनमा नभई वा आफूलाई अर्को देशको मोहरा बन्न नदिई आफ्नै राष्ट्रिय मामिलाहरू सम्बोधन गर्न नीति र उपायहरू बनाउन मुख्यतया आफ्नै शक्तिमा भर पर्नुपर्छ । तसर्थ, भियतनामलाई अन्य कुनै पनि देशको सामना गर्न प्रयोग भइरहेकोमा म चिन्तित छैन । भियतनामले बारम्बार जोड दिएको छ कि उसले कसैको रणनीतिको पक्ष लिदैन । यसले न्याय र आफ्ना राष्ट्रिय हितहरू छनोट गर्छ जसले आफैलाई अरूको प्यादा बन्नबाट रोक्नसक्छ ।

ग्लोबल टाइम्स - तपाईं ‘सी चिनफिङ - द गभर्नेन्स अफ चाइना’ पुस्तकको भियतनामी संस्करणको मुख्य अनुवादक हुनुहुन्छ । हामीलाई यो पनि थाहा छ कि हालका वर्षहरूमा तपाईँ प्रत्येक वर्ष चिनियाँ कम्युनिस्ट पार्टीका सिद्धान्तहरू अध्ययन गर्ने कम्तीमा एउटा पुस्तक अनुवाद गर्न संलग्न हुनुहुन्छ । यी पुस्तकहरूबारे भियतनामी पाठकहरूको प्रतिक्रिया के छ ? यी पुस्तकहरूको कुन भागहरू उनीहरूलाई बढी आकर्षित छन ?

क्वाङः भियतनाममा धेरै चिनियाँ पुस्तकहरू भियतनामी भाषामा अनुवाद गरिएका छन् र हाम्रा पाठकहरूले राम्रोसँग स्वीकार गरेका छन् । मैले व्यक्तिगतरूपमा केही पुस्तकहरू अनुवाद गरेको छु वा यी केही चिनियाँ पुस्तकहरू अनुवाद र शुद्धाशुद्धीमा संलग्न भएको छु, जसमध्ये म सि जिनपिङः द गभर्नेन्स अफ चाइनालगायत सैद्धान्तिक कार्यहरूमा रुचि राख्छु । सैद्धान्तिक कार्यका लागि लक्षित पाठकहरू साधारण नागरिक होइनन् बरु अधिकारीहरू र विद्वानहरू हुन्, जुन अपेक्षाकृत कम सङ्ख्यामा छन् । तर मैले यी कृतिहरू पारिश्रमिकको लागि होइन तर पाठकहरूलाई चीन, यसको विकास अनुभव र यसको सुधार र खुलापनको सफलताको कारणहरूबारे गहन ढङ्गले बुझाउनको लागि अनुवाद गरेको छु ।

म दुई देशका उच्च वर्गबिच आपसी समझदारी बढाउन र द्विपक्षीय सम्बन्धको विकासलाई प्रवद्र्धन गर्न पनि चाहन्छु । यीमध्ये धेरै पुस्तकहरूले पाठकहरूको ध्यान खिचेका छन् र कतिपयको माग बढेको कारण पुनः पुनः छापिएका छन् । मलाई लाग्छ कि भियतनामी पाठकहरूले चीनको सुधार र खुलापन प्रक्रियाको क्रममा देखा परेका सैद्धान्तिक मामिलाहरूका साथै चीनको समाधानको नीतिमा बढी चासो राख्छन् ।– ग्लोबल टाइम्सबाट   अनुवाद ः प्रकाश



२०८० मंसिर ३० ०९:४४ बजे

प्रतिक्रिया