काठमाण्डौ। यस पटकको भाद्र महिना पूर्वी नेपालको सुन्दर शहर धरान धार्मिक विवादले तनावपूर्ण रहृयो । एकातिर धरानमा एउटा हिन्दु मन्दिरको नजिकै चर्च बनाइएको र त्यो चर्चलार्ई त्यहाँबाट हटाउनु पर्दछ भनेर उठेको विवादले हिंसात्मक द्वन्द्व नै निम्त्याउने हो कि भन्ने त्रास खडा गरेको थियो । प्रशासनको सतर्कता र स्थानीय सचेत जनताको सुझबुझपूर्ण व्यवहारका कारण अप्रिय घटना हुन पाएन । अर्कोतिर गाइको मासु विवादले पनि धरानलाई तनावपूर्ण बनायो ।धरान उपमहानगरपालिकामा हिन्दुहरूको जनसङ्ख्या पहिलो नम्बरमा छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार धरानमा हिन्दु धर्म मान्ने सबैभन्दा बढी ९३ हजार ३२८, दोश्रोमा किरात धर्म मान्ने ४३ हजार ५५९, तेश्रो स्थानमा बुद्ध धर्म मान्ने १८ हजार ५८, चौथो स्थानमा क्रिश्चियनहरू ९ हजार ३४० जना, पाँचौ स्थानमा इस्लाम धर्म मान्ने २ हजार ५७ जना रहेका छन् ।
त्रिश्चियनहरू त्यहाँका अल्पसङ्ख्यक समुदायहरू नै हुन् । धरानमा फरक फरक खालका त्रिश्चियन चर्चहरू छन। जस्तै आर्सी चर्च –यो रोमन क्याथोलिक चर्च हो । काम गरेर र काम देखाएर मुक्ति पाइन्छ भन्ने कुरा यो चर्चले राख्दछ । यो मूलतः अमेरिकनहरू सित जोडिएको छ । संसारभरि हस्पीटल, स्कूल खोल्ने, पैसा कमाउने, पानी धारा बनाउने आदि विकासको काम गर्ने आर्सी चर्चले गर्दछ । एल्सोडाई चर्च– यो चर्चले क्रिश्चियहरू सिधै स्वर्ग जान्छन् भन्दछ । यो एक प्रकारको प्रोटेस्टेन्ट इशाई सम्प्रदाय हो । यसले एल्सोडाई सम्प्रदाय बाहेकलाई झुठा क्रिश्चियन भन्छ । प्रोटेस्टेन्ट चर्च –यसले परमेश्वर प्रतिको विश्वासले मुक्ति पाइन्छ भन्छ । वाप्टीस चर्च –यो एक प्रकारको प्रोटेस्टेन्ट चर्च नै हो । विलिभर चर्च–यो पनि एक प्रकारको प्रोटेस्टैन्ट चर्च नै हो ।यसले पनि मिडिया प्रचार, विकास आदिमा ध्यान दिन्छ । यो चर्चको नेपालमा संस्थापक नारायण शर्मा हुन् । प्रेस विटारियन चर्च लगायत ।
माथि उल्लेख गरे झैं धरानमा विभिन्न प्रकृतिका चर्चहरू छन् । माथि उल्लेखित चर्चहरू मध्ये अहिले धरानमा विवादमा आएको चर्च विलिभर चर्च हो । यसको केन्द्रीय कार्यालय काठमाडौँमा छ । धरान उपमहानगरपालिकाको वडा नं. १४ गल्ली टोलमा २०५२ सालदेखि यो चर्च सानो झुप्रोबाट संचालनमा आएको थियो । करिब तीन वर्ष पहिले त्यस चर्चसित सम्बन्धित एक व्यक्तिले (क्रिश्चियनको भाषामा भन्नुपर्दा विश्वासीले) चर्च बनाउन एक कठ्ठा जग्गा दिएका थिए । त्यो जमिन हिन्दुहरूको बाल गोपाल मन्दिरको नजिकै छ । चर्च बन्यो र उद्घाटन पनि भयो । मन्दिर बनिसकेपछि बालगोपाल मन्दिर नजिकै चर्च बन्नु हुन्न भनेर केही हिन्दुहरूले विवाद निकाले र त्यसले राष्ट्रिय विवाद निम्त्यायो ।
खासगरी नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष जितेका व्यक्तिले चर्च त्यहाँबाट हटाइदिनु पर्दछ भनेर धरान उपमहानगरपालिकामा निवेदन हालेपछि यसले विवाद बढायो । धरान उपमहानगरपालिकाले दुवै पक्षलाई राखेर पनि कुरा गर्यो । नगरपालिकाले नगरपालिकाभित्र चर्च बनाउँदा नक्सा पास नगरी बनाउनु कमजोरी भयो भन्यो तर उसले मन्दिर नजिक चर्च बनाउन हुन्छ, बनाउन हुन्न केही पनि भनेन । त्यो कानुनले जे भन्छ, त्यही गर्नु भन्ने सल्लाह मात्र दियो ।
मैले चर्च हटाउनु पर्दछ भन्नेहरू मध्येका एक जना बिजयपुर धार्मिक संरक्षण समन्वय समितिका सचिव मातृका प्रशाद नेपाललाई फोन मार्फत त्यस बिषयमा धारणा राख्न भने । सचिब नेपालजीको भनाई यस्तो थियो,“ बिजयपुर क्षेत्र भनेको वैदिक क्षेत्र हो । दन्तकाली,पिण्डेश्वर धाम, बुढा सुब्बा पन्चकन्या लगायत त्यो पहाडमा ३१ हिन्दु मन्दिर छन् । सन १९९२ जेष्ठ २ गते बालगोपाल मन्दिर बनाइएकोथियो । त्यो मन्दिरको छेउँमा भवन बनाउँदा सुरुमा गोदाम घर हो भनियो, पछि पार्टी प्यालेस हो भनियो र २०७९फागुन २६ गते १ कठ्ठा १६ धुर जग्गा चर्चकोको नाममा पास गरियो । चर्च बनाउँदा नगरपालिकाबाट नक्सा पास गरिएकोछैन । हाम्रो एक मात्र माग बालगोपाल मन्दिरको अगाडिबाट चर्च हटाइनु पर्दछ । धरानमा ७५ वटा चर्च छन् यो ७६ औँ चर्च हो ।
हामीले कुनै पनि चर्चलाई हटाउन भनेका छैनौ । ढाटेर मन्दिरको अगाडि चर्च बनाइएकोछ । यो हट्नै पर्छ । हामी हटाउन नजाउँ, त्यो काम सरकार र प्रशासनले नै गरोस भन्ने हाम्रो इच्छा हो । यदि हटाइएन भने देश भरिका १५ हजार चर्च माथि एकै चोटि आक्रमण गरिन्छ । अन्य कृस्चियनहरूको सुरक्षाका लागि पनि त्यो बालगोपाल मन्दिरको अगाडिको चर्च हटाउन तपाइहरूले सल्लाह दिनुहोस । “ मैले नेपालजीको कुरालाई क्रस गर्दै भने,“ हैन नेपालजी, म कृस्चियन पनि हैन, हिन्दुको पक्षपोषक पनि हैन तर तपाइले त आक्रमण नै गर्ने कुरा गर्नु भयो । यस्तो ध्वँसकै कुरा गर्नु हुन्छ भने यहाँ आर. एस.एस. कै घुसपैठ छ भनेमा तपाई के भन्नू हुन्छ ?“ नेपालको प्रति उत्तर थियो, “ कहाँ छ आर. एस. एस . हामीलाई थाहा छैन । म आर एस एस खोज्दै छु । तर किन चाहियो आर एस एस ? ८१ प्रतिशत हिन्दु हामी यही छौँ । हामीले चाहने हो भने मिनेट भरमै एउटा बालुवाको टुक्रा नरहने गरी देशभरिका चर्चहरू सिनिट्टै हुन्छन् । “ म अलि सम्झाउने भाषामा बोल्न खोजे,“ हेर्नुस नेपालजी । धार्मिक द्वन्द्व असाध्य क्रुर हुन्छ ।
मैले त द्वन्द्व कालमा कपिलवस्तुको चन्द्रौटामा एक जना जमिनदार मुसलमानलाई माओवादीहरूले मारे पछि त्यहाँ भड्किएको जातीय हिंसा र त्यसपछिको कहालीलाग्दो वातावरण देखेकोछु । सारा पहाडीयाहरूको घर जले ज्युदै बच्चाहरूलाई आगोमा पोलियो । हामी उत्तेजनामा जादा स्थिति खराब हुन सक्छ । “ नेपालले अन्य तर्क थप्दै जानू भयो, “ फरक बिचार बोकेकाहरू एकै ठाउँमा बस्दा के हुन्छ ?२०६३ चैत्र २८ गते रौतहटको गौरमा माओवादी र फोरमको एउटै फिल्डमा कार्यक्रम हुँदा २८ जना माओवादीको हत्या भयो । फ्रान्समा चार्ली होम्दु नामका कलाकारले पैगम्वरको फोटो बनाउँदा इस्लाम धर्म माथि अपमान भयो भनेर मुस्लिमहरूले त्यो फोटो छाप्ने पत्रिकाका १२ जना पत्रकारलाई ठाउँका ठाउँ मारियो । अयोध्यामा हिन्दुहरूले मस्जिद हटाएर कसरी राम मन्दिर बनाए रु उनीहरूले नेपालको कालीगण्डकीबाट ढुङ्गा लगेर राम मन्दिर बनाउँदै छन् । “
मैले भने, “ नेपालजी हिन्दु धर्मावलम्बी भनेको नेपालमा धेरै जनसङ्ख्या भएको समुदाय हो । बहुसङ्ख्यक समुदाय त झन बढी संयमित हुनुपर्ने होइन र ? “
नेपालको कुरा थियो, “ हो । हामी संयमित भएर मात्र हो । ‘
माथिका कुरा सुन्दा सचिव नेपालले गौर हत्याकाण्ड, फ्रान्स र अयोध्याका घटना जस्ता अतिवादी हिंसात्मक घटनाका उदाहरण दिनु भयो । उहाँका कुरा सुन्दा एकै चोटि १५ हजार चर्च माथि आक्रमण गर्ने जस्ता उग्र कुरा पनि गर्नु भयो । यस्ता उग्र कुराले समाजमा धार्मिक दङ्गा निम्ताउन सक्दछ । यदि क्रिश्चियन चर्चको पनि कमजोरी छ भने सच्चाउनु पर्दछ । त्यो छलफल र तर्कसङ्गत निर्णयबाट गरिनु पर्दछ । धर्म रोज्ने वा धर्म नै नमान्ने मान्छेको ब्यक्तिगत अधिकार हो । चर्चहरूले आफ्नो काम गर्न पाउँछन तर उनीहरूले पनि अनावश्यक भ्रम फैलाउने, मानिसहरूलाई लोभ प्रलोभनमा फसाउने गर्नु हुन्न । अहिले धरान उपमहानगरपालिकाका उपमेअरको नेतृत्वमा मन्दिर र चर्चको बिबाद समाधान गर्न एउटा कार्यदल बनेकोछ । त्यो कार्यदलमा राजनीतिक दलका प्रतिनिधिहरूको पनि छन । हामी कामना गरौँ यस कार्यदलले नै बिबादको समाधान गरोस् । कार्यदलले समस्या समाधान गरेन भने अर्को बाटो भनेको अदालत जानू । मानौ अदालत नै जानू पर्यो भने अदालतको फैसला जस्तो आउँछ त्यसलाई दुवै पक्षले स्वीकार्न तयार हुनि पर्दछ ।
धरानका मेअरले यस बिषयमा ओहदाको मर्यादा बिपरीत बोलेको भनी आलोचना हुने गरेका छन । धर्म जस्तो बिषयमा सबै संबेदनशील हुनुपर्दछ । यदि राजनीतिक पार्टीहरूले मेअरलाई यस्ता घटनामा बदनाम गरी दलगत स्वार्थ खिच्न खोजेका हुन भने स्वयम् दलहरू नै बदनाम हुने परिस्थिति पनि बन्न सक्दछ । धर्मको नाममा राजनीतिक स्वार्थ लिने प्रयत्न कसैले पनि नगर्दा उपयुक्त हुन्छ । जनजाति र कृस्चियनलाई पश्चिमा शक्तिहरूले, हिन्दुहरूलाई भारतीय हिन्दु अतिवादीहरूले उछाल्ने र साम्प्रदायिक दङ्गा भड्काउन तिर लागेका पनि हुन सक्दछन । यस्ता कुनै पनि उक्साहटमा नेपालीहरू फस्नु हुँदैन । यहाँ विध्वंस भयो वा रक्तपात भयो भने मर्ने मारिने हामी हो । बिदेशीहरू रमाउने मात्र हुन । त्यसैले जातीय, धार्मिक सद्भाव कायम राखौ । वर्ग सङ्घर्ष र वर्ग प्रेमको सिद्धान्त नै यी सबै अतिवादलाई परास्त गर्ने बैज्ञानिक सिद्धान्त हो ।
प्रतिक्रिया