त्याग ,वलिदान विनाको संर्घषका उपलब्धिहरु दिगो र सुखद हुदैनन - मैना रावल

अहिलेको राजनैतिक भावना वर्ग संघर्श मुक्ति विभेद ,अत्याचार र वर्गिय मुक्तीका लागी नभई सतहि सस्तो लोकपृयता र चरम अवसरवाद बाट निर्दिष्ट भई व्यक्तिगत स्वार्थमा सिमित हुदै गएको छ ।दर्शन निति विचार र सिद्वान्तहरुको कक्टेलको उत्पादन र सहज वितरण तथा उपभोग भईरहेको छ भन्दा फरक नहोला

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर ६ १९:३६ बजे

 डडेल्धुरा जिल्लाको आलिताल गाँउपालीकाका उपाअध्यक्ष एव नेकपा(माओवादी केन्द्र) की  प्नदेश कमिटी सदस्य हुनुहुन्छ। जसले जनयुध्दमा किशोर अवस्थामा नै सहभागी भइन र शान्ती सम्झौता पछि पुनः आफ्नो पठाइ लाइ निरन्तरता दिदै राजनितिमा पनि सकृय रहेकी छन। उनै मैना रावल सँगको भेटमा बिम्व अनलाइनले गरेको कुराकानीमा आधारित  अन्तर्वाताका सम्पादीत अँशहरु

 उपाअध्यक्ष ज्यु   तपाई आफ्नो राजनैतिक पृष्ठभुमी बताईदिनु हुन्छ की ?

म डडेल्धुरा जिल्लाको भौगलिक विकटताले घेरिएको रमणिय भुगोल र असिमित अभावका विचमा गाउँले परिवेसमा हुर्किएकी मान्छे हुँ। बि.स. २०५९ सालतिर स्थानिय विद्यालय श्री श्यालचौडी मा.वि.मा जेनतेन गरि कक्षा ८ मा अध्ययनरत थिए, स्वभावगत सानै देखी निडर र फरक धारणा थियो त्यसैताका मुक्तिगामी जनताको न्यायका लागी लड्ने क्रान्तिकारी पार्टी संग हिचिम बढ्यो र विद्यार्थी संगठनमा आवद्व भई छोटो समयमा नै होलटाइमर अथवा भुमिगत भई थप संघर्समा होमिए ।

जव बि.स. २०६२-६३ सालमा पार्टीले वृहत शान्ति सम्झौता गरी युद्व विरामको घोषणा गर्यो र हामी पुनः सोही विद्यालयमा भर्ना भई विद्यार्थी जिवनमा फर्कियौ र २०६६ सालमा एस.एल.सि. उतिर्ण पश्चात थप अध्ययनका लागी श्री दुर्गा उच्च मा.वि. मा भर्ना भई आई एड र प्राविधिक पि. जे .टि .ए. सम्मको अध्ययन पश्चात जिविकोउपार्जनको लागी सानो व्यापार संग जोडिए र जेनतेन उठबस लाई सहज बनाए ।हाम्रो पार्टी पनी बहुदलिय संघिय संसदिय ब्यवस्था अनुरुप चुनावमा जाने पक्का पक्की भई २०७४ को स्थानियतह को चुनावि तयारीमा लाग्यो र हामी पनि  चुनावी प्रचारप्रसारमा होमियौ । पार्टी भित्र आन्तरिक छलफल र बहस पश्चात समग्र भुगोल नेतृत्व हुने गरी टिकट वितरणमा फरकै सहमतिमा गयौ र म पार्टीलाई सर्हष समर्थन गर्दै दलिय जितका लागीपरे तर विडम्वना हामी स्थानिय तह निर्वाचन २०७४ मा नेतृत्वलिन असफल रह्यौ । २०७९ मा पार्टीको निर्विरोध निर्णय र आम आलिताल वासी जनसमुदायको चुनावी फैसला अनुसार निर्वाचित हुन सफल भए ।

विषेश गरी निस्वार्थ जनसेवा, न्याय र मुक्तीको धारणा वाट विचलित नभइकन हाल निर्वाचित गाउँपालिका  उपाध्यक्ष, माओवादी केन्द्रको प्रदेश कमिटि सदस्य, सु.प.प्रदेश अखिल नेपाल महिला संघ क्रान्तीकारी को उपाध्यक्ष, गाउँपालिका महासंघको सदस्य र पार्टीको आलिताल गा.पा.सह ईन्चार्जको भूमिकामा रही संगठित र सकृय राजनैतिक यात्रामा अनवरत छु ।

जनयुद्व कालको राजनैतिक र अहिलेको राजनैतिकमा कस्तो अनुभुती गर्नु भएको छ ?

हामी आफै क्रान्तिकारी अझै अग्रगामी परिवर्तनका लागी संघर्षरत पार्टीका योद्दा त्यहि भएरहोला सायद व्यक्तिगत स्वार्थ र जिवन भन्दा सामाजिक न्याय र जिवन भित्र रमासउन सिकेका छौ ।त्यति वेलाको जनचेतना र भावनामा निकै अन्तर थियो । हामीले विषम परिस्थितिमा विशेष व्यवस्थाका विरुद्वमा न्यायका लागी वर्ग संघर्ष गरेका थियौ। त्यसताका धैरै सुधारात्मक काम गर्यौ । अन्याय अत्याचार वर्गिय विभेद र थिचोमिचोलाई बर्ग संर्घष को एजेन्डा जस्तो बनाई जनस्तरमा सफल कार्यन्वयन गरेका थियौ । त्यहि भएर हामी जनप्रिय परिवर्तनकारी र जनसेवकका रुपमा परिचित हुदै स्थापित भयौ तर समय वित्दैजादा हाम्रा सपनाहरु न्यायहरु संगठन तथा संजालहरुपनि विस्तारै विविध कारणवस आंशिक क्षयिकरण र कम सकृय हुदै  गएको जस्तो अनुभुति भइरहेको छ सम्पुर्ण न्यायप्रेमी आम जनसमुदायलाई पुनः एकपटक थप ससक्त संगठित र सकृय हुदै वाँकी रहेको जनक्रान्तीलाई शान्तिपुर्ण ढङ्गबाट निश्कर्षमा पुराउन समर्थन गर्नु हुनेछ भन्ने पुर्ण आसावादी र अनुरोध गर्दछु ।जनताले हामी प्रती गरेको आशा विश्वास र अपेक्षाहरु धेरै थिए र छन । जुन स्प्रिटमा सवैक्षेत्रमा विकास हुनुपर्ने थियो विविध कारणवश हुन नसकेको सर्वविधित छ र त्यही नैराश्यताको उपजहोला हामी केही कम लोकप्रिय निश्कृय जस्ता देखिएका छौ तर विकाश र निकास क्रान्तीबाटै सम्भव छ । जस्मा तपाईहरुको ठुलो भुमिका र स्थान रहनेछ।

अहिलेको राजनैतिक भावना वर्ग संघर्ष मुक्ति विभेद ,अत्याचार र वर्गिय मुक्तीका लागी नभई सतहि सस्तो लोकप्रियता र चरम अवसरवाद बाट निर्दिष्ट भई व्यक्तिगत स्वार्थमा सिमित हुदै गएको छ ।दर्शन निति विचार र सिद्वान्तहरुको कक्टेलको उत्पादन र सहज वितरण तथा उपभोग भईरहेको छ भन्दा फरक नहोला । 

पितृसत्तात्मक सोच रहेको नेपाली समाजमा महिलाहरुलाई नेता र नेतृत्व स्विकार गर्ने अवस्था कत्तिको छ ?

हाम्रो समाज बहुआयामिक भाषा धर्म र जातजातीले आधारमा बनेको छ । आस्था भावना र मुल्य मान्यताहरु पनि एक समान छैनन। दृष्टिकोणले  हामी केही नयाँ र धेरै पुरानो सोचमा रुमाल्लिएका छौ  तर जहाँ हामी छौ यही पनि १० वर्षे महान जनक्रान्तीको उपज हो ।धेरै नभएपनि थोरै बाध्यात्मक परिवर्तनलाई अस्विकार्ने अवस्था छैन अहिले राजनैतिक दलहरुले थोरै भएपनि यसमा प्रतिस्प्रर्धा गरिरहेको देख्दा केही भैहाल्छ कि भन्ने भान हुन्छ तर अन्ततः महिला प्रति हुने हिंसा र विभेदको  अवस्था हेर्दा अझै अधिकारको लडाई लड्नु पर्छ भन्ने लाग्छः पुरुषवादी सोचले मान्ला या नमान्ला तर हामीले मर्नु भन्दा अगाडी खुट्टा लतार्नुपनि त मिल्दैन होलानी ? हिजो राज्य व्यवस्थाका विरुद्वमा के महिलाहरु लडेका होइनन र ? हरेक प्लाटुन कम्पनी र डिभिजनमा अनि ज. व. स.मा महिलाहरुको राम्रो उपस्थिति थियो । सम्पुर्ण देश र जनताको लागी संर्घष गर्ने र उपलव्धिलाई अथवा परिवर्तित व्यवस्थालाई मान्ने तर महिलालाई नेता वा नेतृत्व स्विकार नगर्ने पनि हुन्छ र ? के  यसो भनि रहदा महिला सहिदको अपमान हुन्न र ?हामीले थोरै सोच अथवा दृष्ट्रिकोण परिवर्तन गर्यौ भने वा महिलालाई सम्मानको दृष्टीले हेर्न सक्यौ भने मलाई लाग्छ सहजै स्विकार हुन्छ र गर्नु पर्छ।

आलिताल गाउँपालिकामा महिला र वालवालिकाको क्षेत्रमा नयाँ निति र कार्यक्रम के गरिरहनु भएको छ ?

मलाई के लाग्छ भने कागजी रुपमा राखिने देखावटी तथ्याङ्क अथवा स्थापित हुनका लागी सधै नयाँ मात्रै गर्नु पर्छ भन्ने लाग्दैन पुराना जनमुखी उत्कृष्ट र लक्षित कार्यक्रमहरुलाई कार्यान्वयन अथवा व्यवहारमा परिणाम दिने अनुसार थोरै निति हेरफेर गर्यौ भने मात्रै पनि राम्रो नतिजा हासिल गर्न सक्छौ ।हामी निर्वाचित पश्चात महिला र वालवालिका लक्षित धेरै कार्यक्रमहरु निति बनाएर कार्यक्रम कार्यान्वयन गरिरहेका छौ । जस्तै ,महिला हिंसा न्युनिकरण शसक्तिकरण अभियान,एकल महिला, सिमान्तकृत महिला तथा उद्यमसिल महिला दिदिबहिनिहरुलाई प्रत्यक्ष आय संग जोड्न सिपमुलक तालिम को व्यवस्था,किशोरीहरुका लागी निशुल्क सेनेट्यारी प्याड को व्यवस्था,अविभावक विहिन वालवालिका, गरिव तथा जेहेन्दार वालवालिकाहरुलाई शैक्षिक सामग्री तथा पोषाक र भत्ता को व्यवस्था ।

तपाई न्यायिक समितीको संयोजक पनि हुनुहुन्छ,न्यायिक समितिले के कसरी विवाद समाधान गरेको छ ? तपाईले  के-के समस्याको  सामना गर्नुपरेको छ ?

हामी न्याय सम्पादनमा एकदमै जनमुखि काम गरिरहेका छौ प्रकृयागत जटिलता वाबजुत पनि सक्दो जनपरिचालन गरि छिटो र विश्वसनिय न्याय सम्पादनको व्यवस्था गरेका छौ । निश्पक्ष र छिटो न्याय सम्पादनका लागि वडा स्तरहुदै पालिकामा न्यायिक समितिलाई तालिम सहित पुर्णता दिएका छौ ।न्यायिक समितीको काम कार्वाहीलाई थप व्यवस्थित,विश्वसनिय र मर्यादित वनाउन कार्यालयको स्थापना गरि कर्मचारीको व्यवस्था पनि गरेका छौ । थप जनमुखि र पार्दशिताका लागी सम्पुर्ण न्यायिक प्रकृया तथा निर्णयहरु सम्वन्धित ले बुझ्ने गरी तथ्याङ्क राख्ने र उपलव्ध गराउने प्रतिवद्वता गर्दछौ ।

कहिले काही हाम्रो क्षेत्राअधिकार स्थानिय सरकार संचालन ऐन दफा ४७ को (१),(२) भन्दा बाहिरका उजुरीहरुको फैसला स्थानिय न्यायिक समितिले नै गरुन भन्ने जन चाहना लाई सम्वोधन वा न्याय निरुपण गर्न नसक्नु र छिटो न्याय निरुपणका लागी केही प्रकृयागत जटिलता, असमान बुझाई,दक्ष जनशक्तिको कमी र मेलमिलापत्र मात्रै गर्नुपर्ने अवधारणा अनुसार गलतलाई पनि पुर्ण गलत भन्न नपाउनु र दोसीलाई सजायको फैसला गर्न नमिल्ने प्रावधान नै चुनौती हो जस्तो लाग्छ । सामाजिक मेलमिलापको पक्षमा राम्रो मानिएपनि गल्तिलाई पनि पुर्ण गलत नभनिकन सामाजिक मेलमिलाप गर्नुपर्ने हुदा पिडित प्रति केही अन्याय पो गर्दैछौ कि भन्ने महसुश हुन्छ ।

तपाइको गाउँपालीका योजनाहरुको स्टमेट अनुसार गुणस्तर कायम रहने गरी योजना मा काम भएका छन या छैनन ? नभएको योजनामा अहिले सम्म कार्वाही को प्रकृया चलाउनु भएको छ कि छैन? कार्यकालको झन्डै डेढ वर्ष वितिसक्दा यस्ता कमिटमेन्टहरु सुन्न जान्न पाईएको छैन । मलाई लाग्छ योजना निर्माण भई रहदा प्राविधिक विषयमा सतप्रतिशत नै त भन्न सकिदैन तर पनि हामीले क्वालिटी कन्ट्रोलका लागी नियमित अनुगमन तथा छड्के पनि गरिरहेका हुन्छौ । केहि कामहरु निर्धारित समयमा सम्झौता गरी सुरु अथवा नसकिएका त छन त्यस्ता निर्माण कम्पनी र कामदारलाई हामीले मौखिक जानकारी दिने अथवा पुर्ण सम्पन्न र अनुगमन अगावै  भुक्तानी रोक्का सम्मका कार्वाही गरेका छौ । तथ्याङ्क अनुसार अहिले सम्म सम्झौता गरी अग्रम भुक्तानी लिई निर्धारीत समयमा काम संचालन नगरेकाले एज वार्निङ लाइ लिखित ताकेता गरेका थियौ ।

तपाईले पदिय हैसियतले काम गर्दा भनसुन वा दवाव प्रभाव कत्तिको आउने गरेका छन ? कसरी सामना गर्नु भएको छ ?

सायद फरक राजनैतिक पृष्ठभुमी र फरक स्वभाव भएको भएर होला आजका मिती सम्म त्यस्तो महसुश भएको छैन ।मैले आत्म निर्णय स्वाभाव र आफुलाई मात्र विश्वास गर्ने भएकाले होला आफ्नो सक्षमतामा निश्पक्ष स्वार्थ रहित जनहितमा रहि जनसेवा मा छु ।के अनुरोध गर्दछु भने निजि स्वार्थका निम्ती भनसुन र दवावको कसैले कुनै कुचेष्ठा गर्नुहुने छैन ।व्यक्ति समुह पार्टी विषेस अनि पक्ष विपक्षमा व्यक्तिगत स्वार्थको गन्धमा रमाउनेमा भन्दा पनि सामुहिक संघर्ष र सार्वजनिक न्यायमा वढी बिश्वास गर्दछु ।सायद कहिलेकाही आशा अपेक्षा गरेको भएरहोला फरक ईच्छा र आकांक्षा राख्नुहुन्छ ।म असम्भव लाई कहिले पनि नबुझि अथवा स्वार्थमा रहि कुनै पनि मान्छे लाई सक्छु गर्छु नभनिकन श्रोत र सम्भाव्यतालाई अध्ययन गर्नेछु भने प्रष्ट काउन्सिलिङ र कन्भिनियन्स गर्ने गरेकी छु । अनि प्रष्ट हुदै मिठो विदावादी हुन्छ र आत्मियता जिवन्त राख्दै नित्य कर्म तिर तल्लिन हुन्छु ।

अन्तमा तपाई को केही भन्नु छ ?

अहिले हाम्रो समाज र हामी अस्थिर बनेका छौ बाहिरी देखावटी रंगिन संसार र कल्पनामा रमाईरहेका छौ समग्रमा आफुले आफुलाई चिन्नु भन्दा पनि हिडिरहेको जमातको पछाडी वेसुर भएर भौतारीदै दौडिरहेका छौ। व्यवस्था परिवर्तन गर्ने अनि अवस्था बदल्नमा लागिरहेका हामीहरुपनि यही भिडमा निसास्सिएका जस्ता छौ । क्रान्तिका केही चरणहरु त क्रस गर्यौ तर धेरै चरणहरु बाकी नै छन् यदी हामी हिजोकानारा  सर्वहाराको मुक्ती  जिविका र  त्याग सम्झियौ भने मात्र जिवन्त हुन सक्छौ । सत्ता परिवर्तन गरेका सम्पुर्ण हामी योद्वहरु अझै यथास्थितिवादीहरु को घेरावन्दीमा छौ तर समयक्रम संगै फेरिने छ क्षणिक तडक भडक र रंगिन संसारको परिकल्पना मात्रै गर्यौ भने दुःखी र गन्तव्य दिसाहिन हुनु बाहेक अरु कुनै विकल्प नै छैन त्यसैले  ढिलोचाडो अवस्यनै सफलता र सुख दिन्छ र सफलता पश्चात को सुखका लागी त्याग र संघर्ष हुनै पर्छ ।त्याग विनाको संर्घष को उपलब्धिहरु दिगो र सुखद हुदैनन । त्योत जुवामा जितेको सम्पति जस्तै लाग्छ ।कल्पना गर्नुभन्दा त्याग,संर्घष,सत्कर्ममा जोड दिउँ अनि त्यही शान्ती, स्थिरता र  भविष्य भेटिने छ । बिम्ब अनलाइन लाइ धन्यवाद।


२०८० मंसिर ६ १९:३६ बजे

प्रतिक्रिया