सुत्केरी गराउन समस्या

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १२ ०९:०९ बजे

 वाजुरा। बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसूति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगबाट निर्माण गरिएका यस्ता गृहबाट अझै सेवा सुचारु हुन सकेको छैन ।  बुढीगङ्गा नगरपालिका–१ र २ अम्कोट र बह्मतोलाको बिच पाल्नेढोरमा निर्माण गरिएको प्रसू्ति गृहबाट सेवा नियमित नहुँदा सुत्केरी गराउँन समस्या हुने गरेको बह्मतोलाका स्थानीय महिला जाल्पादेवी थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँका महिलालाई गाउँमै सुत्केरी गराउन सहजताका लागि निर्माण गरिएका यस्ता गृह सञ्चालनमा आएका छैनन् । बह्मतोला, धाभुवाँ, अम्कोट, बल्दे, खस्रे खेत र जमालवाडालगायतका गर्भवती महिला दुई घण्टाको बाटो हिँडेर बह्मतोला स्वास्थ्य चौकीमा जाने गरेका छन् ।  गर्भवती महिलालाई प्रसूति गराउन सहज हुने गरी बुढीगङ्गा नगरपालिकाको अम्कोट र बल्देको घट्टाला बस्ने ठाउँमा २०७७ साल कात्तिकमा प्रसूति भवन निर्माण गरिएको थियो । 

अन्य वडामा सुत्केरी गराउन गाउँमै प्रसूति गृह सञ्चालित छन् । गाउँमा भवन निर्माण भए पनि सेवा सुचारु नहुँदा सुत्केरी गराउन निकै सास्ती खेप्दै आउनु परेको भनाइ स्थानीय महिलाको छ । 

बुढीगङ्गा नगरपालिका–१, बालमैन्त्री आधारभूत विद्यालयका शिक्षक बहादुर थापा स्थानीय सरकारले यत्तिको लगानी गरेर गाउँमै प्रसूति गृह निर्माण गरे पनि सेवा सञ्चालन नहुँदा भवनहरू जीर्ण बन्दै गएको बताउनुहुन्छ ।  प्रदेश सरकारको आर्थिक सहयोगमा बुढीगङ्गा नगरपालिका–७ वडामा एक करोड पाँच लाख रुपियाँको लगानीमा सात वटा प्रसूति गृह निर्माण गरेको छ । बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले सुत्केरी गराउन तथा गाउँमा खोप लगाउन जाँदा सहजताका लागि प्रदेश सरकारले ती भवन निर्माण गरेको बताउनुभयो ।

ती भवनबाट नै यहाँका स्थानीयले प्रसूति सेवा सञ्चालनको माग गर्दै आएका छन् । कर्मचारी छैन् यता नगरले कर्मचारी भर्ना गरेको छैन् । उहाँले  “कर्मचारी नभएकै कारण ती भवनबाट सेवा दिन समस्या भएको बताउनुभयो ।( गोर्खापत्र अनलाइन)

  

२०८० कात्तिक १२ ०९:०९ बजे

प्रतिक्रिया