काठमाण्डौ। साउन ६ गते विश्वेश्वरप्रसाद (बीपी) कोइराला र साउन ७ गते पुष्पलालको स्मृति जयन्ती मनाउने गरिन्छ। यी दुवै नेताले स्थापना र नेतृत्व गरेका दल आज देशका पहिलो, दोस्रो र तेस्रो छन्। सधैं झैं यस पल्ट पनि नेपाली कांग्रेसले बीपी कोइरालाको र कम्युनिस्ट पार्टीका घटकहरूले पुष्पलालको स्मृतिमा देशका विभिन्न भागमा कार्यक्रम गरेका छन्।नेपालको राष्ट्रियता र लोकतन्त्रका लागि यी दुवै नेताको योगदान महत्त्वपूर्ण छ। बहुदलीय व्यवस्था विना र मौलिक हकको अभावमा आजको युगमा कोही पनि मान्छे साँचो अर्थमा नागरिक बन्न सक्दैन भन्ने मान्यतामा यी दुवै जीवनभर रहे र त्यसको प्राप्तिका लागि संघर्ष गरिरहे।
राष्ट्रियताको मामलामा बीपीका विचार क्रमशः परिमार्जित स्पष्ट र परिपक्व हुँदै आएको पाउँछौं भने पुष्पलाल शुरूदेखि नै यस विषयमा स्पष्ट रहेको पाउँछौं। पुष्पलाललाई देशभित्रको मामिलामा मात्र होइन, पार्टीहरूको आन्तरिक विवादमा समेत भारतीय नेताहरूको हस्तक्षेप र सरसल्लाह मन पर्दैनथ्यो। उनी नेपालको कुनै पनि मामिलामा विदेशीले हात हाल्न खोज्ने प्रवृत्तिलाई स्विकार्दैनथे र त्यसको विरोधमा उभिन्थे।
बीपी कोइरालाले बाँचुन्जेल नेपाली कांग्रेसलाई मात्र केन्द्रमा राखेर सोचे र पछिल्लो कालमा राजासँग मेलमिलापको नीतिलाई जोड दिए। राजासँगको लडाइँमा भारतले गम्भीर धोका दिएर अप्ठ्यारोमा पारेपछि र भारतीय स्वार्थका लागि राजासँग भारतले मोलमोलाइ गर्न थालेपछि कोइराला भारतबाट नेपाल फर्के र मेलमिलापको नीतिमा जोड दिन थाले।उनको स्वदेश आगमन नेपाली राजनीति र नेपालको लोकतान्त्रिक आन्दोलनका लागि सकारात्मक एवं महत्त्वपूर्ण घटना थियो। दलहरू प्रतिबन्धित रहेको वेला उनले संवैधानिक राजतन्त्र र मेलमिलापको नारा दिनु त्यस बखतको परिस्थिति ध्यानमा राख्दा कार्यनीतिक रूपमा ठीकै पनि देखिन्छ।
पछिल्लो कालखण्डमा राष्ट्रियताबारे निकै जोड दिएर लेखेका र बोलेका छन्। भारतमा बसेर भारतको राजनीतिलाई नजिकबाट नियालिरहेका र भारतले सिक्किम आफूमा विलय गरेको घटनालाई प्रत्यक्ष देखेका कोइराला त्यसपछि भने नराम्ररी झस्केका हुन सक्छन्।उनले राष्ट्रियता खतरामा छ त्यसैले राजा र प्रजातान्त्रिक शक्ति मिल्नुपर्छ भन्ने जोड बाँचुन्जेल दिइरहे। तर, राजा वीरेन्द्रले आफ्नो अलोकतान्त्रिक र निरङ्कुश शक्ति घटाएर लोकतन्त्रलाई ठाउँ दिन चाहेनन्। २०४६ सालमा आन्दोलनले बाध्य बनाएपछि मात्र उनी दलहरू माथिको प्रतिबन्ध हटाउन राजी भए। त्यस वेला बीपी कोइराला दिवङ्गत भएकै एक दशक पुग्न लागिसकेको थियो।
कोइराला दिएको राष्ट्रियता सम्बन्धी नारा र उनका त्यस वेला अभिव्यक्त विचारको महत्त्व आज पनि छ। कोइरालाको साहित्य मात्र होइन उनका राजनीतिक विचारले पनि महत्त्व राख्छन्। नेपालको राजनीतिक इतिहासको एउटा कालखण्ड बुझ्न, नेपालले आफ्नो राष्ट्रियता एवं लोकतन्त्रलाई बचाउन र सुदृढ पार्न के गर्नुपर्छ भनेर चिन्तन गर्नेहरूले बीपी कोइरालालाई अध्ययन गर्न र बुझ्न आवश्यक छ।
आज नेपाली कांग्रेस नेतृत्वले देशको स्वार्थ, स्वाभिमान र अडान त्याग्दै गएको छ। देशभक्तिपूर्ण अडान र स्वाभिमानलाई सत्तास्वार्थका लागि छोड्दै जाने आत्मघाती प्रवृत्ति अन्य राजनीतिक दलमा पनि सल्किन थालेको छ। सत्ताका लागि देश बाहिरका विदेशी शक्तिहरूको सद्भाव र सहयोग वा भूमिका खोज्नु मुलुकलाई पराधीनताको भँड्खालोतर्फ घचेट्नु हो भन्ने नेपाली राजनीतिका खेलाडीले राम्ररी बुझ्नु जरुरी छ। बीपी कोइरालाको जीवन, लोकतन्त्रका लागि उनले गरेको संघर्ष, भारतबाट सशस्त्र संघर्ष चलाउँदाका उनका अनुभव र उनका राजनीतिक विचारबाट गम्भीर शिक्षा लिनैपर्छ।
प्रतिक्रिया