काठमाण्डौ। कुनै पनि देशको वास्तविक क्षमता त्यहाँका यूवा समुदाको सदुपयोग वा दुरुपयोगको स्थितिले उजागर गरिदिन्छ । त्यसैले सामान्यतः कुनै पनि देशमा यूवाहरुको संख्या बढी छ भने त्यो देशलाई बिकासको मार्गमा लैजान बढी सहज र सफल हुने मान्यता छ । जनगणनाको बेलामा कुनै पनि देशले आफुसँग कुन कुन उमेर समूहका कति मानिस खाशगरी कति यूवा छन् भन्ने कुरामा बिशेष ध्यान दिनु र तथ्यांकमा उल्लेख गर्नुको मूल कारण पनि यही नै हो । यो सर्बबिदित कुरा हो कि हाम्रो देश लगायत कुनै पनि देशले सरकारी सेवामा मानिसहरुलाई लिँदा १८ बर्ष पूरा भइ ३५ बर्ष ननाघेको उमेर समूहका मानिसहरुका बीचबाट छनौट गर्ने गरेको हुन्छ । यो उमेर समूहका मानिसहरुको कति ठूलो महत्व र ऊर्जा हुदोरहेछ भन्ने कुरा त यसैले पनि प्रष्ट हुन्छ । त्यो उमेर समूहको यूवा शक्तिलाई सदुपयोग गर्न सकेका देशहरुले आफ्नो बिकासको गतिलाई तीब्र तुल्याउदै आर्थिक सामाजिक रुपान्तरणको अग्रगामी दिशामा एक पछि अर्को चरणको उच्चाई पारगर्दै अघि बढेको हुन्छ भने यूवा शक्तिको दुरुपयोग हुँदा त्यो समाज निष्कृय, निर्जीव र अकर्मण्य भएर अधोपत्तनको ओरालो बाटोतिर लागेको हुन्छ ।
हाम्रो देशको यूवा शक्ति भने यतिबेला पछिल्लो बाटोतिर धकेलिएको छ र यूवा समुदायको संख्या ठूला भएर पनि त्यो सही दिशा र गति नपाएर अकलगुम बनाइएको छ र यसरी उनीहरूलाई अल्मल र अन्यौलमा पारिएको छ । पछिल्लो जनगणना अुनसार हाम्रो देशमा उमेर समूहको हिसावले हेर्ने हो भने १८ बर्ष पुगेको र ३५ बर्ष ननाघेको ऊर्जाशील यूवा शक्तिको संख्या अन्य उमेर समूहभन्दा निकै नै बढी छ । यस्तो यूवा शक्ति भएको मुलुकमा बिकासको गतिले चौतर्फीरुपमा तीब्रता पाउनु पर्ने हो । तर हामीकहाँ पटक्कै त्यसो हुन सकेको छैन । यस स्थितिका पछाडि राजनीतिक, आर्थिक, सामाजिक र साँसकृति अनेक कारण र कारकहरु बिद्यमान छन् । तिनको ठोस पहिचान र उचित निराकरण बिना यूवा समुदाका समस्या हल हुने र यसरी मुलुककै समस्या समाधान हुने बाटोतिर देश अग्रसर र गतिमान हुन सक्तैन । यो यथार्थ हो ।
हामीले उमेर समूहको हिसावले यूवा समुदाय के कत्रो छ भन्ने कुरा गर्यौं । अब यो समुदायका अगाडि के के समस्या र चूनौतिहरु बिद्यमान छन् भन्ने कुरा खोतल्नुपर्ने हुन्छ । किनकि ती समस्याको सही पहिचान र समाधानको सही बाटोको खोजी नगरीकन देशको यूवा समुदायका र अन्ततः देशकै समस्या समाधान हुने छैनन् । वास्तवमा आज देशमा जुन समस्याहरु बिकरालरुपमा बिद्यमान छन् ती मूलतः देशका यूवाहरुकै समस्या हुन् भनेमा पनि अत्युक्ति हुदैन । बेरोजगारी बिश्वब्यापीरुपमा र नेपालमा पनि आज सबैभन्दा ठूलो समस्या हो । नेपालमा रोजगारबिहीन बिकासका कारण उत्पन्न यो समस्यालाई निराकरण गर्न बैज्ञानिक भूमिसुधार गरेर कृषि उत्पादनमा अभिबृद्धि र किसानको क्रयशक्तिमा बृद्धि गरी औद्योगीकरणको आधार तयार गर्नुु र किसानको जीवनमा खुशहाली ल्याउनु आजको पहिलो राष्ट्रिय आवश्यकता हो । तर यतिले मात्र यूवा समुदायका समस्याहरु हल हुदैनन् । त्यसैले राष्ट्रिय आत्मनिर्भर र श्रम–प्रधान राष्ट्रिय औद्योगिक नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आजको दोश्रो अनिवार्य राष्ट्रिय आवशयकता हो । कृषि र उद्योगलाई बिकासको सही र दीगो बाटोमा अग्रसर गराउन र निरन्तरता दिन तथा यस प्रकार यूवाहरुको पहिलो र आधारभूत समस्या – बेरोजगारी–को समस्या हल गर्न बिद्यूतको बिकास सर्बोपरी आवश्यकता छ । यो बिद्यूत–ऊर्जाको पर्याप्तता बिना कृषिमा आधुनिकीकरण र राष्ट्रिय औद्योगिकीकरण गर्ने पूर्वाधार नै खडा हुन सक्तैन । फलतः कृषि, उद्योग, बन्द–ब्यापार लगायत कुनै क्षेत्रमा पनि यूवाहरुले रोजगारी पाउने स्थिति बिकसित गर्न सकिदैन । यही कारणले गर्दा आज लाखौ लाख ऊर्जाशील नेपाली यूवाहरु कामको खोजीमा बिदेश पलायन हुन बाध्य छन् । यो हामीले नाङ्गो आँखाले देखिरहेको र अनुभव गरिरहेको कटु यथार्थ कुरा हो । यसले गर्दा एकातिर कृषि उत्पादन घटिरहेको छ भने खेतीपातीप्रति यूवाहरु अनाकर्षित र बिमुख हुदै गएको अबस्था छ । कृषि उत्पादनमा ह्रास आउनका कारणहरुमध्ये यो पनि एउटा प्रमुख कारण हो ।
दोश्रो कुरा हाम्रो देशका अधिकांश यूवाहरु शिक्षा प्राप्त गर्ने उचित अवसरबाट बञ्चित छन् । यद्यपि जनसंख्या बढेको अनुपातमा शिक्षाको क्षेत्रमा यूवा शक्ति थपिने क्रम जारी रहेको देखिन्छ ।अनि अहिले कोही पनि अनुत्तिर्ण नहुने परीक्षा प्रणाली छ । तर ग्रेडिङ्ग त हुन्छ । त्यसैल उत्तिर्ण मध्ये सबैले उच्च शिक्षातर्फको अध्ययन पूरा गर्न पाउने स्थिति पनि रहेको छैन । अहिलेको एसईई र पहिलाको एसएलसीको परीक्षालाई एउटा आरम्भिक आधार मान्ने हो भने मात्र पनि देशमा अध्ययनमा सक्रिय यूवा साढे पाँच लाखको सेरोफेरोमा मात्र देखिन्छ । यस हिसावले १५ बर्षमाथि ४० बर्षसम्मको उमेर समूहको गणना गर्ने हो भने देशमा यूवा समूहको ठूलो हिस्सा हुन्छ । नेपाली श्रम बजारमा बर्षेनी पाँच लाख जति यूवाहरु थपिने गरेको तथ्यांक छ । यसरी बेरोजगारी र अशिक्षा नेपाली यूवा समुदायका ज्वलन्त समस्या बनेर रहेका छन् । नेपालको बिकास भन्नु नै यो समस्या समाधान गर्ने ठोस र प्रभावकारी बाटो पहिल्याउनु हो ।
यसका अतिरिक्त कुलत, दुर्बेशन, अन्धबिश्वास र कुरीतिबाट पनि नेपाली यूवा समुदाय निकै नै आक्रान्त छ । देशमा यूवाहरुको ठूलो हिस्सा अबैध लागु पदार्थको ओसार पसार गर्ने, उपयोग गर्ने र आफ्नो जीवनलाई नै समाप्त पार्ने आत्मघाती बाटोमा फँसे फँसाइएको कुरा पनि बारम्बार प्रकाशमा आइरहेको कुरा हो । यसरी देशको यूवा समुदाय, बेरोजगारी, अभाव, अशिक्षा, असुरक्षा आदिका कारणले बिभिन्न अपराध कर्ममा पनि संग्लग्न हुदै आएको समेत बिभिन्न तथ्य तथ्यांकहरु छन् । देशको ऊर्जाशील यूवाहरुको यस्तो दयनीय तस्वीरले देशको यथार्थ तस्वीरलाई नै उजागर गर्दछ । तर नेपाली यूवा समुदायका माथि उल्लिखित नकारात्मक पक्ष मात्रै छैनन् । यूवाहरुले नेपाली समाजको अग्रगामी परिवर्तन, प्रगति र सुनिश्चित भबिष्यका लागि अथक संघर्ष गर्दै आएको उज्जल र गौरबशाली इतिहास पनि सिर्जना गरेका छन् । राजनीति, अर्थतन्त्र, सामाजिक तथा सास्कृतिक सबै क्षेत्रमा नेपाली यूवाहरुले इतिहास कायम गरेको यो असल परम्परालाई अझ बढी उजागर गर्नु, त्यसलाई थप उच्चाईमा लैजानुु आजको यूवाहरुको मूल दायित्व हो । वास्तवमा यूवा समुदायले यही असल बाटो पक्रेर नै माथि उल्लिखित यूवा समुदायका बिकराल समस्याबाट मुक्ति पाउने स्थिति सिर्जना गर्न र देशको अग्रगामी नब निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्नेछन् ।
वास्तवमा नेपालको आधुनिक राजनीतिक इतिहासको कुरा गर्ने हो भने एकतन्त्री जहाँनिया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि तत्कालीन यूवाहरुले खेलेको अहं महत्वको भूमिका अबिस्मरणीय छ । उनीहरुले देखाएको अदम्य साहस, दृढता र अबिचलित निष्ठाले नेपाली जन समुदायमा जुन बिश्वास र भरोसा तथा नब चेतनाको लहर पैदा गर्योे मूलतः त्यसै कारणले जहाँनियाँ राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्रको अभ्युदय भयो । यसका निमत्त खाशगरी राणाशाहीका बिरुद्ध प्रचण्ड गोरखाको बिद्रोह, नेपाल प्रजापरिषद नामको पहिलोराजनीति पार्टीको गठन, ९७ सालको शहीद पर्व, तथा नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना आधुनिक नेपाली राजनीतिका ऐतिहासिक र उल्लेख गर्नै पर्ने अबिस्मरणीय राजनीतिक परिघटनाहरु हुन् । त्यसमा पनि तत्कालीन नेपाली यूवा बीपी र पुष्पलालले आ–आफ्नो दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिका आधारमा नेपाली आधुनिक राजनीतिको बिकासमा पुर्याएको योगदान अतुलनीय छ । आज यी दुइ नेपालका राष्ट्रिय ब्यक्तित्वहरुले प्रतिपादन र मार्गदर्शन गरेको राजनीतिक मूलबाटो बाटै नेपाली राजनीति अनुप्राणित हुन नसकेको र ब्यवहारमा मुख मोडेको भए पनि त्यसबाट बिमुख रहेको घोषणा गर्न सक्तैन । नेपालको सन्दर्भमा बीपी प्रजातान्त्रिक समाजवाद र पुष्पलाल बैज्ञानिक समाजबादका ब्याख्याता र अनुशीलनकर्ता हुन् । भलै,आज तिनले अघि सारेको मूल सिद्धान्तबाट बिचलिति र बिपथगामी भएर तिनको मूल्य मान्यताबाट कोशौं दूर रहेका राजनीतक दलहरु नै किन नहुन, तिनले पनि आफ्नो औसरवादी चरित्रको प्रदर्शन गर्दै यी दुइ नेताहरुले अघि सारेका मूल्य–मान्यताको अनुयायी रहेको भन्न गर्ब गर्ने गर्दछन् र उनीहरुको फोटो तथा मूर्ति पूजा गर्ने कर्मकाण्ड पनि दोहोर्याउने गर्दछन् ।
यी माथि उल्लिखित कुराहरुबाट यूवा समुदायका समस्या, उनीहरुले देश र जनताका लागि खेल्दै आएको भूमिका र आजको यूवा समुदायको दायित्वको बारेमा सर्सरी दिशाबोध गर्न सकिन्छ । तर यतिले मात्र पुग्दैन आज एकातिर यूवा समुदाय मैदानमै उत्रिएर नेपाली जनताको संयुक्त आन्दोलनले दिशा निर्देश गरेको बाटोमा मुलुकलाई डोर्याउन र बर्गीय शोषण र समाजिक उत्पीडनमा परेका नेपाली जनताका समस्याहरु हल गर्दै आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय स्वाधीनताका निमित्त आन्दोलित हुनु पर्ने आवश्यकता छ भने अर्कोतिर भयावह भ्रष्टाचार, कमिशनखोरी, तस्करी, मँहगी र कालोबाजारीका बिरुद्ध जनताको जीवनलाई तत्कालै असर पार्ने गलत नीति र ब्यवहारका बिरुद्ध संघर्षको संखनाद गर्नु पर्ने पनि उत्तिकै आवश्यकता छ । यही बाटो भएर मात्र नेपाली यूवा समुदाय कामरेड पुष्पलाले दर्शाउनु भएको नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवादको बाटोमा अग्रसर हुन सक्नेछन् । यस आन्दोलमा आएका र ल्याउन खोजिएका पूजीवादी बहुदलीय जनवाद तथा २१औ शताब्दीको जनवाद जस्ता भ्रामक बिचारहरुका बिरुद्ध जुध्न र सही बाटोमा अगाडि बढ्न सक्तछन् । यसका लागि यूवाहरुले नेपाली जन आन्दोनलका उतार चढावको इतिहासको गम्भीर अध्ययन गर्नु पर्दछ । नेपाली समाजलाई दीनहीन छाडेर बैभव र बिलाशको उपभोक्तावादी बिकृत बाटोमा फँस्नु हुदैन । त्यसैले सही नीति बिचार र कार्यक्रमलाई स्थापित गर्न संघर्ष, संगठन र सिद्धान्त तिनै कुरालाई सन्तुलित र सही किसिमले ग्रहण गर्दै अघि बढ्नु आजका नेपाली यूवाहरुको राष्ट्रिय दाियत्व हो । यसरी नै मात्र नेपाली यूवाहरुले देश जनताको लागि दिएको बलिदान, त्याग र समर्पणको सम्मान गर्न र सुन्दर भबिष्य निर्माण गर्न पनि सकिने छ ।
प्रतिक्रिया