हिल्सा नाकामा व्यापार सहज नभएको गुनासो

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ३१ ०९:५८ बजे

हुम्ला। नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन् । चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लैजान नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउने दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन् । 

हिल्साका व्यापारी कर्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय सहज होला भन्ने आशामा रहेका हिल्साका व्यापारी निराश भएको बताउनुभयो । उहाँले चीनको ताक्लाकोटबाट व्यक्ति तथा व्यापारीले सीमित सामान मात्र ल्याउन पाउने चिनियाँ नियमका कारण व्यापारी मर्कामा पर्दै आएको गुनासो गर्नुभयो । उहाँले ताक्लाकोटबाट दुई बोरा मात्र सामान ल्याउन दिने भएपछि व्यापार गरेर हिल्सामा बस्दै आएका व्यापारी बढी मर्कामा परेको बताउनुभयो । त्यो पनि ठुला बोरा भए एउटा मात्र नेपाल ल्याउन दिने गरिएको छ । उहाँले नाका सञ्चालनमा आउँदा हौसिएका व्यापारी चिनियाँ नियमले व्यापारका लागि आवश्यक सामान ल्याउन नपाउँदा हिल्सा छोड्ने मनस्थितिमा रहेको बताउनुभयो ।

यसले गर्दा घरायसी रूपमा प्रयोग गर्न सकिने दैनिक उपभोग्य सामान, लत्ताकपडा मात्र ल्याउन सकिने अवस्था रहेको छ । त्यसै गरी विकास निर्माण सामग्रीसमेत आउने गरेको छैन । चीनबाट आउने सामान मात्र नभएर नेपालबाट चीनतर्फ नेपाली सामानसमेत लैजान नदिएको अर्का व्यापारी फुन्जोक लामाले दुखेसो सुनाउनुभयो । उहाँले नेपालबाट फलफूल, चिनो तथा मार्सीको चामल, फुरु, जडीबुटीलगायतका सामान लान सकिने भए पनि त्यो लान नपाइने नियम चीनले लगाएको बताउनुभयो ।

हिल्सा नाकाबाट व्यापार व्यवसाय गर्ने हुम्लावासी धेरै भएका कारण उहाँहरूलाई सहज रूपमा सामान ल्याउने वातावरण तयारीका लागि सहजीकरण गर्नसमेत व्यापारीको माग रहेको छ । हिल्साका व्यापारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको आसन्न भ्रमणका बेलासमेत यो विषयलाई उठान गर्न माग गरेका छन् । 

हिल्सा नाकाबाट मात्र बर्सेनि ५० करोडभन्दा बढी कारोबार विगतमा हुने गर्दै आएको थियो । हिल्सा नाका गत वैशाख १८ गतेबाट दुईतर्फी रूपमा चीनले खुलाएको थियो । 


२०८० भदौ ३१ ०९:५८ बजे

प्रतिक्रिया