प्रतिक्रियावादी सत्ताको रसस्वादन गर्न पल्केका कम्युनिष्टहरू

खासगरी माले, एमाले, माओवादी र मोहनविक्रम नेतृत्वको मसाल भित्र रहेका इमान्दार, जीवनभर सम्बन्धित पार्टीमा हाम फालेका हृदयबाट नै परिवर्तन चाहेका अनुशासित कार्यकर्ताहरूमा मात्र क्रान्ति प्रति चिन्ताको विषय बन्न पुगेको छ । बाँकी पार्टीमा दलाली, चाकरी, गरेर पेट पाल्न पल्केका गुटगत चिन्तन भएका बुर्जुवा सत्ताको रस स्वादन गर्न पल्केका भ्रष्ट अवसरवादीहरूले यही संसदीय दलाल पूँजीवादी व्यवस्था भित्र कथित समाजवाद र साम्यवाद देखेका छन् ।

bimbonline गँगा पौडेल
२०८० भदौ २२ ०८:५२ बजे

काठमाण्डौ। नेपालका कम्युनिष्ट पार्टीको समग्र इतिहासलाई जस्ताको तस्तै बुझ्नका लागि पार्टी स्थापना कालदेखिका राजनीति घटनाक्रम पार्टी नेतृत्वको भुमिका उनीहरूको दृष्टिकोण कार्यक्रम चरित्र, प्रवृत्तिको बारेमा गहिरो अध्ययन गर्न जरुरी देखिन्छ । कुनै पनि चिज वा वस्तुको बारेमा सहि र गलत बुझ्नका लागि त्यसको समग्रतामा जानु पर्दछ नकी अंशमा हैन्न । २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा एउटै मात्र पार्टी थियो । पछि गएर बहुकम्युनिष्ट पार्टीहरू बन्दै गए । जतिवटा समूह बने पनि आफूले आफूलाई स्वघोषित क्रान्तिकारी भन्न चुकेनन् । तर सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी कुन चाहि हो त ? भन्नेबारे पार्टी स्थापना भएको सात दशक बितिसक्दा पनि पार्टी कार्यकर्ता शुभचिन्तक र जनताले ठीक ढङ्गल पहिचान गर्न नसकेको अवस्था छ । नेपालमा साना ठूला गरी दर्जन भन्दा बढी कम्युनिष्ट पार्टीहरू छन् । तर मालेमाको सिद्धान्तको आधारमा आफूलाई सच्चा कम्युनिस्ट पार्टी बताउने पार्टीहरू चलेको अवस्था छैन ।

चीनमा सन् १९२१ मा कम्युनिष्ट पार्टीको स्थापना भयो । १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । रूसमा १८९८ मा रसीयाली सामाजिक जनवादी पार्टीको पहिलो महाधिवेशन भएको थियो । त्यो भन्दा पहिला स–साना मजदुर सङ्गठन थिए । त्यही महाधिवेशनलाई स्थापना दिन मानिन्छ । उक्त महाधिवेशनमा १९ जना प्रतिनिधिहरूका उपस्थिति रहेको थियोे र १९१७ मा समाजवादी क्रान्ति सम्पन्न भयो । एवं प्रकारले संसारका अन्य मुलुकहरू फ्रान्स, कम्वोडिया, लाहोस, भियतनाम, उत्तर कोरिया लगायतका देशहरूमा पनि क्रान्ति प्रतिक्रान्ति भएको भनिन्छ । यद्यपि आज विश्वका कुनै पनि देशमा समाजवादी व्यवस्था छैन । तर पनि त्यतिबेलाको परिस्थितिमा सर्वहारावर्गको प्रतिनिधित्व गर्ने माक्र्स, एगेल्स, लेनिन, स्तालिन, माओ लगायत कैयौँ अन्तर्राष्ट्रिय नेताहरूले जुन उद्देश्यबाट कम्युनिष्ट पार्टीको स्थापना गरे त्यही अनुरुप व्यवहारमा लागु गर्न सफल भए । लागु गरेर दुनियाँलाई देखाइदिए यद्यपि ती नेताहरू आज हाम्रा सामु छैनन् । उनीहरूले परिवर्तन गरेका व्यवस्था पनि छैनन् । अहिले संसारमा पूँजीवादको बोलवाला छ ।

कम्युनिष्ट पार्टीको मूल उद्देश्य शोषणरहित समतामुलक समाजको स्थापना गर्ने हो । “शोषण विहिन, समता मुलक” भन्ने शब्द सामान्य जस्तो लाग्न सक्दछ तर यसको परिभाषा र महत्त्व धेरै गहिरो छ । यो व्यवस्था केवल क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र ल्याउन सक्दछ । मानिस जब राजनीतिमा प्रभावित हुन्छ ऊ निरन्तर लागि रहन्छ । गलत राजनीति गर्नेले पनि म गलत बाटो हिंडेको छु भन्दैन । उसले आफूलाई र आफ्नो राजनीतिक उद्देश्यलाई ठीक छ भन्दछ । आफु रहेको सामाजिक धरातल, रहन–सहन, परम्परा, धर्म, संस्कृति त्यहाँको भौतिक स्थिति र वर्गको आधारमा मानिस समाजमा प्रभावित भएका हुन्छन् । कोही मान्छे आफु रहेकोे समाजमा जसकोे बाहुल्यता छ त्यतै प्रभावित हुन्छन् । केही आफ्नो बाउ बाजेले कुन राजनीति अङ्गालेका थिए वा छन् उतै पट्टी लाग्दछन् । कोही धर्म र जातको आधारमा लागेका हुन्छन् । कोही समाजमा हुने अन्याय, अत्याचार, विभेद, शोषण, दमनबाट प्रताडित भएको हुँदा जसले त्यस्ता वर्गको पक्षमा लड्छ त्यही राजनीतिक शक्तिको पक्षमा लाग्दछन् । कोही नातावाद, कृपावादको आधारमा कोही अप्ठेरोमा आफूलाई जसले ऋण सापटी दिन्छ, जागिर लगाइदिन्छ, विदेश पठाइ दिन्छ, ठेक्का पट्टा दिन्छ, जागिरमा सरुवा बढुवा गराइदिन्छ, राजनीतिक भागवण्डामा प्राप्त लाभका पदहरूमा नियुक्ति गर्दछ उसैको वा उसको पार्टीको पछाडि लाग्दछ । राजनीतिमा लागेर आफ्नो व्यक्तिगत फाइदा लिने मान्छेको कुनै एक निश्चित उद्देश्य पनि हुँदैन र गन्तव्य पनि हुँदैन । समाजमा राजनीतिलाई ठगी खाने धन्दाको रुपमा अङ्गाल्ने मान्छेको बाहुल्यता छ । राजनीति वास्तवमा समाज र राष्ट्रसेवाको निम्ति गर्नुपर्ने हो तर आज ठीक विपरित काम भएको छ ।

यसरी मानिसहरू विभिन्न उद्देश्यबाट जान अन्जान राजनीतिमा लागेका हुन्छन् । सर्वसाधारण जनताहरूलाई भर्‍याङ बनाएर समाजका हुनेखाने, टाढाबाठा वर्गले वा व्यक्तिले राजनीतिको नाजायज फाइदा लिने गरेका छन् । राजनीतिमा लागेर अगुवाई गरेका वा नेतृत्वमा रहेका व्यक्तिहरू मध्ये नगन्यले मात्र देश र जनताको पक्षमा काम गरेको पाइन्छ । अहिलेसम्मको इतिहासमा अत्यधिक नेता कार्यकर्ताहरूले निहित व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद र परिवारवादको राजनीति गरेको पाइन्छ । नेपालको सन्दर्भमा कम्युनिष्ट र गैर कम्युनिष्ट सबै पार्टीहरूमा यो प्रवृत्ति व्यापक मौलाएको छ ।

आज संसारको राजनीतिमा साम्राज्यवादी, सामान्ती र दलाल पूँजीवाद हावी भएको छ । सर्वहारावर्गीय राजनीति अत्यन्त रक्षात्मक अवस्थामा रहेको छ । राजनीतिमा गहिरो अध्ययन नभए पछि आफूले कुन धरातलको राजनीति गर्ने भन्ने बारे एकीन गर्न सकिँदैन । कम्युनिष्ट आन्दोलनमा आफु संलग्न पार्टी सहि छ वा गलत भन्ने कुरा नबुझी कुनै न कुनै समूहमा आबद्ध भई आफ्नो जीवन खेर फालेका अनगिन्ती उदाहरण छन् । जसले आफ्नो जीवनमा आफू लागेको पार्टी नै राम्रो ठानेको हुन्छ । यद्यपि त्यो उसको निजी विचार हो । जुनसुकै कम्युनिष्ट पार्टी वा व्यक्ति आफैमा स्वघोषित क्रान्तिकारी हुन सक्दैन । उसमा सहि दृृष्टिकोण, सही गन्तव्य, राष्ट्रभक्त, नैतिकवान, चरित्रवान, देश र जनताको पक्षमा काम गर्ने, विद्यमान भ्रष्ट सामान्ती, दलाल, नोकरशाही, पूँजीपतिवर्गको अन्त्य गरी देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने गरिब, सुकुम्बासी, मजदुर, किसान, दलित, आदिवासी जनजातिको उत्थान गर्ने कम्युनिष्ट पार्टी मात्र सच्चा क्रान्तिकारी हुन सक्तछ । एउटा देशमा सच्चा कम्युनिष्ट पार्टी एउटै मात्र हुन्छ तर त्यस्तो हुन सकेको छैन ।

२००६ सालमा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिष्ट पार्टी विभिन्न कालखण्डमा खण्डित हुँदै गयो । राजनीति मूलतः समाज र देशको विकास र परिवेशको आधारमा प्रभावित हुन्छ । जुन समाज र देशमा जतिछिटो उन्नति प्रगति हुन्छ । त्यहाँको राजनीतिले पनि त्यसै अनुरुप गतिलिन्छ । समाजका हरेक गतिविधिहरूमा परिवर्तन देख्न सकिन्छ । अविकसित समाजको राजनीति सामान्ती चिन्तन र व्यवहारबाट प्रभावित भएको हुन्छ । सामान्ती चिन्तन व्यवहार र व्यवस्थासँग लड्न लामो यात्रा तय गर्नु पर्दछ । विकसित समाज र देशको राजनीति पूँजीवादी प्रकारको हुन्छ । जस्तै मजदुर किसानलाई सस्तो मुल्यमा कज्याउने र पूँजीपतिहरूले उनीहरूको श्रम शोषण गरेर अकुत नाफा कमाएर थुपार्ने । यो पूँजीवादको विशेषता हो । अहिले संसारभर यही व्यवस्था हावी भएको छ ।

समाजमा २ वटा वर्ग छन् । एउटा शोषक तथा पूँजीपति वर्ग, अर्को शोषित तथा सर्वहारा वर्ग । शोषक वर्ग हमेशा एकै धरातलमा उभिने गर्दछ । किनकी उनीहरूको मूल उद्देश्य नै समाजमा शोषण गर्ने नाफा कमाउने हो । अर्को शोषित वर्ग उ जहिले पनि अस्थिर र ढुलमुले प्रकारको हुन्छ । आफ्नो धरातललाई चिन्न सकिरहेको हुँदैन । आँफू बाँच्नका लागि पुँजीपति वर्गको आड भरोसा लिनुपर्ने हुन्छ । यो वर्गले जहिलेसम्म आफू ठगिएको, शोषणमा परेको, समाजमा अपमानित र अपहेलित भएको, विभेदमा परेको कुरा थाहा पाउँदैन त्यति बेलासम्म पुँजीपति वर्ग कैै पक्षमा उभिन बाध्य हुन्छ । कुरा बुझ्दै गए पछि आफ्नै वर्गमा उभिन्छ । शोषित वर्गलाई कुरा बुझाउने काम सच्चा कम्युनिष्ट पार्टीको हुन्छ । तर शोषित वर्गले आफ्नो वर्ग पहिचान गर्न निकै समय पनि लाग्न सक्तछ ।

नेपालका कम्युनिष्ट पार्टीहरूको इतिहासमा कैयौँ नेता कार्यकर्ताहरूले जीवनभर आफू हिंडेको गन्तव्य सहि थियो वा गलत ? भन्ने कुरा नबुझीकन जीवन अर्पण गरेका छन् । कैयौँ कार्यकर्ता अहिले पनि कुहिरो भित्रको काग जस्तै भएका छन् । पार्टी परिवर्तन गर्ने, परित्याग गर्ने, स्वतन्त्र बस्ने, श्रृङ्खला बढ्दै गइरहेको छ । सिङ्गो जीवनलाई कम्युनिष्ट आन्दोलनमा समर्पण गरेका नेता कार्यकर्ताहरूमा वितृष्णा बढ्दै गइरहेको अवस्था छ । विद्यमान पार्टीहरू भित्र कैयौँले नेताको चाकरी, चाप्लुसी गरेर व्यक्तिगत लाभका पद, प्रतिष्ठा, पैसा, सेवा, सुविधा, लिएर आफू अनुकुलको राजनीति गर्ने आ–आफ्ना गुट बनाउने, प्रतिकृयावादी सत्तामा जाने, परिवारवाद, नातावाद, कृपावादमा रमाउने गरेका छन् । कम्युनिष्ट पार्टीहरूमा यस्ता प्रकारको जमात ठूलो छ र हावी हुँदै गएको अवस्था छ । विद्यमान राजनीतिलाई प्रयोग गर्न पार्टी भित्रका टाढा, बाठा कथित माक्र्सवादीहरूले आफूलाई सच्चा क्रान्तिकारीताको हवाला दिन्छन् । त्यही क्रान्तिकारीताको ट्याग लगाएर प्रतिकृयावादी सत्तामा जान्छन् र जनतालाई शासन गर्छन्, भ्रष्टाचार गर्छन्, अकुत सम्पत्ति कमाउँछन् । यस्तो परिवेशमा इमान्दार कार्यकर्ताहरूले आफू सम्मिलित पार्टी कता जाँदैछ भनेर समयमै चिन्न नसक्नु विडम्बनाको कुरा हो ।

नेपालमा जे जति कम्युनिष्ट पार्टीहरू छन् । ती पार्टीमा लाखौँ पार्टी सदस्य सयकडौँ पेशेवरहरू छन् । ति मध्ये अत्यधिक कार्यकर्ताहरू क्रान्ति आमूल परिवर्तन गर्नका लागि लामबद्ध भएका छन् । केही अवसरवादीहरूले पार्टीको मूल नेतृत्वको दलाली, चाकरी गर्ने र पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई उल्टोतिर हिंडाइरहेका छन् ।  । भन्ने गरिन्छ कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै पार्टीका कार्यकर्ता, शुभचिन्तकलाई जनवादी क्रान्ति, समाजवाद र वैज्ञानिक साम्यवादका कुरा गर्ने तर अन्तत भ्रष्ट, दलाल, पूँजीवादी व्यवस्थाको संरक्षण गरि त्यसैमा रमाउने सत्ताको रसस्वादन लिने गरेका छन् ।

संस्थापक सदस्य पुष्पलाल देखि तुल्सीलाल, केशरजङ्ग रायमाझी, मनमोहन, मोहनविक्रम, चित्र बहादुर के.सी. सी.पी .मैनाली, मदन भण्डारी, प्रचण्ड, के.पी. ओली, माधव कुमार, झलनाथ जस्ता अग्रज नेताहरूले नयाँजनवाद, समाजवाद, र वैज्ञानिक साम्यवादका चर्काचर्का कुराहरू गरे । क्रान्तिको नाममा तत्कालीन माले समुह र माओवादीहरूले त हतियार पनि उठाए । अन्तत यिनीहरू सबै पार्टीका नेताहरू बुर्जुवा संसदवादमा चुर्लुम्मै डुबेको कुरा जगजाहेर छ । अहिले पनि यिनीहरू मध्ये कतिपयको देहान्त भयो भने बाँकी रहेकाले नयाँ जनवाद, समाजवाद र साम्यवादका कुरा गरेर जनता र कार्यकर्ताहरूलाई भ्रममा पार्न छोडेका छैनन् । पार्टीका झोले कार्यकर्ताहरू नेताका कुराहरू पत्याएर क्रान्तिको सपना देखेको अवस्था छ । खासगरी माले, एमाले, माओवादी र मोहनविक्रम नेतृत्वको मसाल भित्र रहेका इमान्दार, जीवनभर सम्बन्धित पार्टीमा हाम फालेका हृदयबाट नै परिवर्तन चाहेका अनुशासित कार्यकर्ताहरूमा मात्र क्रान्ति प्रति चिन्ताको विषय बन्न पुगेको छ । बाँकी पार्टीमा दलाली, चाकरी, गरेर पेट पाल्न पल्केका गुटगत चिन्तन भएका बुर्जुवा सत्ताको रस स्वादन गर्न पल्केका भ्रष्ट अवसरवादीहरूले यही संसदीय दलाल पूँजीवादी व्यवस्था भित्र कथित समाजवाद र साम्यवाद देखेका छन् । पार्टी भित्र घुस्न सफल भएका घोर अवसरवादीहरू विद्यमान प्रतिकृयावादी सत्तामा रमाइ रहेका छन् । यिनी तत्त्वहरूलाई क्रान्ति आमूल परिवर्तनको आवश्यक छैन । किनभने यिनीहरूको व्यक्तिगत जीवनमा यसै पनि समाजवाद आइसकेको छ । राज्यको ढिकुटी ब्रहम्लुट पार्न पाएका छन् । कोही राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, कोही सांसद, जिल्ला समन्वय प्रमुख, उपप्रमुख, मेयर, अध्यक्ष, वडा अध्यक्ष, सदस्य लगायत विभिन्न संस्थानहरूमा हुने राजनीतिक नियुक्ति जस्ता लाभका पदहरूमा आलिसान भएर बाँचेकाहरूलाई क्रान्ति किन चाहियो 

नेपाली जनताको मुक्तिका लागि माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको सिद्धान्तलाई आत्म साथ गरेर २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तर कम्युृनिष्ट आन्दोलनमा घुस्न सफल भएका भिन्न भिन्न रुप रङ्ग भएका सामान्ती चिन्तन भएका, व्यक्तिवाद हावी भएका, तानाशाही प्रवृत्ति भएका, गुटगत प्रवृत्ति भएका, अवसरवादीहरूले नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारे त्यस मध्येका नेता मोहन विक्रम सिंह, चित्र बहादुर केसी पनि हुन् । कम्युनिष्ट पार्टीको मुल नेतृत्वको वास्तविक चरित्र, दृष्टिकोण र उनीहरूको व्यवहार बुझ्नका लागि उनीहरूको निकट रहेर काम गर्नु पर्दछ । विगत सत्तरी वर्षको पार्टी जीवनमा मोहन विक्रम कैं सचिवालयमा बसेर काम गरेका दोस्रो तेस्रो तहका सयौँ इमान्दार कार्यकर्ता आज उनीसँग छैनन् । ती मध्य कसैले पार्टी त्यागेर स्वतन्त्र बसेका छन् । कोही पार्टी परिवर्तन गरेर एमाले, माओवादी भए, कोही काङ्ग्रेस प्रवेश गरे । विभिन्न मोर्चाहरूमा काम गरेर खारिएर स्पात बनेका सयकडौँ होनाहार युवा, मजदुर किसान नेता, कार्यकर्ताहरू एमवी र केसीको नेतृत्वमा बस्नै सकेनन् । यिनी दुई नेतासँग जसले फरक मत राख्दछ पार्टीमा उसको राजनीतिक जीवन समाप्त हुन्छ । यस्ता सयकडौँ उदाहरणहरू छन् । पार्टीबाट निस्कासित वा पार्टी परिवर्तन गरेर गएका सबैलाई एम वि, केसीले अराजक, अनुशासन विहिन, महत्त्वकांक्षी, पदलोलुप, दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी, राजावादी, सि.आई.डी., घुसपैठीया आदी आरोप लगाउने गरेका छन् । ती आरोपी मध्ये अपवादमा २÷४ जना व्यक्ति त्यस्तै पनि थिए । जस्तै केशरजङ्ग जस्ता केही मान्छे, राजावादी थिए र उनीहरू पंचायत प्रवेश गरेको कुरा सत्य हो । बाँकी पार्टीबाट बाहिरिएका सयकडौँ नेता कार्यकर्ताहलाई एमवीले लगाएका आरोपको सिद्ध गर्न सकेका छैनन् । आरोप सिद्ध गर्नका लागि त आफु संलग्न पार्टी क्रान्तिकारी भएको कुरा व्यवहारमा पुष्टी गर्न पर्‍यो । एमवीले जसलाई प्रतिकृयावादी, उग्रवापन्थी, दक्षिणपन्थीको आरोप लगाए उनीहरूसँग पार्टी एकताको लागि प्रस्ताव पनि गरे । यद्यपी सफल भएनन् । उनीहरूसँग गठबन्धन गरेर सरकार, सदन र स्थानीय सत्तामा साझेदारी पनि भएका छन् । राजनीति नियुक्ति जस्ता लाभका पदहरूमा गठबन्धनमा हुने भागबण्डामा राष्ट्रिय जनमोेर्चाकोतर्फबाट पठाएका छन् । अब एमवी नेतृत्वको मसाल र त्यसको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा र काङ्ग्रेस, एमाले, माओवादी, मधेशवादी दलहरूमा कुनै फरक पाइदैन । राष्ट्रघातीहरूसँग घाँटी जोड्ने गठजोड गर्ने र सत्तामा जाने । राष्ट्रघाती कदमहरूको बाहिर विरोध गरे जस्तै गर्ने र तिनै राष्ट्रघातीहरूलाई काखी च्यापेर सरकारलाई समर्थन दिइरहेछन् । आफ्ना आसेपासेहरूलाई सत्तामा भर्ति गर्ने तर सडकमा अन्य दलहरूको विरोध पनि गर्ने द्वैध चरित्र बोकेका एमवी समूहले क्रान्ति परिवर्तनको दिशा परित्याग गरिसकेको छ ।

विगत लामो काल खण्डसम्म देश र प्रवासमा पार्टीमा काम गर्ने कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूले एमवी र चित्र बहादुरलाई देवत्वकरण गरेको कुरा सत्य हो । यिनी दुई जना बाहेक नेपालमा सच्चा कम्युनिष्ट अरु छैनन् भन्दै गीत गाउँदै हिंड्ने काम पार्टीका आम सदस्यहरूबाट भयो । मसालको आठौँ महाधिवेशन पूर्व एमवी र चित्र बहादुरले पार्टीबाट गलत्याएर निष्कासन गरेका वा स्वतस्स्फूर्त पार्टी छोडेका जति सबैलाई हो मा हो गरेर पार्टीबाट धकेल्न जान अन्जानमा कतिको सहभागिता रह्यो । एमवी र केसीले उनीहरूलाई जे जे आरोप लगाएका थिए हामीले पनि त्यही कुरा भन्दै हिंड्यौँ । तर नेतृत्वको असली नियत बुझन् कैयौँ नेता कार्यकर्ताले सकेनन् । एमवी सिंह माक्र्सवादलाई आफु अनुकुल बनाएर व्याख्या गर्न माहिर व्यक्ति रहेछन् ।  माक्र्सवाद, आमूल परिवर्तन तथा क्रान्तिका चर्का चर्का कुराहरू गर्ने दस्तावेजीकरण गर्ने प्रशिक्षण दिने तर इमान्दार, सोझा कार्यकर्ताहरूलाई जीवन भर गुमराहमा पार्ने उनको प्रवृत्ति नै रहेछ । पार्टीभित्र एमवी र केसी भन्दा अलि बढी क्षमता भएका रचनात्मक तथा योजना कार, कम्युनिष्ट नैतिकता र आचरण भएका बौद्धिक तथा फरक क्षमता राख्ने मान्छेहरूलाई आफ्नो अनुकुल हुँदासम्म वा आफ्नो गुणगान गाउँदासम्म राम्रैसँग प्रयोग गर्ने, उनका गलत विचार, व्यवहार वा प्रवृत्तिको कसैले प्रश्न उठायो भने अनेक तिकडम गरेर उनीहरूलाई पार्टीबाट लखेट्ने एमवी, केसीको विशेषता नै रहेछ । चौथो, पाँचौ, छैठौँ, सातौ महाधिवेशन कालमा काम गर्दै आएका होनाहार निखार नेता, कार्यकर्ताहरू मुलतः नेतृत्वको कार्यशैलीबाट नै रुष्ट भएको कुरा जगजाहेर नै छ । एम.वी. केसी माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको आलोकमा क्रान्ति, परिवर्तनका कुरा गरेर नेपाल र प्रवासमा रहेका किसान, मजदुरहरूलाई शोषण गर्ने र आफ्नो चरम महत्त्वाकांक्षा पुरा गर्ने योजनाकार नै हुन् । आश्चर्यको कुरा त यी दुईजना नेता कसैको नेतृत्वमा बस्न पनि नसक्ने र आफू कहिले पनि तल नपर्ने सामान्ती मनोदसा पालेका हुनाले यिनीहरूको नेतृत्व कालमा पार्टीले गति लिन सक्ने संभावना रहेन ।

सानो गुट भएपनि सधैं पावरमा बस्न रुचाउने आफुहरू मातहतका दोस्रो तेस्रो दर्जाका कार्यकर्ताहरूको सामुहिक नेतृत्व प्रणालीको विकास भएको नरुचाउने, पार्टीको सम्पूर्ण अधिकार आफुहरूको मुठी भित्र होेल्ड गर्ने, दोेस्रो, तेस्रो तहका कार्यकर्ताहरूलाई घनिभूत रुपले प्रयोग गर्ने तर विश्वास नगर्ने । कसैलाई विश्वास गरिहाले आँखा चिम्लेर गर्ने, उनीहरूका नजरमा ठीक भएको व्यक्तिलाई महत्त्वपूर्ण स्थानहरूमा पदोन्नति गर्ने, एकै व्यक्तिलाई दश–दश स्थानमा जिम्मा दिने । उनीहरूका विश्वास पात्रहरूले चाकरी चाप्लुसी गरेको मन पराउने । त्यही आडमा बसेर चाकरी, चाप्लुसी गर्नेहरूले लाभका पदहरू लिने संस्कार पार्टीमा विकसित हुँदै गयो ।

ने.क.पा. (मसाल) भित्र एमवी प्रवृत्ति र उनका कतिपय आसेपासे चम्चाहरूका कारण पार्टीले कहिले पनि प्रगति गर्न सकेन । पार्टी दिन प्रतिदिन गन्तव्य हिन हुँदै गयो । एमवीले ने.क.पा. (मसाल)को २०७६ जेष्ठ महिनामा सम्पन्न आठौँ महाधिवेशनबाट सर्वहारा वर्गको नेतृत्वदायी भूमिकालाई गौण बनाए । सशस्त्र सङ्घर्षको आन्तरिक भूमिका र सङ्गठनको तयारीलाई नजरअन्दाज गर्दै गए । बुर्जुवा संसदीय चुनावलाई प्राथमिकता दिन थाले । पार्टीको नेतृत्वमा क्रान्तिकारी वर्ग र मित्रशक्तिको संयुक्त मोर्चा सम्बन्धी सातौ महाधिवेशनले पारित गरेको नीतिलाई गौण र दुश्मन राजनीति शक्तिहरूसितको गठबन्धनमा जोड दिदैं गए । मेहनतकश मजदुर किसान वर्गहरूको वर्ग सङ्घर्षको भूमिकालाई कम महत्त्व र दलाल पुँजीवादी राज्य सत्तासँग समन्वयवादी दृष्टिकोण अपनाउँदै गए । जनवादी केन्द्रीयतालाई कमजोर पार्दै पार्टी सङ्गठन र अन्तर पार्टी सङ्घर्षलाई अराजक तथा अनुशासन विहिन बनाउँदै लगे । सर्वहारा तथा मेहनतकश जनताको व्यापक, हित, वर्ग सङ्घर्ष, उच्च प्रकारको त्याग, बलिदान र क्रान्तिकारी मनोबलमाथि आधारित कम्युनिष्ट पार्टी बनाउनुको सट्टा पारिवारिक व्यक्तिगत स्वार्थ र गुटगत स्वार्थलाई प्राथमिकता दिएर निम्न पुँजीवादी दृष्टिकोण अपनाउँदै गए । पार्टीका दीर्घकालिन रणनैतिक उद्देश्यहरू रणनीतिहरू व्यवहारमा लागु गर्नको लागि क्रान्तिकारी परिस्थिति तयार पार्न जोड दिनुको सट्टा बुर्जुवा गणतन्त्रबाट समाजवादको सपना देख्न थाले । जनतामा अन्तर निहित महान् क्रान्तिकारी संभावना र भविष्य माथि विश्वास नगरेर प्रतिकूल परिस्थितिलाई बढी महत्त्व दिदै गए । त्यसैले पार्टीको आठौँ महाधिवेशनमा एमवीको दिशा विहिन राजनीति गन्तव्य माथि गम्भीर सैद्धान्तिक प्रश्न उठ्यो र ठूलो बहस भयो । एमवीको करिब ४० वर्षको नेतृत्व कालमा भएको यो बहस पहिलो नै हो । आठौँ महाधिवेशन भन्दा पहिलाका बहसहरूमा सैद्धान्तिक प्रश्न भन्दा पनि राजनैतिक प्रकारका र मूलत एमवी सिंहको कार्यशैली, व्यवहार र नैतिक प्रश्नहरूमा नै बहस केन्द्रीत हुने गरेको छ । आठौँ महाधिवेशनमा नेतृत्वले प्रस्तुत गरेको राजनीति प्रस्तावलाई पुरै अस्विकार गरेर फरक प्रस्ताव पेश भएर व्यापक बहस भएको थियो । यद्यपी एम.वी. समूहको चरम गुटबन्दीका कारण उनको दक्षिणपन्थी लाइनको प्रस्ताव महाधिवेशन हलमा कथित तथा प्राविधिक बहुमतद्वारा पारित भयो । यस्तो हुनु दुस्खद र विडम्बना नै हो । आठौँ महाधिवेशन पछि क्रान्तिकारी विचार प्रति आस्था राख्ने नेता कार्यकर्ताहरूले महाधिवेशन पछिको तीन वर्षसम्म कठिन अन्तरसङ्घर्ष चलाउनुको बाबजुद एमवी र केसी नेतृत्वसँग सङ्गै बस्न सक्ने स्थिति रहेन । आठौँ महाधिवेशनबाट पारित दक्षिणपन्थी लाइनलाई सच्चाउनु पर्दछ भनेर आवाज उठाउने पार्टीका सिसिएमहरूदेखि सेल कमिटीसम्मका नेता कार्यकर्ताहरूलाई कार्वाहीको डण्डा चलाइयो, निष्कासन, निलम्बन, एकलीकरण र जिम्मेवार विहिन बनाइयो । अल्पमत पक्षको बाहुल्यता भएका जिल्ला कमिटि तथा भारत शाखा समितिलाई विघटन गरी आफू अनुकुलको समिति गठन गर्ने, महाधिवेशनमा पारित भएका दस्तावेजहरूलाई प्रकाशन गर्नेबेला फेरबदल गरेर प्रकाशन गर्ने जस्ता अभद्र र अराजक अनुशासन विहिन काम एम.वि. सिंहबाट भए । फलस्वरूप पार्टी विभाजन भयो ने.क.पा.(मसाल) सम्पर्क केन्द्र देखि केन्द्रीय समन्वय समिति हुँदै २०७९ आश्विन २७ देखि ३० मा सम्पन्न भएको विशेष महाधिवेशनबाट का. सन्त बहादुर नेपालीको नेतृत्वमा ने.क.पा. (मशाल) को पुनः निर्माण भयो ।

अहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । त्यसको फलरुवरुप नेपालको कम्युनिष्ट आन्दोलन पुनरगठन गर्न र विचारको रक्षा गर्न पर्ने दायित्व क्रान्तिकारीहरूको काँधमा आएको छ । क्रान्तिकारी विचार, दर्शन र राजनीतिलाई बचाउन सकिएन भने नेपालमा सच्चा माक्र्सवादी, लेनिनवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी विसर्जन तथा विघटनको अवस्थमा पुग्नेछ । अहिले क्रान्तिकारी विचारको रक्षाको प्रश्न पहिलो प्रश्न भएको छ ।

क्रान्तिकारी विचारलाई तिलाञ्जली दिएर सत्ताका रसस्वादनमा लाग्ने कम्युनिस्टहरूलाई के को कम्युनिस्ट भन्ने ? तिनीहरू कम्युनिस्टको खोल ओढेका मात्र हुन् । तिनीहरूले मौका मिल्दा साथ कम्युनिस्टको आदर्श, मूल्य मान्यता त्यागेर प्रतिक्रियावादीसँग सत्तामा बस्न पुग्दछन् । यही रोगबाट नेपाली कम्युनिस्टहरू ग्रसित छन् । सच्चा विचारमा हिंड्ने कम्युनिस्ट को हुन् ? जनतालाई चिन्न गाह्रो भएको छ । सच्चा कम्युनिस्टहरू सङ्ख्यामा थोरै भएपनि कम्युनिस्ट मूल्य, मान्यता आदर्शमा टिकिरहेका छन् । जसले परिवर्तनको नेतृत्व गर्ने छन् ।

(गँगा पौडेल नेकपा(मशाल) निकट पुराना कम्युनिष्ट नेता हुनुहुन्छ)


२०८० भदौ २२ ०८:५२ बजे

प्रतिक्रिया