इतिहास र संस्कृति खापर सभ्यता

bimbonline शैलेन्द्र रोकाया
२०८२ मंसिर १४ १३:४२ बजे

मानसखण्डको एक महत्त्वपूर्ण स्थानका रूपमा खेचराद्री पर्वत (खप्तड) रहेको हिन्दु ग्रन्थमा वर्णन गरिएको छ । विष्णुप्रसाद खत्रीको ‘चिन्तनका पाँच थुङ्गा’ पुस्तकमा खेचराद्री पर्वत देवीदेउताको क्रीडा स्थलका रूपमा समेत व्याख्या गरिएको छ ।  १३औँ शताब्दीतिर रेग्मी कुलका हेमराजका छोरा प्रभुराजले खप्तड दहको पश्चिम भागमा सुन्दर देवल बनाई वैद्धिक पूजाको थालनी गरेको ‘चिन्तनका पाँच थुङ्गा’ पुस्तकमा चर्चा गरिएको छ ।

अर्कोतिर पाँच पाण्डवका पुरोहित धौम्य ऋषिले खेचराद्री पर्वतमा भगवान् शङ्करको दर्शन पाइन्छ भनेर बताएपछि कुरुक्षेत्रको लडाइँमा भएको गोत्रहत्याको पाप मोचन गर्न पाँच पाण्डव खापर दहनजिकै रहेको खापरमाण्डौँमा आएर यज्ञ लगाएको पुस्तकमा उल्लेख गरिएको छ । 

विशाल खस राज्य (सिँजा) स्थापनापछि विक्रम संवत् १२८० ताका सिजापति सम्राट् नागराजका छोरा क्राचल्ल र तिनका छोरा अशोक चल्लले विशाल सिँजा राज्यलाई विस्तार गर्ने क्रममा कुमाउ र गडवाल राज्यमाथि आक्रमण गरेका थिए । सो राज्य विस्तारमा सफलता प्राप्त गरी फर्कंदा खापरमाणु जिर्णोद्धार गरी आफ्नो विजय कीर्तिको शिला विक्रम संवत् १२८२ मा राखेको शिलालेखमा उल्लेख छ । यसले पनि खापर देवताको पुरानो इतिहासलाई उजागर गर्छ ।  

सिजापति महाराजले आफ्नो युद्ध तयारीका लागि त्यस बखतभन्दा पूर्व नै खापर देवताको गुठी लुटेर लिएको, गडवाल विजयपछि खापर देवताले आफ्ना दूत कौछ्या, दुदिरलाई सिजापति महाराजकहाँ पठाउँदा उनीहरू रित्तो हात फर्केको र खापर जगन्नाथले आफ्ना तिनवटै दूतमार्फत बाठपालालाई मौरी भेषमा रानीको गालाका टोकेको, कौछ्याले राजाको शरीरभरि टोकेको र दुदिरले हुरीबतास चलाई सिँजा दरबारमा समेत हल्लाई भूकम्प ल्याएपछि रानीले महाराजलाई खापरको सम्पत्ति फिर्ता गर्न अनुरोध गरेको किंवदन्ती पाइन्छ । यद्यपि राजाले खापर देवतासँग लुटेको सम्पत्तिको दोब्बर दिने गरी माफी मागेपछि सिँजा दरबारमा समेत शान्ति मिलेको किंवदन्ती पाइन्छ ।  

त्यसको केही दिनपछि सिजापति महाराजले आफ्ना सिपाही फौजसहित कालिगड ल्याएर खापरको सम्पत्ति दोब्बर बुझाई कलात्मक ढङ्गले माण्डुको निर्माण गरी सोही ठाउँमा १२ वटा वीर खम्बासमेत गाडेको इतिहासकार पूर्णप्रकाश नेपाल ‘यात्री’ ले आफ्नो पुस्तक ‘सेतीका नालीबेली’ मा उल्लेख गर्नुभएको छ । यसले खापर देवताको प्राचीनकालीन इतिहासलाई समेत थप उजागर गरेको छ । अहिले पनि ती शिलाका वीर खम्बा खापर माणुमा छन् । अहिले पनि ढुङ्गा काटेर बनाएका मन्दिरमा केही अवशेष अझै छन् । कहिले र कुन राजाले बनाए भन्ने कुनै ठाउँमा ठोस प्रमाण नभेटिए पनि कसैकैसैले सिजापति राजा पृथ्वी मल्लले विसं १३७३ सालमा माणुको जिर्णोद्धार भएको दाबी गरेका छन् । विसं १४५४ ताका डोटीका सामन्त रावल जोतिराजले खापर देव गुठीलाई प्रज्ञप्ति लेख्दै सर्वसाधारणलाई देवीदेवताका मन्दिरमा पशु बलि नदिन आग्रह गर्दै सो कोषलाई गौसेवा र साधुहरूको भोजन खर्चमा लगाउन भनिएको इतिहास भेटिन्छ । विसं १५५४ मा सामन्त रावल, परल रावलले खापर जगन्नाथ र माण्डौँलाई शासन शक्तिका रूपमा मान्दै कर सङ्कलनको घोषणा गरेकाले त्यहीँबाट खापर सभ्यता अझ प्रस्ट हुन्छ । जे जसरी माणुको जिर्णोद्धार भए पनि खापरमाणुको पूजा व्यवस्थापन नित्यकर्मको काम त्यसपछि तत्कालीन छान्ना क्षेत्रका सामन्त राजा ठानाकोटी राजपरिवार र डुग्राकोटी राजपरिवारले आफ्नो इष्ट देवताका रूपमा मान्दै गुठी जग्गासमेत राखेका थिए । ठानाकोटी राजालाई तत्कालीन चौगाई जिम्माल रोकायाले राजाले मान्छेको मासु खान सुरु गरेपछि बामिलीको एउटा अग्लो थुम्कामा ठाना बनाई ठानीकोटी राजालाई लखेटेर थामको लेख कटाएको र डुग्राकोटी राजाले अख्तियार दिइराखेको सामन्त ढोले रावललाई पुवारवंशी थापा ९बयानी० का बाज्या अहिश्चन्द्र थापा र महिसचन्द्र थापाले मारेका थिए । सो कुरा सुनेर डुग्राकोटी राजा राज्य छोडी गएपछि अहिश्चन्द्र थापा र महिसचन्द्र थापाले खापरमाणुको जीर्णोद्धार गरेका थिए । सिँजा राज्यको पतन र बाइसे राज्यको उदयपछि छान्ना क्षेत्र डोटी राज्यको अधीनमा हुन गयो । विसं १४९० तिर डोटी राज्यका राजा जितारी मल्ल र त्यसपछि पनि डोटी राज्यका राजा पहाडी शाहीले यो माण्डुको जिर्णोद्धार गरेको इतिहास छ । त्यसपश्चात् विसं १६९३ मा गढवाल राज्यमा चन्द्रदत्त चन्दका पालामा खापर माणु जिर्णोद्धार गरिएको लेख पाइन्छ । 

नेपाल एकीकरणपछि समेत गोर्खा शासकका सरदार पुरन शाहले विसं १८६२ को सनद, वडादेव शाह र राज बम कार्कीले विसं १८०२ को सनद, विसं १९०३ को श्री ५ गिर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरसमेत सिजापति महाराजले व्यवस्था गरे अनुसार नै पूजा सम्पन्न गर्न गुठीका लागि पाँच खेत कायम गरिएको थियो । अर्को प्रसङ्गमा खापरलाई बाइसेरचौबिसे राज्यकालमा थलारा राज्यको महत्वपूर्ण क्षेत्रका रूपमा छान्ना दारा रहँदा पुत्र नभएर वियोगमा रहेका थलारी राजा कल्याण सिंहलाई खापर जगन्नाथको माणुमा यज्ञ लगाएर चन्नुकाडामा स्वस्फूर्त रूपमा शिलिङ प्रस्फुटित भएमा तिम्रो सन्तान हुने छ भन्ने सपना भएपछि सो कर्म गरेर आफ्नो सपना साकार भएको र खापर देवताको सुन्दर देवल बनाएको किंवदन्ती अहिले पनि सुन्न पाइन्छ । कल्याण सिंहबाट खापरको यज्ञ गरेपछि जन्मिएका राजकुमार आनन्द सिंह बाबुको शेषपछि राजा भएका थिए । त्यसपछि खापरमाण्डौँको गुठीको व्यापक व्यवस्थित गरेको इतिहास खोजकर्ता पूर्ण बयानी थापासँग केही वर्षअघि मैले गरेको अन्तर्वार्तामा समेत छ । 

किसानलाई हलो जोत्ने दिनको साइत गर्न हालसारे खेत, खापरमाण्डौँमा होम गर्न चाहिने ९जौ० चरुका लागि चरु गडो, अतिथिलाई खानपान गराउन सेरो जग्गा गुठी राखी नायक पुजाराको जिम्मा लगाएका थिए । देउसरा नामकी देउ कन्यालाई खाने र बस्ने घरको समेत व्यवस्था गरी माणुको सरसफाइ गर्ने गरी व्यवस्थापन गरे । खापरको सम्पत्तिसहित भाँडाकुँडा राख्ने तीन वटा देउघरको व्यवस्थापन, खापर देवतालाई घोडा र सुन चढाई घोडी लास (घोडा बस्ने ठाउँ) खाली नहुने व्यवस्था मिलाए । अहिले पनि थालारी राजकुल घरानाले खापर देवतालाई आफ्नो इष्ट कुलदेवता मान्दै आएका छन् । थलारा राज्य पछि छान्ना दरा बझाङ राज्यमा गाभियो । त्यसपछि बझाङी राजा पृथ्वी सिंहले विसं १७३० मा मन्दिरको जिर्णोद्धार गरी घन्ट चढाएका थिए । राजा पृथ्वी सिंहले आफ्ना भाइ रतनी सिंहलाई छान्ना क्षेत्रको राजवारी दिई पूजाआजा सम्पन्न गर्न मुख्य संरक्षक भई काम गर्ने जिम्मेवारी सुम्पेको थिए । हालसम्म उनका सन्तान मोतुवाल सिंहहरूले खापरको रखवाली गर्दै आएका छन् । त्यसै गरी राजा गजराज सिंहले सातौँ पटक खापर माणुको जिर्णोद्धार गरेको त्यसै गरी बझाङी राजा देवीजङ्ग, रामजङ्ग ओमजङ्गले समेत खापरमाणुमा नियमित पूजाआजा गर्दै आएको समेत ‘चिन्तनका पाँच थुङ्गा’ मा उल्लेख छ । त्यसपछि पाँचागाई बयानी र पुजारी गाउँका खड्काले पटक पटक माणुको जिर्णोद्धार गर्दै आएका छन् । अहिले पनि माणु भत्कने अवस्थामा पुगेको छ ।

सैनडाँडा मेलाको ऐतिहासिकता

खेचराद्री पर्वत (खप्तड) मुसारानी पार्वतीले तपस्या गरी भगवान् शिवजी प्रकट भएको र पार्वती फेरि शिला भएको किंवदन्ती पनि छ । त्यसै गरी अर्को प्रसङ्गमा खप्तडछान्ना घडागाउँ बस्ने सार्कीहरूले निगाला काट्दा रगत बगेर रोइकराएको आवाज आयो । त्यसपछि आफूले चपाएको चामल (फाको) ले रगत आउने भागलाई टालेका थिए । ती मुसारानी भएको जनविश्वासका आधारमा परापूर्वकालदेखि अहिलेसम्म खप्तडदहनजिकै रहेको खापरको मन्दिरको पश्चिमतिरको शिलामा घडाका सार्की पुजारीले चपाएको अक्षताले पूजा लागेपछि मात्र खापरको पूजा सुरु हुँदै आएको छ । खप्तडबाट श्रीपाली वंशका खड्का तल्लो भागतिर बसाइँ सरेसँगै खप्तडमा रहेको खापरको शिला अछामको लुङ्गामा लगेर मन्दिर स्थापना गरिएको थियो । अहिलेको पाटादेवलको जस्तै लुङ्गामा पनि पूजाआजा गरिन्थ्यो । सुरुमा पार्वती मुसारानीका रूपमा प्रकट भएको ठाउँमा माइतीघर र त्यसपछि शिला लगेर माडौँ बनाइएको ठाउँमा पोइलीघर उकालु र पोइलीघर ओरालु भन्दै दुवै ठाउँमा पूजाआजा गरिन्छ । श्रावण पूर्णिमाका दिन ९उकालु० पोइलीघरबाट पार्वतीलाई माइतीघर खप्तड पु¥याउने र भाद्र चतुर्दशीका दिन पोइलीघरमा ल्याउने हुँदा शिला राखेको ठाउँमा डोली ल्याउने प्रचलन छ । यसै दिन खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा परापूर्वकालदेखि भव्य रूपमा मेला सञ्चालन हुँदै आएको छ । खप्तडबाट खापरमाण्डौँ डोलामा भगवान् शिव र पार्वतीको मूर्तिलाई फलफूल र अक्षताले भरिभराउ गरिन्छ । त्यसबेलामा देवी (पार्वती) का भाइ धामीहरू दिदीसँग छुट्नु परेको भन्दै काँप्दै रोइकराइ गर्ने गर्छन् । यो दृश्य निकै भावविह्वल बनाउने खालको हुन्छ । त्यसबेला धामी काँपेर, घोडाहरू काँपेर, कन्या तथा अन्य मान्छेसमेत देवताको शक्तिले काँप्ने गर्छन् । 

मुसारानीका रूपमा खप्तडमा पार्वती प्रकट भएपछि त्यहाँ पहिलो पूजा श्रीपाली वंशका खप्तडी खड्काले गरेका थिए भन्ने जनश्रुति छ । खप्तड डाँफेकोट राज्यबाट शासित भएका खप्तडी खड्का, खप्तडी बस्नेत, कार्की, रेग्मीहरूले नजिकै मुसारानीका रूपमा पूजाआजा गरेपछि उनीहरूको पूजा निरन्तर चलेको किंवदन्ती अहिलेसम्म छ । खप्तडी खड्काका भाइहरू डाँफेकोटबाट तल बेँसीतिर बसाइँसराइ गर्दा एक भाइले अछामको लुङ्ग्रामा शिला लगेर माडौँ स्थापना गरेका थिए । त्यसपछि खप्तडी खड्काको जेठो भाइ छान्ना पुजारीगाउँमा बसोबास गर्थे । पूजा जेठो भाइले नै लगाउनुपर्ने त्यतिबेलाको धार्मिक विश्वास थियो । मूल पूजासमेत जेठो भाइ छान्नाबाट गएर अछाममा पूजा लगाउनुपर्ने भएपछि भाइहरूबिच नै विवाद चुलिँदै गएको पाइन्छ । जेठो भाइले शिला आफ्नो ठाउँमा हुनुपर्ने अडान लिए । खापरको डोला अछामी प्रभाले खड्काले रोक्दा विवाद भई नेपाल सरकारसम्म मुद्दा परेर मुद्दाको फैसलापछि पाटादेवलका महाराजी खड्काले खापरको डोला पाउने निर्णय भयो । डोला छान्नामा पाउने भएपछि विसं १७७० तिर रिठु थापा ९बयानी० को नेतृत्वमा उनका भाइ बिजु र तिखु बयानी थापाले खापरको डोली जात्रा गरी बाजागाजा खापरमाण्डौँमा भित्र्याएका थिए । कसैले डोली बोक्ने, घोडा समात्ने, कुनै समुदायले पूजा सामग्री बोक्ने, डोलाको सुरक्षाका लागि छाता बोक्नेलगायत जिम्मेवारी त्यसबेला नै सबैको सहमतिमा प्रदान गरिएको थियो । अहिले त्यो परम्पराका रूपमा चलिआएको छ ।

खापर सभ्यता, संस्कृति र परम्परा 

इतिहासका प्रत्येक कालखण्डमा छ सय छान्ना दरामा हुने सामाजिक सल्लाह, एकताको शपथ र अभियान सदैव खापरमाणुलाई साक्षी राखेर सम्पन्न हुने परम्परा आज पनि जीवित छ । यसले छान्नाको एकता, भ्रातृत्व र सामाजिक बन्धुत्वलाई मजबुत पार्दै आएको छ । छान्नाले दिएको यस्तै सामाजिक सन्देशले हरेक युगमा बझाङी समाजलाई प्रभावित मात्र गरेको छैन, जिल्लाभर नै चर्चा र गौरवको विषय बनाएको छ । यस परम्पराको जरा नै खापर सभ्यता हो । जसको मूल ध्येय सामाजिक एकता र सद्भावपूर्ण सहअस्तित्व हो । खापर सभ्यताले समाजलाई केवल सामाजिक अनुशासनमा मात्र बाँधेनस यसले धार्मिक अनुशासन, सहिष्णुता र सामूहिक जिम्मेवारीको भावनालाई पनि गहिरो रूपमा रोप्यो । इतिहासलाई पल्टाउँदा, छान्नाले दिएको एकताको सन्देशका कारण विसं २०१५ सालको आमनिर्वाचनमा देखिएको सहभागिता, खप्तडछान्नामा पहिलो उच्च माध्यमिक विद्यालयको निर्माण वा खापरमाणुको जीर्णोद्धार । यी सबै महान् अभियान खापर देवतालाई साक्षी राखेरै सम्पन्न भएका थिए । हालैका उदाहरण पनि छन्, स्थानीय तहको पुनर्संरचनामा अखण्ड खप्तडछान्ना गाउँपालिकाको स्थापना वा छान्नाको एक मात्र शैक्षिक धरोहर खापरदेव क्याम्पसको उदय । यी सबै सामाजिक एकताका प्रत्यक्ष उदाहरण हुन् । 

छान्ना क्षेत्रलाई परम्परागत रूपमा दुधे छान्नु र भाते छान्नु गरी दुई भागमा विभाजन गरिए पनि यहाँको मौलिक संस्कार र संस्कृति एउटै मूलबाट अङ्कुरिएको छ । यस भूमि लोकदेउडा, फाग, डुस्का जस्ता मौलिक लोकधरोहरको उद्गमस्थल हो । जिल्लाका अन्य मेलापर्वमा पनि यदि ‘छान्नाल्या खेल’ देखियो भने, सम्पूर्ण बझाङी समाज हर्षोल्लासले भरिन्थ्यो । पछिल्ला दिनमा राजनीतिक स्वार्थ र पक्षपाती प्रवृत्तिका कारण समाज विखण्डनतर्फ धकेलिँदै गएको अनुभूति हुन्छ । 

जोगाऔँ  खापरमाणु 

खापर सभ्यता केवल धार्मिक आस्था र आस्थाको प्रतीक मात्र होइन, यो बझाङी समाजको एकता, मौलिकता र सांस्कृतिक गौरवसँग गहिरो रूपमा गाँसिएको धरोहर हो । यही सभ्यताको केन्द्रविन्दु मानिने खापरमाणु जीर्ण अवस्थामा पुगेको छ तर यसको संरक्षण र संवर्धनमा समाजको गम्भीर चासो देखिँदैन । इतिहासलाई पल्टाउँदा, यो माणु जुम्ली महाराजाले काटेका ढुङ्गाले बनाइएको जीवित प्रमाण हो । पछिल्लो समय माणु बनाउने नाममा सिमेन्ट र रासायनिक पदार्थको प्रयोगले यसको मौलिकता मात्र ओझेलमा परेको छैन, यसको सांस्कृतिक भव्यता पनि हराउँदै गएको छ । अझै दुःखद कुरा त के छ भने जीर्ण अवस्थामा गुज्रिँदै गरेको यस माणुलाई मूल स्वरूपमा पुनर्निर्माण गर्ने पहल आजसम्म कतैबाट देखिएको छैन । खापर जगन्नाथको महिमा र गरिमाले बझाङी समाजलाई सधैँ सामाजिक एकता, भाइचारा र सहअस्तित्वको सन्देश पनि दिएको छ । त्यसैले यसको संरक्षण केवल पूजापाठ वा परम्पराको निरन्तरतामा सीमित रहनु हुँदैन । खापर सभ्यता र संस्कृतिको जगेर्ना गर्दै, माणुलाई पुरानै मौलिक स्वरूपमा पुनर्निर्माण गर्नु आजको अपरिहार्यता हो ।  

माणु निर्माणको नाममा जस्तापाताको छाना र सिमेन्टले लेपिएका भित्ताहरू देख्दा मौलिकता हराउँदै गएको स्पष्ट हुन्छ । यसरी निरन्तर बिग्रँदो स्वरूपले केवल वास्तुकलाको सौन्दर्यलाई मात्र नष्ट गर्दैन, भविष्यका पुस्तालाई आफ्नो मौलिक धरोहरबारे बिर्सिने स्थितिमा पु¥याउँछ । यदि हामीले खापरमाणुको पुनर्निर्माणलाई सामाजिक अभियानकै रूपमा अघि बढाउन सक्यौँ भने धार्मिक–सांस्कृतिक पर्यटन स्थलका रूपमा पनि उभ्याउन सकिन्छ । यसो गर्न सकिएमा सन्ततिहरूले खापर सभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने एउटा धरोहरमूलक केन्द्र पाउने छन् ।   



२०८२ मंसिर १४ १३:४२ बजे

प्रतिक्रिया